कृषिको अनुदान बिचौलियाले खाए : अर्थमन्त्री

Yubraj khadiwada
लाेकपाटी न्यूज

काठमाडौं, फागुन। अर्थमन्त्री युवराज खतिवडाले लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले अनुदान दिंदै आएपनि वास्तविक किसानले नपाएको बताएका छन्। सरकारी अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै उनले कृषि उत्पादनमा लागत बढी भएकोबारे अनुसन्धान आवश्यक रहेको बताए।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ लिमिटेडको आयोजनामा भएको साना किसान सम्मेलनमा उनले उन्नत बीउ बिजन, प्रविधि र यान्त्रिकरणका लागि सहकारी खेती अत्यावश्यक भएको बताए। अर्थमन्त्री खतिवडाले कृषिमा आत्मनिर्भर हुनका लागि सहकारीमार्फत सामूहिक रुपमा व्यवसायिक खेती गर्नुपर्ने उल्लेख गरे।

सहकारीमार्फत व्यवसायिक ढंगले उत्पादन गरे केही वर्षभित्रै कृषिमा आत्मनिर्भर बन्न सकिने उनले बताए। सामूहिक खेतले कृषि उत्पादनमा आत्मननिर्भर हुनुका साथै निर्यात समेत गर्न सकिने उनको भनाइ थियो। कृषि, उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारीले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए।

सधैं साना किसान भएर मात्र नहुने भन्दै उनले कृषिका ठूला आयोजना सञ्चालन गर्नमा जोड दिए। सरोकारवाला निकायले संघीय संरचनाको सदुपयोग गर्दै अधिकतम लाभ लिन सक्नुपर्ने उनको भनाइ थियो। मन्त्री खतिवडाले कृषिका जोखिम न्यूनिकरण गर्न किसानलाई राज्यले संरक्षण गर्दै आएको बताए।

सरकारले बीमामार्फत् कृषिको जोखिम व्यवस्थापन गर्दै गएको जानकारी दिँदै उनले दीर्घकालिन रणनीति बनाएर कृषिको उत्पादनमा प्राथमिकताका साथ अगाडि बढ्न सरकार क्रियाशील रहेको बताए। साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले बजार व्यवस्थापन हुन नसकेका कारण कृषक मारमा परेको बताए।

सहकारी र सरकार मिलेर उत्पादन, बजारीकरण र भण्डारण गर्न सकिएको छैन सम्बन्धित निकायको यसमा ध्यान जान आवश्यक रहेको उनले बताए। पशुपालनमा दिएको सरकारको सहुलियत कर्जाले केही राहत भएपनि अपुग भएको र दुधजन्यमा पनि सहुलियत व्याज आवश्यक भएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्