महिला विश्वकप : इंग्ल्याण्डविरुद्ध वेष्ट इण्डिजको रोमाञ्चक जित

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकपमा वेष्ट इण्डिज इंग्ल्याण्डविरुछ ७ रनले विजयी भएको छ। जारी प्रतियोगितामा उसको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा वेष्ट इण्डिजले न्यूजिल्याण्डलाई हराएको थियो।

बुधबार भएको खेलमा वेष्ट इण्डिजले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७.४ ओभरमा २ सय १८ रन बनाएर अलआउट भयो। इंग्ल्यान्डका लागि ट्यामी विउमाउन्टले सर्वाधिक ४६ रन बनाइन्। त्यस्तै, सोफी डंकलीले ३८ र सोफी इकलेस्टोनले नटआउट ३३ रनको योगदान दिइन्।

वेष्ट इण्जिका लागि बलिङमा शामिलिया कोनेलले सर्वाधिक ३ विकेट लिइन्। त्यस्तै, हेयली म्याथ्यूज, अनिसा मोहम्मदले दुई/दुई, आलियाह अलेयन र स्टाफानियो टेलरले एक/एक हात पारिन्।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २५ रन बनायो। उसका लागि शेमाइने काम्पवेलले सर्वाधिक ६६ रन बनाइन्। त्यस्तै, चेडियन नेशनले अविजित ४९ र हेयली म्याथ्यूजले ४५ रनको योगदान दिइन्।

इंग्ल्याण्डका लागि बलिङमा सोफी इक्लेस्टोनले सर्वााधिक ३ र नाट सिभरले १ विकेट हात पारिन्। जारी प्रतियोगितामा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो। पहिलो खेल इंग्ल्याण्ड अष्ट्रेलियाविरुद्ध पराजित भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्