यी हुन् नेकपाकाे एकता सकिएका १५ जिल्ला (नाम र जिल्ला)

NCP-Party-office
लाेकपाटी न्यूज

काठमाडौं, ९ चैत । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को स्थानीय तहमा धमाधम एकीकरण भइरहेको छ । शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि अल्झिए पनि स्थानीय तहमा भने धमाधम एकीकरण भएको हो ।

गण्डकीबाहेक सबै ६ वटा प्रदेश संगठन कमिटीले स्थानीय तहमा एकीकरण गराउँदै आएका छन् ।
प्रदेश ३ ले तीन र ५ ले पाँच जिल्लाका वडा तहसम्म नै एकीकरण टुंग्याएको छ । सुदूरपश्चिममा सात जिल्लाको वडासम्मकै एकीकरण प्रस्ताव तयार भएको छ ।

नेकपाका तीनवटा प्रदेश कमिटीले १५ जिल्लाका वडा तहसम्म एकीकरण सकेका छन् । प्रदेश ३ कमिटीले दोलखा, सिन्धुली र रसुवामा निर्वाचन क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिकासहित वडा तहसम्म एकीकरण सकेको हो । त्यस्तै, प्रदेश ५ कमिटीले पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीका निर्वाचन क्षेत्र, उपमहानगर, नगर र गाउँपालिकासहित मातहतका वडा कमिटीको एकीकरण टुंगो लगाएको छ । केही प्राविधिक पक्षबाहेक ती जिल्लाका वडा तहसम्म एकीकरणको काम टुंगिएको प्रदेश सचिव जगप्रसाद शर्माले बताए ।

सुदूरपश्चिम प्रदेश कमिटीले पनि कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा वडा तहसम्मको एकीकरण टुंग्याउने अन्तिम तयारी गरेको छ । सुदूरपश्चिमका ७ जिल्लाले क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिका र वडा तहसम्मको कमिटीको एकीकरण प्रस्ताव तयार पारेका छन् । दार्चुला र कञ्चनपुरमा भने धमाधम काम भइरहेको छ । ‘दुई जिल्लाको पनि प्रतिवेदन आएपछि एकीकरण कार्यदलको प्रतिवेदनका आधारमा प्रदेशको बैठक बसेर सबै जिल्लाका स्थानीय तहको एकीकरण टुंग्याउँछौँ,’ जोशीले भने ।

प्रदेश १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटाका सबै स्थानीय तहमा एकीकरण सकिएको छ । प्रदेश कमिटी इन्चार्ज भीम आचार्यले ती जिल्लाका स्थानीय नेतृत्वको नामावली प्रदेश कमिटीले स्वीकृत गरिसकेको बताए । बाँकी ९ जिल्लाको स्थानीय तहमा एकीकरण पनि १५ चैतभित्र सक्ने गरी काम भइरहेको उनको दाबी छ । उनले बाँकी जिल्लामा १५ गतेभित्र एकीकरण सक्न निर्देशन दिएको दाबी गरे ।

यस्तै प्रदेश ३ का तीन जिल्ला दोलखा, सिन्धुली र रसुवाको वडा तहसम्म एकीकरण भएकोमा रामेछाप र ललितपुरका स्थानीय तहको एकीकरण प्रस्ताव तयार भइसकेको छ । बाँकी कतिपय जिल्लामा भने पूर्वएमाले र पूर्वमाओवादी समूहमा आन्तरिक विवाद भएकाले गति नलिएको प्रदेश संगठन कमिटी इन्चार्ज नारायण दाहालले बताए । ‘१४ चैतमा प्रदेश कमिटीको शपथ हुँदै छ, त्यसवेलासम्म जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवको नामावली केन्द्रीय सचिवालयले टुंगो लगायो भने बाँकी एक हप्ताभित्र सबै जिल्ला कमिटी सर्वसम्मत टुंग्याउँछौँ,’ दाहालले भने ।

पाँच जिल्लाका सबै वडासम्म एकीकरण टुंग्याएको प्रदेश ५ कमिटीले तहको एकीकरण भने १२ वटै जिल्लामा सकेको छ । प्रदेश सचिव जगप्रसाद शर्माका अनुसार प्रदेशका १ सय ९ वटै स्थानीय तहमा एकीकरण सम्पन्न भएको छ । तीमध्ये सय स्थानीय तहका नेतृत्वको शपथग्रहण पनि सकिएको छ । शर्माका अनुसार रुकुमका ३, रोल्पाका २ र दाङका ५ तहमा मात्र शपथ हुन बाँकी छ । पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीको स्थानीय तहका भने वडासम्म नै एकीकरण लगभग टुंगिएको छ ।

कर्णाली प्रदेशको डोल्पा, जुम्ला, जाजरकोट र मुगुका केही स्थानीय तहका वडा तहसम्म एकीकरण सम्पन्न भएको अध्यक्ष गोरखबहादुर बोगटीले बताए । कर्णाली प्रदेशले जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तहका वडासम्म पार्टी र सरकारबीचको सम्बन्ध सुधार तथा संगठन सुदृढीकरण अभियान चलाएर एकीकरणको आधार तयार गरेको छ । ‘भेला र अन्तरक्रियाले कार्यकर्ता तहमा एकीकरणको सन्देशसँगै उत्साह सिर्जना गरेको छ,’ बोगटीले भने, ‘पार्टी र सरकारबीचको सम्बन्ध पनि सुधार भएको छ ।’

यस्तै प्रदेश २ संगठन कमिटीले आठवटै जिल्लाका स्थानीय तहको नेतृत्वको नामावली अनुमोदनको तयारी गरेको छ । जिल्लास्तरीय कार्यदलले सबै जिल्लाबाट स्थानीय तहको एकीकरण प्रस्ताव पठाइसकेको इन्चार्ज सत्यनारायण मण्डलले बताए ।