‘प्रदेश १ मा कात्तिक १५ पछि सरकार परिवर्तन हुन्छ’

लोकपाटी न्यूज

सुनसरी। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले कात्तिक १५ गतेपछि प्रदेश १ मा सरकार परिवर्तन हुने बताएका छन् । उनले परिवर्तित सरकार गठनबन्धनको हुने र त्यसको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई बन्‍ने बताएका छन् ।

उपमहानगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा बाेल्दै राज्यमन्त्री खापुङले भने, ‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखि नै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर गठनबन्धन सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने भन्नेबारे मलाई जानकारी छैन ।’

उनले अर्काे प्रसंगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्ने पहल भइरहेको पनि बताए । उनले भने, ‘प्रतिष्ठान मुलुककै सम्पत्ति भएकाले धरासायी हुन नदिन सरकारले पहल गरिरहेको छ ।’

स्वास्थ्य राज्यमन्त्री खापुङलाई नागरिक समाज, धरान सरोकार समाज काठमाडौंलगायतका प्रतिनिधिले पैसा खुवाएर राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुले बीपी प्रतिष्ठानलाई धरासायी बनाएकाले पदाधिकारी हटाउनु पर्ने र पैसा नतिरी आउने योग्य, दक्ष पदाधिकारी नियुक्त गर्नुपर्ने सुझाव दिएका थिए ।