‘हवाई दुर्घटना हुन नदिन विशेष सावधानी अपनाइनेछ’ : ईश्वर पोखरेल

इश्वर
लाेकपाटी न्यूज

काठमाडौ‌, १६ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले हिजो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोगसमेत गठन गरेको बताए ।

उनले भने, “सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन ।”

उनले आजै शवहरु त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि सामूहिक श्रद्धाञ्जलिका लागि टँुडिखेलमा राखिने र त्यसपछि मृतकका परिवारका सदस्यलाई अन्त्येष्टि गर्न जहाँ लैजानुहुन्छ त्यसैका लागि सरकारले सहयोग गर्ने जानकारी दिएका छन् ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइसकिएको छ ।

त्यस बखत विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।