एमालेको सामना गर्न गठबन्धनमा अरू दल थपे हुन्छ : शंकर पोखरेल

Shankar_Pokharel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने आधार पार्टीले तयार गरिसकेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमाले चुनावमा एक्लै सामना गर्नको लागि तयार भएको बताए।

‘हिजो स्थानीय तहमा हामीले एक्लै ४५ प्रतिशत स्थान जितेका थियौं,’ उनले भने, ‘अब त्यो भन्दा बढी नै हामीले जित हात पार्छौं। हामीले त्यसको आधार तयार गरेका छौं।’ एमालेसँग चुनाव लड्न पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरू पनि पार्टी थपेर मिलेर आउन उनले चुनौती दिए।

अहिले सत्ता गठबन्धनले चुनावसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने अभिव्यक्तिको जवाफ फर्काउँदै उनले भने, ‘मिलेर आए हुन्छ। पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरू थपे हुन्छ। नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ। यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ। यो त एउटा कास्टिङ मात्रै हो।’

महासचिव पोखरेलले आफूहरू निर्वाचनमा नेकपा एमालेको पक्षमा जनादेश दिन आग्रह गरेर जाने बताए। ‘हामीसँग एजेन्डाको कुनै कमी छैन। जनतासमक्ष जानुपर्छ,’ उनले भने, ‘हिजो एमाले नेतृत्वको सरकारले थालेका विकासका परियोजना देखि लिएर महत्त्वपूर्ण कामका बारेमा हामीले जनताका बीचमा जानुपर्छ।’