योगेशको मर्मस्पर्शी वक्तव्य : ‘प्रिय बहिनी विद्या, तिम्रो पीडा शव्दमा व्यक्त गर्न सक्दिनँ’

Yogesh Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन। नेकपाका नेता एवं सांसद योगेश भट्टराईले आफ्ना अनन्य मित्र एवं नेपाल सरकारका पर्यटनमन्त्रीको निधनमा शोक वक्तव्य जारी गरेका छन्।

२०४४ सालदेखि अधिकारीसँग राजनीतिक सहयात्रा गरेका सांसद भट्टराईले निकै मर्मस्पर्शी वक्तव्य जारी गरेका छन्। यस्तो छ उनको शोक वक्तव्य।

हिजो फाल्गुन १५ गते दिउसो साँढे १ बजेतिर ताप्लेजुङ जिल्लाको फुङलिङ्ग नगरपालिका– १० सिस्नेभीरमा एआर डाइनेस्टीकको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी, हवाई उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यलयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु।

यो दुर्घटनाबाट देशले आशालाग्दो, भरोसायोग्य, विश्वासीलो र दुरदिृष्टी भएको एक युवा राजनीतिकर्मी मेरा अत्यन्तै घनिष्ट मित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रविन्द्र अधिकारीलाई गुमाउन बाध्य भएको छ। पृथ्वीनारायण क्याम्पस पोखराको मुखपत्र ‘माछापुछ्रे’को प्रकाशनको तयारीका शिलशिलामा २०४५ सालमा कीर्तिपुर छात्रावासमा मेरै कोठामा केही समय रविन्द्र अधिकारी बस्नुभयो। त्यहीबाट हाम्रो चिनजान भयो। त्यहाँदेखि आजसम्म तीनदशक लामो सहयात्रामा मैले रविन्द्र अधिकारीलाई अत्यन्तै सहृदयी मित्र, सरल स्वाभावका, जनप्रिय कार्यशैली, सकारात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दुरदृष्टी र बहुआयामीक सम्भावना अन्तरनिहित रहेका आत्मीय साथी, प्रिय कमरेड र हाम्रो पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा बुझेको छु।

राजनीतिका अत्यन्तै अप्ठयारा र अनकण्टार क्षणमा उहाँ र म सँगै बसेर सम्भावनाको खोजि गर्दथ्यौं। हामीले देखेको सपना र बनाएका योजनाको कार्यन्वयनमा उहाँको सक्रियता, गतिशीलता तथा सिर्जनात्मकता मेरा लागि सदैव अनुकरणीय रहे र रहिरहने छन्। पारिवारीक रुपले पनि हामी अत्यन्त निकट रह्यौं। “राजनीतिकको अपराधिकरण र अपराधको राजनीतिकरण”विरुद्ध रविन्द्र अधिकारीको अभियान म र नयाँ पुस्ताका लागि प्रेरक बनिरहने छन्।

संविधान निर्माण र संसदमा उहाँले खेल्नुभएको भूमिकाले रविन्द्र अधिकारीलाई अनुभवी र सफल विधायकका रुपमा स्थापित गरेको छ। नेपालको संसदमा उहाँको अनुपस्थिति खड्किरहनेछ। नेपाल सरकारको मन्त्रीका रुपमा गएको एक वर्षमा उहाँको सक्रियता र जिम्मेवारी पूरा गर्ने हुटहुटीको मैले कुनै बयान गर्न सक्दिनँ, सायद आफ्नो यात्रा छोटिदै गएको नियतिप्रति उहाँलाई संकेत थियो कि ? म स्तब्ध छु। प्रिय साथी, भौतिक रुपमा गयौं तर म भित्र तिमि सधै रहिरहनेछौं।

प्रिय बहिनी विद्या तिम्रो पीडामा म कुनै शब्दले सहानुभूति ब्यक्त गर्न सक्दिनँ। तिम्रो आफ्नै अनुभव, सहास र लाखौ लाख शुभचिन्तकको मायाँले तिम्रो यात्रा निरन्तर अधि बढ्ने छ। आमा/बुवा छोराहरु, भाइ/बुहारी लगायत समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

दुर्घटनामा नेपालको हवाई उड्डयन तथा पर्यटनको क्षेत्रका सुपरिचित व्यक्तित्व आङछिरिङ शेर्पा, नेपाल सरकारका कुशल प्रशासक उपसचिव युवराज दाहाल, हवाई प्राधिकरणका अनुभवि र बरिष्ठ कर्मचारी विरेन्द्रप्रसाद श्रेष्ठ, ध्रुवदास भोछिभया, युवा पाईलट प्रभाकर के.सी. र कर्तव्यनिष्ठ अंगरक्षक अर्जुन घिमिले जीवन गुमाएका छन्। म सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

दुर्घटनाको खवर पाउनासाथ घटनास्थलमा पुगेर परिस्थितीको सुचना दिने, मृतकका शवहरु संकलन गरी सुकेटार विमानस्थलमा पठाउने काममा ताप्लेजुङ जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, व्यवसायी तथा जनसमुदायको साहसिक कार्यको म मुक्तकण्ठले प्रशंसा गर्दछु। अनकन्टार भौगोलिक अवस्था, प्रतिकुल मौसम, रातभरीको हिमपात, वर्षा, असिना अनि भोक तिर्खाको पर्वाह नगरी उपरोक्त कार्यमा जुट्ने सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्थानीय जनसमुदायलाई सम्मानित गर्न म नेपाल सरकार समक्ष माग गर्दछु। साथै अत्यन्त प्रतिकूलताका बीचमा पनि आफ्नो शाहस र कौशल प्रर्दशन गर्ने नेपाली सेनाका पाइलट तथा स्टाफहरुको उच्च कदर गर्नसमेत सरकारको ध्यानाकर्षण गर्दछु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्