Spread the love
  • 78.3K
  •  
  •  
  •  
  •  
    78.3K
    Shares

खस-आर्यको ३८०० वर्ष लामो इतिहास

0

खस वा खसिया ककेसियन नश्ल समूहको एक जातीय समुदाय हो, जसले नेपालको पहाडी भूभागको सबैभन्दा बढी जनसङ्ख्या ओगटेको छ। यो जातिका अन्य नामहरू पर्वते/पर्वतीया र पहाडी हुन्।

यो जाति तत्कालीन विशाल नेपाल – हाल भारतमा पर्ने हिमाचल प्रदेश तथा उत्तराखण्डका साथै सुदूर तथा मध्यपश्चिम नेपालको कर्णाली क्षेत्रमा प्रागऐतिहासिक कालखण्डदेखि बसोबास गर्दै आएको छ। खस जातिको मूख्य स्थान भनेका तत्कालिन विशाल नेपालमा पर्ने भू–भाग– पूर्वमा आसमदेखि पश्चिममा काश्मिरसम्म – हिमाञ्चल प्रदेश तथा उत्तराखण्ड, नेपाल, सिक्किम, दार्जिलिङ, भुटान, आसाम र बर्माको पहाडी क्षेत्र आदि पर्दछन्।

आज ‘खस’ भनेर चिनिने समुदायको प्राचीनता र नेपालको सरहद प्रवेश, भाषिक व्युत्पत्ति र ऐतिहासिकताप्रति व्यापक कौतुहल छ। ऐतिहासिक स्रोतहरूबाट खसहरू लडाकू इतिहास बोकेको हजारौं वर्ष पुरानो घुमन्ते समुदाय हो भन्ने बुझिन्छ। यो समुदायको प्राचीनता केलाउँदा मध्यपूर्व एसियाको इरान र बेबिलोनियाका कश वंशका शासक र जातिको लगभग ३८०० वर्ष पूरानो इतिहाससम्म पुग्नुपर्छ।

इरानको खसिस्तान, ककेसस पर्वत, कश्यप वा कश्पियन सागर, पश्चिम अफगानिस्तानको खस मरुभूमि र खस नदी, वाल्हीक प्रदेशको बडाखसान, कश्मीर (कशरखसमीर), काश्गर (कशरखसगृह) आदि नामलाई ‘कश’ वा ‘खस’ जातिको इतिहाससँग सम्बन्धित मानिन्छ। यो मान्यतालाई नेपालका खस शासकका वंशपरम्परा सम्बन्धी पूराना लेखोट र अभिलेखले पनि धेरथोर पुष्टि गरेका छन्।

खस शासकका पूर्खाले जालन्धरको कुण्डली वनमा शासन गरेको र पछि खस साम्राज्यका संस्थापक नागराज (तिब्बती वंशावलीमा नागदेका छोरा चाप वा चप्पिल्ल वा चेन – छ्युग्दे) को राज्य विस्तार बाह्लिक र गान्धार इलाकासम्म पुगेको चर्चा श्रीपाली बम ठकुरीको लेखोटमा छ। खस शासकहरू ‘जाव’, ‘जावेश्वर’जस्ता नाम र विशेषणले जालन्धरबाट पूर्व बढ्दै आएको संकेत गर्छ। अभय मल्लको वि.सं. १४३३ को अभिलेखमा पनि बाह्लिक खसिस्तान वा पर्सिया (फारस) सम्म खस प्रभावको चर्चा छ।

खसहरूले तुर्क–मंगोल इलाकाका क्वार्लोक र टारटार लडाकूहरूसँग लड्दैभिड्दै मध्यपूर्व एसियातर्फबाट कश्मिर, लद्दाख पश्चिम तिब्बतको ङरी प्रदेशको गुँगे–पुराङ् इलाकामा स्थानीय बौद्ध र वोन अनुयायीहरूसँग संलग्न हुँदै प्रवेश गरेर आफ्नै बलियो राज्य स्थापना गरेको देखिन्छ। खस समुदाय दशौं–एघारौं शताब्दीसम्ममा उक्त इलाकामा प्रवेश गर्दा मूल झुण्डबाट छुट्टिएका क्वार्लोक वा टारटार तुर्क (मंगोल) हरूले कर्णाली प्रदेशमा शक्ति फैलाइसकेका थिए। खसहरूले उनीहरूमाथि आफ्नो प्रभाव विस्तार गरेको तिब्बती, काश्मिरी तथा अन्य स्रोतहरूमा उल्लेख छ।

