प्रदेश एकमा अत्याधुनिक प्रहरी भवन

खनाल
लाेकपाटी न्यूज

विराटनगर, २९ फागुन । प्रदेश नम्बर १ विराटनगरका मुख्यमन्त्री शेरधन राईले बुधबार आयोजित एक समारोहबीच प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चारपाङग्रे गाडी र २ सय वटा मोटरसाइकल हस्तान्तरण गरी परिचालन शुभारम्भ गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री राईले नागरिकको सूचना र सुरक्षाको लागि स्टिकर अभियान, सिसिटिभी जडान, झापा जिल्लालाई १ नम्बर प्रदेशको नमूना जिल्ला बनाई प्रदेश नम्बर १ बाट विकास र समृद्धिलाई एकसाथ अगाडि लैजाने प्रदेश सरकारको कार्यक्रम रहेको बताए ।

विकास र समृद्धिको अपरिहार्य शर्त सुरक्षा भएकोले सबै किसिमका भय, अपराधबाट समाजलाई मुक्त गर्न सकेमा मात्र हामी विकास र समृद्धिको सुमार्गमा पुग्न सकिने चर्चा गर्दै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनको अभियानमा रहेको उल्लेख गरे । आजका दिनमा नेपाल प्रहरीलाई अझ धेरै भर गर्ने संगठनको रुपमा विकसित गर्न, संघीयता, विकास तथा समृद्ध मुलुक बनाउने सरकारको गतिमा वर्तमान प्रहरी महानिरीक्षक लागेको आफूले महसुस गरेको उनले बताए ।

उक्त समारोहमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रहरीका जीर्ण भवनहरुलाई पुननिर्माण गरी प्रहरीलाई साधनस्रोत सम्पन्न बनाई उच्च मनोबलयुक्त प्रहरीको सेवा संचालनबाट नै पूर्ण सुरक्षा हुन सक्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

उक्त अवसरमा १ नम्बर प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले प्रहरीको वर्तमान नेतृत्वले प्रहरीमा साधन स्रोत, व्यवसायिकता अभिवृद्धि गर्ने जस्ता व्यापक सुधार गरी उल्लेखनीय कार्य गरेको उल्लेख गर्दै यस्ता सह्रानीय काम गर्ने प्रहरीलाई नागरिकले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।

समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउने प्रदेश सरकारको परिकल्पना रहेको मुख्यमन्त्रीज्यूबाट पटकपटक अभिव्यक्त भएको उल्लेख गर्दै साधन स्रोत तथा सवारी साधन व्यवस्थापनले हामी सबै एकिकृत रुपमा अगाडि बढेको इंगित गर्ने बताए

नागरिक सुरक्षा र अपराध नियन्त्रण गर्नका लागि अभिव्यक्त उक्त भावनाका लागि उनले मुक्तकण्ठले प्रशंसा गरे । प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न गराउने तथा तालिम केन्द्र स्थापना गरी क्षमता अभिवृद्धि गर्ने यस्ता कार्य अन्य प्रदेशहरुका लागि समेत अनुकरणीय हुन जाने खनालले बताए ।

सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्धिको लक्ष्यलाई सुरक्षाको माध्यमले आत्मसाथ गर्दै मुलुकलाई शान्ति सुरक्षाको माध्यमबाट द्रूततर विकासको गतिमा लैजानेतर्फ प्रहरीका कार्यक्रम तथा गतिविधिहरु परिलक्षित रहेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए ।

नेपाल प्रहरीका सकल दर्जाका समग्र प्रहरी कर्मचारीहरु आर्थिक अनुशासनभित्र रही नागरिकमैत्री चरित्र निर्माण गर्न शून्य सहनशीलताकासाथ लागीपरेको चर्चा गर्दै उनले प्रहरी कर्मचारीहरुको मनोबलमा उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई नमूना संगठन र सुशासनको पहरेदारमा रूपान्तरण गर्ने दिशामा अगाडि बढिरहेको जानकारी गराए ।

समारोहमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले स्वागत मन्तब्य व्यक्त गर्दै सुरक्षा पहिलो र आधारभूत सर्त रहेको अवस्थामा प्रदेश सरकारबाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधारयुक्त बनाउने नीति अत्यन्तै सान्दर्भिक रहेको बताए ।

प्रदेश नम्बर १ सरकारबाट बहुबर्षीय बजेट व्यवस्था भएअनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ५ करोड रुपैयाँ बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ वर्षभित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुविधायुक्त कार्यालय भवन निर्माण सम्पन्न हुने जानकारी गराइयो ।

समारोहमा १ नम्बर प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका सभापति, प्रदेश प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, प्रदेश कानुन मस्यौदा आयोगका अध्यक्ष, अन्य सुरक्षा निकायका प्रदेश प्रमुखहरु, प्रदेश मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायी, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा प्रदेश प्रहरी कार्यालय भवनको डिजाईन तयार गर्ने आर्किटेक्ट ईन्जिनियर कंचन विष्ट रानालाई सम्मान पत्रबाट सम्मान गरियो । सम्मान कार्यक्रम पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा अवस्था मजबुत नभएसम्म विकास निर्माणलाई अगाडी बढाउन नसकिने धारणा राख्दै प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा व्यवस्था बलियो बनाउने नीति राखेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी लगायत सम्पुर्ण आमन्त्रीत अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जहाँ सुरक्षित वातावरण छ, त्यहाँ विकासका कामहरु धमाधम हुने हुँदा कुनै पनि अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताएका थिए ।

प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिलाई शिरोपर गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गर्ने बताउँदै प्रदेश सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

उनले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट पाएको सामिप्यता र अभिभावकत्व आफूले पनि मनन गरेको हुँदा विकास निर्माण लगायतका सम्पुर्ण कार्यहरुमा आवश्यकताअनुसार सुरक्षा व्यवस्था प्रदान गर्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्