भोलि संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?

Parliament samsad
लोकपाटी न्यूज

काठमाडाैं। प्रतिनिधि सभाको बैठक भोलि मंगलबार २ बजे बस्दैछ । भाेलि बस्ने प्रतिनिधि सभाकाे बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश हुँदैछन् ।

कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।यस्तै, सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नेछन् ।

भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पेश गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८,‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पेश गर्नेछन् ।