नेपालले यूएई र पपुवा न्युगिनीविरूद्धको सिरिजको अन्तिम तयारी श्रीलंकामा गर्ने

Nepal-Cricket
लोकपाटी न्यूज

काठमाडौं। आसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजको तयारी नेपालले श्रीलंकामा गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले श्रीलंकामा एक साता तयारी गर्नेछ।त्यसका लागि नेपाली टिम केही दिनमै श्रीलंकामा जानेछ।

तयारीका क्रममा नेपालले त्यहाँको स्थानीय टिमसँग तीन वटा अभ्यास खेल समेत खेल्नेछ। हाल २० सदस्यीय नेपाली टिमले स्वदेशमै तयारी गरिरहेको छ। श्रीलंका जानुअघि नेपालले राष्ट्रिय टिम घोषणा गर्नेछ। श्रीलंकामा अभ्यास गरेपछि नेपाल उतैबाट युएई जाने बताइएको छ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ। नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ। लिग-२ मा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

यस्तै, अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकामा छैटौं स्थानमा छ। शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ। तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको युएईको १० खेलबाट १२ अंक छ। नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।

त्रिकोणात्मक सिरिज खेल तालिका

नेपाल भर्सेस पपुवा न्युगिनी- मार्च १६ (शारजाह)
नेपाल भर्सेस यूएई- मार्च १८ (दुबई)
नेपाल भर्सेस यूएई- मार्च २१ (दुबई)
नेपाल भर्सेस पपुवा न्युगिनी- मार्च २२ (दुबई)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्