नेकपा एकीकरण : कसरी हुँदैछ जिम्मेवारी विभाजन ?

Nekapa
लाेकपाटी न्यूज

काठमाडौं, ३ चैत । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा आइपुगेको बताइएको छ । नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । तर, यसलाई अन्तिमरुप दिने बेलामा प्रचण्डको विदेश भ्रमणका कारण ठोस निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

उच्च स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ । तर, ओलीको प्रस्तावमा पूर्वएमालेकै माधव नेपाल समूहले समेत सहमति जनाइनसकेको स्रोतले बतायो ।

कसरी हुँदैछ बाँडफाँड ?

प्रदेश १ र ४ का केही जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी दुबैको दाबी कायम रहेकाले टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । प्रदेश १ मा पूर्वमाओवादीले १४ मध्ये कम्तिमा ५ जिल्लाको नेतृत्व दाबी गरेको छ । पूर्वएमाले पक्षले ४ जिल्लाको नेतृत्व दिन सकिने बताइरहेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र भोजपुरमा एमालेको नेतृत्व कायम हुने सहमति भइसकेको छ । तर, संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका कारण विवाद छ ।

प्रदेश २ मा पूर्वएमाले र पूर्वमाओवादीले चार÷चार जिल्लाको नेतृत्व पाउने सहमति भए पनि कुन जिल्ला कसले पाउने भन्ने अन्तिम टुंगो अध्यक्ष र महासचिवले नै लगाउने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए ।

स्रोतकाअनुसार पूर्वएमालेले धनुषा, सर्लाही, बारा र पर्सा तथा पूर्वमाओवादीले सप्तरी, सिराहा, महोत्तरी र रौतहटको नेतृत्व पाउने सम्भावना छ ।

प्रदेश ३ मा यसअघि नै कार्यदलले जिल्लाको भागबण्डा टुंगो लगाइसकेको छ । जसअनुसार पूर्वएमालेले मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ ।

त्यस्तै पूर्वमाओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ । यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।

गण्डकी प्रदेशमा कार्यदलले सिफारिस गर्न नसकेकाले नेताहरु छलफलमै छन् । स्रोतकाअनुसार पूर्वएमालेले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मुस्ताङको नेतृत्व पाउनेबारे छलफल भइरहेको छ । पूर्वमाओवादीले लम्जुङ, मनाङ, बागलुङ र नवलपुरको नेतृत्व पाउने सम्भावना छ ।

प्रदेश ५ मा भने पूर्वएमालेभित्र तीब्र विवाद छ । यद्यपि पूर्वएमाले र पूर्वमाओवादीबीच जिल्ला बाँडफाँड भने भइसकेको छ । पूर्वएमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, प्युठान र दाङको नेतृत्व पाउने समझदारी भएको छ । पूर्वमाओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुमको नेतृत्व पाउनेछ ।

त्यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये एमाले र माओवादीले पाँच÷पाँच जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । तर, मुगु र कालीकोटका बारेमा छलफल भइरहेको छ ।

पूर्वएमालेले दैलेख, सुर्खेत, डोल्पा र जुम्लाको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये एमालेले ५ वटा कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङको नेतृत्व पाउने समझदारी भएको छ ।

जिल्ला बाँडफाँड लगभग टुंगिएकाले अब केही व्यक्तिका नाम मात्रै टुंगो लगाउन बाँकी रहेको स्रोतले जनाएको छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तल्ला कमिटी एकीकरण नहुँदा कार्यकर्तामा निराशा छाएको छ ।