एसपीपीमा प्रस्ताव पठाउने काँग्रेसको सरकार हो, ओलीले रोकेका हुन् : पोखरेल

Iswor_Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद पोखरेले एसपीपी सम्झौता ओली नेतृत्वको सरकारले अघि बढाएको भनेर गलत प्रचार भएको बताए।

उनले गठबन्धनले तथ्यविपरित र पूर्वाग्रहपूर्ण कुरा गरेको बताए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरे। पूर्वउपप्रधानतथा रक्षामन्त्री समेत रहेका सांसद पोखरेलले आफूमन्त्री रहँदा त्यस बारेमा कुनै पनि सकारात्मक कुरा गरेको केही लिखतहरु, वक्तव्यहरू, माइन्युटहरु भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको पूर्ण जबाफदेही लिन तयार रहेको बताए।

इन्डोप्यासिफिक स्ट्राटेजीको अंग बनाएर एसपीपीको विषय आएपछि केपी ओली नेतृत्वको सरकारले कार्यदल गठन गरेको र कार्यदलले एसपीपीलाई अगाडी बढाउन उचित नहुने निष्कर्ष निकालेको पोखरेलले उल्लेख गरे। ‘परराष्ट्र सचिवको संयोजकत्वमा, रक्षासचिव, गृहसचिव र नेपाली सेनाका प्रतिनिधिसहित कार्यदल बन्यो । जसले एसपीपीको नाममा आएको यो चिजलाई अगाडी बढाउनु उचित हुँदैन भनेर निष्कर्षहरू निकालेको छ। यो तथ्य हुँदाहुँदै लाज पचाएर गलत ढंगले जुन ढंगले कुराहरू अहिले उछालिँदैछ। म यसप्रति खेद व्यक्त गर्न चाहन्छु।’

उनले एसपीपीको प्रस्ताव आउँदा काँग्रेस नेतृत्वको सरकार रहेको दाबी गरे। ‘२०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरू बोलिरहनुभएको छ,’ उनले भने। एमालेप्रति आक्षेप लगाएर गठबन्धनको सरकारले आफूले गरेका अपराधलाई ढाकछोप गर्ने दुष्प्रयत्न गरेको उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्