शोकलाई शक्तिमा बदल्न नेताहरुको अपील

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनीहरुले स्व.अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् । बुधबार बेलुका मन्त्री निवास पुल्चोक पुगेर नेताहरूले स्वर्गीय अधिकारीका शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदन व्यक्त गर्दै अधिकारी पत्नी विद्यालाई शोकलाई शक्तिमा बदल्दै उम्मेदवारी दिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको शोक सङ्घर्ष सम्झदै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका थिए । उनले शोकलाई शक्तिमा बदलेर रवीन्द्रको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिनसमेत आग्रह गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्रशोक सम्झँदै विद्यालाई सम्हालिन आग्रह गरे । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीका शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका थिए।

सरकारले स्वर्गीय मन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने र देशका सबै सरकारी कार्यालय विदेशमा रहेका दूतावास तथा महावाणिज्य दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभराहुँदै काठमाडौं फर्किने क्रममा बुधबार दिउँसो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण क्यानका नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुव भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

मृतकको शव अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पु¥याइएका शव हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।