को हुन् वडाध्यक्षका उम्मेदवार विमल बाबु राना ?

Bimal babu rana
लोकपाटी न्यूज

तनहुँ। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँमा पनि राजनीतिक दलहरूले चुनावी अभियानलाई तीव्रता दिएका छन्। उम्मेदवारको मनोनयन दर्तासँगै तनहुँमा पनि चुनावी सरगर्मी चुलिएको छ। उमेदवारहरु मतदातालाई कसरी रिझाउने भन्ने कसरतमा लागेका छन्।

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षको लागि विमल बाबु रानाले उम्मेदवारी दिएका छन्। रानाले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नं. ३ को वडाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन्। वडाको मुहार फेर्न नै आफूले वडाध्यक्षमा उम्मेदवारी दिएको वडाध्यक्षका उम्मेदवार रानाले बताए। समाज र देश निर्माणका लागि आफू उम्मेदवार बनेको राना बताउँछन्।

‘आँबुखैरेनीकाे आर्थिक–सामाजिक विकास नै आफ्नो मुख्य एजेन्डा हुन्,’ उनले भने। वडावासीको चाहनाअनुसार विकास र नेतृत्व आफूले गर्न सक्ने रानाको भनाई छ। आफ्नो ठाउँ, आफ्नो गाउँ, आफ्नो जन्म भूमिलाई केही गरौँ भन्ने अभिप्राय बोकेर आफू उम्मेदवार बनेको उनले बताए।

को हुन् वडाध्यक्षका उम्मेदवार राना ?

२०२९ साल जेठ ७ गते तनहुँको आँबु खैरेनी-३ मा जन्मिएका विमल बाबु राना यहाँका स्थायी बासिन्दा हुन्। श्री राम शाह मा.वि.आँवु खैरेनीबाट माध्यमिक तह शिक्षा पूरा गरेका रानाले थापाथली क्याम्पस थापाथली काठमाडौंबाट इन्जिनियरिङ्ग गरेका हुन्।

आँवु खैरेनी मगर गुठी आँबु खैरेनी-३ को निवर्तमान सचिव समेत रहेका राना हाल भगवती बचत तथा ऋण सहकारी संस्था ली.आँवु खैरेनी, मनकामना चोक टोल सुधार समिति आँवु खैरेनी-३ तनहुँको अध्यक्ष समेत हुन्।

रानाले आफ्नो संयोजकत्वमा सेती गुफा पैदल मार्ग निर्माण, शिव मन्दिर झोलुङ्गे पुल पैदल माग निर्माण, मनकामना चोक जाने बाटोमा नाली निर्माण,मनकामना टोल सुधार समितिको भवन निर्माण कार्य सम्पन्न गरिसकेका छन्।

उनले २०५५ सालदेखि २०५८ सम्म गोरखाको मझुवामा रहेको नवज्योति इंग्लिस वोडिङ, २०६८ देखि २०७३ सम्म वाल शिक्षा सदन इंग्लिस वोडिङ स्कुल आँबुखैरेनीमा अध्यापन गरेका थिए। रानाले गोरखकाली रबर उद्योग लिमिटेड, मेकानिकल सब-इन्जिनियरमा ५ वर्ष काम गरेका थिए। साथै उनीसँग कतारको निर्माण कम्पनीमा फोरम्यान पदमा काम गरेको वैदेशीक अनुभव समेत रहेको छ।