एमालेले बनायो उम्मेदवार छनोटको यस्तो मापदण्ड

UML_Politbyuro
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तहको उम्मेदवार चयनको मापदण्ड बनाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

मापदण्डअनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन र पार्टीमा क्रियाशीलता हेरिनेछ। गुरुङले भने, ‘जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कार्यक्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा योगदान पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशी छनोटको मापदण्ड हो।’

वडा सदस्य र वडाध्यक्षको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिला कमिटीले निर्णय गर्नेछ। यस्तै, पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ। महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्ने उपमहासचिव गुरुङले जानकारी दिए।

उनले भने, ‘स्थानीय तहका उम्मेदवारहरूको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरूको सुझावमा जिल्ला कमिटीले गर्छ। जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले निर्णय गर्छ। नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि त्यसको निर्णय प्रदेश कमिटीले गर्छ। बाँकी महानगरपालिकाको मेयर, उपमेयरको निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले गर्छ।’