एचआइभी सङ्क्रमण मुक्त हुन सफल बिरामी

HIV
लाेकपाटी न्यूज

एजेन्सी । एक ब्रिटिश पुरुष स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी सङ्क्रमण मुक्त भएका छन् ।

एड्स महामारीले विश्वव्यापी रूप लिएयताको यो दोस्रो घटना हो, जसलाई स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी सङ्क्रमण मुक्त गर्न सकिएको । लण्डनका बिरामी मात्र भनेर चिनाइएका ती ब्रिटिश पुरुषले झण्डै तीन वर्षअघि एचआइभी सङ्क्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एकजना दाताको बोन म्यारोको स्टेम सेल ग्रहण गरेका थिए ।

एन्टि रेट्रोभाइरल औषधिको सेवन बन्द गरेको भए पनि १८ महिनादेखि ती बिरामीमा एचआइभी भाइरसको कुनै सङ्केत नदेखिएको चिकित्सकहरुको भनाइ छ । यो उपचार प्रक्रियामा संलग्न एकजना अग्रणी चिकित्सकका अनुसार ती बिरामी व्यावहारिक रूपमा त निको भएका जस्तो देखिएका छन्। तर उनी पूर्ण रूपमा नै निको भएको हो वा होइन भनेर भनिहाल्ने अवस्था भने छैन ।

चिकित्सकका अनुसार बोन म्यारो अर्थात् हड्डीको मासी प्रत्यारोपण गर्ने प्रक्रिया खतरनाक र निकै पीडादायी त हुन्छ नै । तर, एचआइभीको उपचारमा त्यसलाई नियमित प्रक्रियाका रूपमा अवलम्बन गर्न सम्भव हुँदैन । तर, यो घटनाले कुनै दिन एचआइभीको पूर्ण उपचार गर्न सकिनेछ भन्ने कुरामा थप बल मिलेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

लण्डनका ती पुरुष बिरामीलाई सन् २००३ मा एचआइभी सङ्क्रमण भएको थियो र सन् २०१२ मा उनमा हजकिन्स लिम्फोमा नामको क्यान्सर देखापरेको थियो । हजकिन्स क्यान्सरको उपचारका लागि उनले किमोथेरापी गराएका थिए, सँगसँगै उनमा एचआइभी भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको एकजना दाताको स्टेम सेल पनि प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको दुवै रोग क्यान्सर र एचआइभी निको हुने चरणमा पुगेको देखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्