ट्रम्प–किम बैठक तय हुँदै गर्दा कोरियाली अधिकारी चीनतर्फ

लाेकपाटी न्यूज

सोल, ४ फागुन । अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु भने चीन भ्रमणमा निस्किएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक आगामी फेब्रुअरी २७ र २८ का दिन भियतनामको राजधानी हनोईमा हुने तय भइसकेको छ ।

शिखर बैठकको तयारी भइरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरु भने चीन भ्रमण निस्किनुलाई निकै महत्व र चासोका साथ हेरिएको छ । शिखर बैठकको तयारीका लागि भियतनाम जाने क्रममा सो टोली चीन पुगेको दक्षिण कोरियाको समाचार संस्था योन्हापले जनाएको छ ।

अमेरिका र उत्तर कोरियाको शिखर बैठकलाई दक्षिण कोरिया र चीनले नजिकबाट नियाल्दै र कतिपय कुरामा सहजीकरण समेत गरिदिँदै आएका छन्

ट्रम्प र किम बीच यसअघि पहिलो शिखर बैठक गत बर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । पहिलो शिखर बैठकमा उत्तर कोरियाले पूर्ण रूपमा निःशस्त्र हुने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुनेमा कतिपयले अझै पनि आशंका गरिहेका छन् ।

अब हुन लागेको दोस्रो शिखर बैठकमा ट्रम्पले यो आशंकालाई न्युनीकरण गर्दै विश्वास र सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्