आशाको दियो निभ्यो, भरोसायोग्य खम्बा ढल्यो : संयुक्त अखिल

Annfsu student akhil flag
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्री रवीन्द्र अधिकारीको निधनले आफूहरुको आस्थाको दियो निभेको बताएका छन्।

अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ तर, अब उहाँ हामीबीच भौतिक रुपमा रहनुभएन । अल्पआयुमा भएको उहाँको अप्रत्यासित निधनवाट मुलुकका लाखौंलाख युवा विद्यार्थीहरुको एउटा आशाको दियो निभेको छ । जनताले आफ्नो प्रिय नेता गुमाएका छन् । पार्टीको एउटा भरोसायोग्य खम्वा ढलेको छ ।’

बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि देशमै सन्नाटा छाएको छ। मन्त्री अधिकारीसँगै हेलिकोप्टरमा सवार सातै जनाको निधन भएको थियो। यस्तो छ संयुक्त अखिलको विज्ञप्ति।

शोक-विज्ञप्ति

नेपाली राजनीतिमा प्रचुर र सुनौलो सम्भावना वोक्नुभएका एक ज्वाजल्यमान युवा नेता, लाखौंलाख युवा विद्यार्थीका ढुकढुकी, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री क. रवीन्द्र अधिकारीसहितका सात जनाको हेलिकोप्टर दुर्घटनामा भएको अकल्पनीय निधनको हृदयविदारक खबरले हामी स्तब्ध र भावविह्वल भएका छौं । हिजो मिति २०७५।११।१५ गते घटेको यो अपत्यारिलो घटनालाई यथार्थको रुपमा स्वीकार गर्न हामीलाई अझै पनि कठिन भइरहेको छ ।

अत्यन्तै ओजश्वी, प्रेरणादायी, अध्ययनशील र विकासप्रेमी नेता अधिकारी मुलुकमा लाखौंलाख युवा विद्यार्थी मात्र नभई सिङ्गो राष्ट्रका एक आशाका केन्द्र हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनमा त उहाँ पक्ष विपक्ष सबैका रोलमोडल हुनुहुन्थ्यो । वि.सं. २०४९ मा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, २०५३ सालमा त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित अधिकारी विभिन्न जिम्मेवारी निर्वाह गर्दै २०५६ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बन्नुभएको थियोे । त्यस क्रममा विद्यार्थीलाई यातायातमा ३३% (पछि ४५%) छुट दिलाउने आन्दोलन, कालापानी मार्च अभियान, तत्कालीन प्रवीण गुरुङका हत्यारालाई ‘दरबारमा होइन, जेलमा राख’ भन्ने साहसिक आन्दोलन र सीमा सुरक्षा अभियान लगायतका कैयौं बहुचर्चित र सफल आन्दोलनको सफल नेतृत्व गर्नुभएको थियोे ।

पार्टी आन्दोलन र जनतामाझ पनि उहाँ उत्तिकै सफल र लोकप्रिय हुनुहुन्थ्यो । उहाँ वि.स. २०६४ र २०७० का दुवै संविधानसभा र २०७४ को आम निर्वाचनमा गरी लगातार तिनैवटा महानिर्वाचनमा कास्कीबाट जनताको लोकप्रिय मतद्वारा विजयी हुनुभएको थियोे । राजकीय जिम्मेवारीमा संसदको विकास समिति सभापति लगायतका विभिन्न समितिका जिम्मेवारीहरु कुशलतापूर्वक सम्हाल्दै वर्तमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा रही उल्लेख्य काम गरिरहनुभएको थियोे । जिल्ला पार्टी प्रमुख हुँदै वि.सं. २०७१ सालवाट हालसम्म केन्द्रीय कमिटीमा एक अत्यन्तै जुझारु र प्रभावशाली सदस्यको रुपमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ पार्टीको तर्फबाट विद्यार्थी फाँट ईन्चार्जसमेत रही विद्यार्थी आन्दोलन र विद्यार्थी नेता कार्यकर्ताको निरन्तर प्रेरणा र उर्जाको स्रोत बनिरहनुभएको थियोे ।

तर, अब उहाँ हामीबीच भौतिक रुपमा रहनुभएन । अल्पआयुमा भएको उहाँको अप्रत्यासित निधनवाट मुलुकका लाखौंलाख युवा विद्यार्थीहरुको एउटा आशाको दियो निभेको छ । जनताले आफ्नो प्रिय नेता गुमाएका छन् । पार्टीको एउटा भरोसायोग्य खम्वा ढलेको छ । राष्ट्रले एउटा प्रचुर सम्भावनायुक्त नेता गुमाएको छ । यस शोकलाई शक्तिमा बदल्दै क. अधिकारीले देखेको समृद्ध नेपालको सपना पूरा गर्ने अभियानमा जुट्नु नै उहाँप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ । हामी त्यही बाटोमा हिड्ने प्रण गर्दछौं ।

यस दुखद घडीमा ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा आफ्नो अमूल्य जीवन गुमाउने माननीय मन्त्री रवीन्द्र अधिकारीज्यू सहित सातै जनाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै समस्त शोकाकुल परिवार, अन्य शोकाकुल जन र मनहरुमा गहिरो समवेदना प्रकट गर्दछौं ।

मिति : १६ फागुन, २०७५

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्