‘समृद्धि स्थापित हुन नदिने दुष्प्रयास स्वीकार्य छैन’

oli
लाेकपाटी न्यूज

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधि भइरहेको बताएका छन् ।

उनले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताएका हुन् ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको छ ।’

नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने उनको भनाइ छ । उनले यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने र उनीहरु विरुद्ध सख्त कानुनी कारबाही गर्ने चेतावनी समेत दिए ।

मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन सम्पन्न गरेको उनको भनाइ छ । उनले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफै हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको बताए । उनले भने, ‘आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमार्फत विकास अभियानमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहकार्यको अपेक्षा गरेका छौँ ।’