सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन

लोकपाटी न्यूज

काठमाडौं। एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुने सातौँ समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहकाबीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरे।

त्यसअवसरमा महानिरीक्षक के.सी.ले प्रवेश परीक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सफलताको शुभकामना दिए। उनले सशस्त्र प्रहरी अधिकृतहरूको नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा निखारपन ल्याई सांगठनिक लक्ष्य प्राप्तिका लागि सो कोर्स भविष्यमा कोशेढुंगा साबित हुने उल्लेख गरे।

महानिरीक्षक के।सी।ले सो कोर्षमा सहभागी सशस्त्र प्रहरी अधिकृतहरूले कोर्स समापन पश्चात् व्यावसायिक जीवनमा उपलब्धि हासिल गर्दै सांगठनिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उदाहरणीय नेतृत्व प्रदान गरी आफ्ना सहकर्मीहरूलाई उत्प्रेरित गर्दै सांगठनिक लक्ष्य प्राप्तिमा समेत पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा सक्षम र सफल रहने उल्लेख गरे।

उनले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै निरन्तर रूपले सञ्चालन गर्दै आइरहेको सो कोर्स कोभिड-१९ महामारीको समयमा समेत सफलतापूर्वक सञ्चालन गर्नमा सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरू तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरे।

समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सन्काएका डिन प्रोफेसर डा. कुसुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै निरन्तर रूपले कोर्स सञ्चालन गर्दै सो कोर्स मार्फत सशस्त्र प्रहरी अधिकृतहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा योगदान पुर्‍याएको चर्चा गर्नुहुँदै उक्त कोर्षको विविध पक्षबारे समेत प्रकाश पारे।

उनले अन्तर्राष्ट्रिय स्तरको सो कोर्स पश्चात् राष्ट्रिय सुरक्षा तथा ग्लोबल सुरक्षा चुनौतीहरूको सहज रूपले सामना गरी सांगठनिक विकासमा योगदान पुर्‍याउन सक्ने सक्षम अधिकृत उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय उक्त कलेजको क्षमता विकासमा हर तवरले सहयोग पुर्‍याउँदै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय पद्धति, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रूपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरूबारे प्रशिक्षण गर्दै आइरहेको छ।

सो कोर्स त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । प्रवेश परीक्षा एक सेमेस्टर रहेको तथा बाँकी तीन सेमेस्टर सो कलेजमा सञ्चालन हुने उक्त सातौँ समूहको कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक १ जना तथा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना सहभागी हुनेछन्।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेश लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्