एकताको खाका कोर्दै ओली–प्रचण्ड : कस्तो छ खाका ?

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, ५ फागुन । कार्यदलमाथि कार्यदल बनाउँदा पार्टीको सांगठानिक एकता प्रक्रिया नै धकेलिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले एकता गृहकार्य अघि बढाएका छन् ।

चार कार्यदल बन्दा पनि एकताको खाका आउन नसकेपछि नेकपाको तल्लो तह र जनवर्गीय संगठनको एकताको प्रस्ताव अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्न लागेको नेकपाका एक नेताले जनाए । जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता अझै टुंगिएको छैन।

तीन महिनाभित्र एकता सकाउने घोषणा गरेपनि कार्यदलको गोल चक्करमा फस्दा एकताले मूर्त रुप पाउन नसकेपछि अध्यक्षद्वय नै अघि बढेको ती नेताको भनाइ छ । एकता प्रस्ताव तयार पार्न पछिल्लो पटक गत पुस १२ गते स्थायी समिति बैठकले बनाएको ९ सदस्यीय कार्यादल पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय ओली र प्रचण्ड आफै प्रस्ताव तयार पार्न जुटेका हुन् ।

कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाँती रहेको छ । ढिलोमा पुस मसान्तसम्म ठोस प्रस्ताव तयार पारिसक्न म्यान्डेट पाएको कार्यदलले २२ माघसम्म पनि प्रतिवेदन बुझाउन नसकेपछि सचिवालय बैठकले प्रगति विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

सोही निर्देशनका आधारमा माघ २५ मा कार्यदलले थप ७ दिन समय माग गर्ने गरी अहिलेसम्म भएका सहमतिको विवरणसहितको प्रतिवेदन बुझाउने निर्णय गरेको थियो। स्थायी समितिले सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, वेदुराम भुसाल र रघुवीर महासेठ रहेको चौंथो कार्यदल बनाएको थियो।

कार्यदलले थप समय मागेको थियो। तर पनि दुई अध्यक्षले कार्यदललाई समय दिन चाहेनन् । कार्यदलको प्रतिवेदन बुझिसकेका ओली–प्रचण्डले जति समय दिएपनि केही नहुने निश्कर्षसहित कार्यदललाई समय थप नगरेका हुन् । कार्यदलको प्रतिवेदनसँगै अध्यक्षद्वय ओली र प्रचण्ड निरन्तर छलफलमा जुटो छन् ।

केही दिनयता लगातारको छलफलले कार्यदललाई समय नदिई आफै कार्यदलको रिपोर्टमा आधारित भएर प्रस्ताव तयार पार्न ओली प्रचण्ड लागेका हुन् । नेकपा अध्यक्ष दाहालले अब कार्यदलकै प्रतिवेदनलाई टेकेर दुई अध्यक्षको छलफलबाट प्रस्ताव तयार पार्ने र त्यसलाई सचिवालय र स्थायी समितिमा लगेर छिट्टै एकताको काम टुंगो लगाउने बताइसक्नु भएको छ ।

अध्यक्ष प्रचण्डले शनिबार धादिङको कार्की गाउँ माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा भने, ‘कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनलाई प्रस्ताव बनाएर सचिवालय र स्थायी समितिमा प्रस्तुत गर्ने र छिट्टै एकता प्रक्रिया टुंग्याउने गरी हामी दुई अध्यक्ष छलफलमा छौं।’

ओली–दाहालबीच शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। दुवै नेताबीच माघ २७ यता दैनिकजसो छलफल भइरहेको छ। ‘अध्यक्षद्वय दैनिकजसो कुनै न कुनै समय निकालेर छलफलमा बसिरहनुभएको छ, शनिबार पनि दुई अध्यक्षबीच पार्टी एकताको बाँकी काम कसरी टुंग्याउने भन्ने प्रस्ताव तयार पार्न छलफल भएको छ,’ प्रधनमन्त्री सचिवालयका एक सदस्यले भने ।