‘सरकारले नाराअनुसारको काम गर्न सकेन’ : विजयकुमार गच्छदार

विजयकुमार
लाेकपाटी न्यूज

कञ्चनपुर, २२ फागुन । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले नाराअनुसारको काम गर्न नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताउँदै उनले भने, ‘सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट छ । तर, नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छेदारले सरकार जुन बाटामा हिँडिरहेको छ, त्यसबाट समृद्धिको नारा पूरा हुन नसक्ने बताएका छन् ।

उनले देशमा लागू भएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट भएको बताउँदै लामो समयपछि देशले पाएको उपलब्धिलाई संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।