अदालतको फैसला स्विकार गर्न रक्षामन्त्री पोखरेलकाे आग्रह

Ishwor-Pokhrel
लाेकपाटी न्यूज

विराटनगर, २४ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित नभएको बताउँदै कानून सबैले इमान्दारीका साथ परिपालना गर्नुपर्ने बताए । उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको प्रष्ट पारे ।

मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेकाले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने उनको भनाइ छ । उनले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिले नहुने बताए ।