आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति

teacher
लाेकपाटी न्यूज

काठामाडौं, २३ फागुन । आन्दोलनरत अस्थायी शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ ।
बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक- खुल्ला प्रतियोगितात्मक परीक्षाबाट एकपटकका लागि स्थायीको प्रक्रियामा लैजाने उल्लेख छ । त्यस्ता शिक्षकलाई १ पटकका लागि उमेर हद नलाग्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

मन्त्रालय र शिक्षकबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने सहमति पनि भएको छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइते भएका थिए । त्यसमध्ये केही अहिले उपचाररत छन् ।

शिक्षकहरु स्वतः स्थायी हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका थिए । स्थायीका लागि काठमाडौं पसेपछि देशभरको पठन पाठन प्रभावित भएको थियो । सरकार र आन्दोलतरत पक्षबीच भएको सहमतिको तेस्रो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर शिक्षकहरु पठनपाठमा फर्कने उल्लेख छ । शिक्षा ऐनमा देशभरका ४० हजार राहत शिक्षकलाई दरबन्दीमा परिणत गरी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्ने प्रस्ताव सरकारले गरेपछि स्वतः स्थायी माग गर्दै देशभरका राहत, अस्थायी, करार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।