कोमल वलीले माफी मागिन् (विज्ञप्ति)

komal-oli-22
लाेकपाटी न्यूज

काठमाडौं, २४ फागुन । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफूले प्रयोग गरेको शब्दबाट चोट पुगेकोमा क्षमायाचना गरेकी छिन्।

आफूसिकाइकै क्रममा रहेको बताउँदै वलीले हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरु, भनाइहरु, उखानहरु, उत्पीडनहरु, समस्याहरु, सोचहरु, विचारहरु, मानसिकताहरु परिवर्तन हुँदै जाउन् भन्ने उदेश्यका साथ उखान प्रयोग गरेको भन्दै आफूले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु भनेकी छिन् ।

यस्तो छ सांसद वलीको विज्ञप्ति

मेरा प्रिय समर्थक, मेरा अग्रज र मलाई सधैं हौसला दिनुहुने तपाईंहरु सबैलाई नमस्कार। म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरुलाई त्यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा तपाईंहरुले बुझ्नु भएकै छ। मलाई विश्वास छ, परिस्कृत र समुन्नत समाज, विकसित र शिक्षित समाज बनाउन मेरा कदममा तपाईंहरुको पनि साथ हुनेछ।

हाम्रो समाज विकसित भए हामी सबै खुसी हुन्छौँ, सबैले न्यायको प्रत्याभूति गर्न पाउँछौँ भन्ने मेरो विश्वास छ। यसका लागि हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नुपर्ने भएको छ। यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुनर्सिकाइको प्रक्रिया हो। म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ। हामीले यो प्रक्रिया अझ छिटो उपलब्धिमूलक बनाउनुपर्ने आवश्यकता छ, जसका कारण हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरु, भनाइहरु, उखानहरु, उत्पीडनहरु, समस्याहरु, सोचहरु, विचारहरु, मानसिकताहरु परिवर्तन हुँदै जाउन्।

यो सन्दर्भ पछिल्लो समय मैले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हुँ। एउटा कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा उखान प्रयोग गरेकी थिएँ।

नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ। मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन। यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो। त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो त्यो।

विडम्बना, त्यो आकस्मिक प्रयोगलाई अहिले एउटा ‘इस्यु’ बनाएर ममाथि सामाजिक सञ्जालमा प्रहार भइरहेको रहेछ। जसले मैले भनेका शब्दहरुबाट आफ्नो मन दुखेको बताउनुभएको छ, उहाँहरुबाटै ममाथि त्योभन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सञ्जालमा भेटेकी छु । यसबाट मैले निष्कर्ष निकालेकी छु– हाम्रो समाजमा अनलर्निङको प्रक्रिया अझ आवश्यक छ, अझ प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने हुन्छ।

यसबीच मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ। त्यो मैले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु, धन्यवाद ।