कश्मिरको राज इतिहास राजतरङ्गिणीको कालीगण्डकी क्षेत्रका राजा अरमुडी र कश्मिरका राजा जयपीडका सैनिकको युद्ध वर्णन, तिब्बतको गुँगेतिर भएको क्वार्लोक तुर्क–मंगोल (सोग्पो) आक्रमण, विक्रमशील महाविहारका बौद्ध तान्त्रिक आचार्य दीपंकर अतीशको जीवनी, अन्य तिब्बती स्रोत, तल्लो मुस्ताङमा तुर्क सरदार भाराडनडुरसँगको युद्धमा स्थानीय बौद्धहरूलाई खस सैन्य सहयोगको प्रसङ्ग र मानव भूगोलको अवस्थितिले खसहरू तुर्क–मंगोललाई परास्त गर्दै नेपाल पसेको देखाउँछ।

खस राजाहरूले पुराङ् वा खार – री (ताग्ला खार समेत), गो – हा झुमकार आदि ठाउँका पाल शासकमार्फत् चिनियाँ शोग्पोहरूलाई कदर गरी तुर्की घोडा उठ्ती गरेको उल्लेख पाइन्छ। खस सम्राट अशोक चल्लका छोरा आनन्द मल्ल जालन्धर प्रदेश हेर्न खटिएकाले उनलाई कतिपय स्रोतमा जालन्धरी मल्ल र त्यसपछिका खस राजाहरूलाई जालन्धरी समूहवंशी सिंजापति भनिएको देखिन्छ। यसबाट गण्डकी–कर्णाली भेकका मगर समुदाय क्वार्लोक र टारटार तुर्कका मूल झुण्डबाट छुट्टिएका स–साना सरदार अन्तर्गतका समूह भएको अनुमान हुन्छ। मंगोल वा तुर्क आक्रमणकारीको पछिपछि खसहरूको अर्को लडाकू शक्ति पूर्वतर्फ पसेको बुझन सकिन्छ।

नेपालका खस क्षत्री हुन् वा ब्राह्मण, उद्भवका हिसाबले गंगाको मैदानतर्फका वैदिक ब्राह्मण र क्षेत्रीय कुलसँग तिनको कुलीय प्राचीनता फरक तथा वैवाहिक सम्बन्ध पनि निषेध थियो। धार्मिक समन्वयको संस्कार बोकेका खसहरू मष्टो देवता (मष्टो) मान्थे। खस राजाहरू बुद्ध धर्मको अनुयायी र रक्षकको रूपमा तिब्बतको शक्य गोन्पा लगायतका हिमाली कन्दरादेखि लुम्बिनी, कपिलवस्तु, बुद्धगया र स्थानसम्म पुगेका उदाहरणहरू पनि छन्। नेपालमण्डलमा आक्रमणको क्रममा खसहरूले बुङ्मती, स्वयम्भू आदि क्षेत्रमा दानदातव्य र पूजाप्रार्थना गरेका प्रमाणहरू छन्।

क्राचल्ल, अशोक चल्ल लगायतका राजाहरूले बुद्ध धर्मको उत्थानमा गरेका कामको लामै ऐतिहासिक सूची बन्न सक्छ। मगध सम्राट अशोकले बोधगयालाई चढाएका तर पछि शोग्पोहरूले खोसेका वस्तीयुक्त ४४ इलाका अशोक चल्लले किनेरै बोधगया (बज्राशन) लाई चढाएको चर्चा तिब्बती स्रोतमा पाइन्छ। तिब्बती वंशावलीहरूले रिपु मल्ललाई ‘धेरै भारतीय राज्य रजौटा जित्ने अधिपति’ भनेको छ।

नवलपरासीको दाउन्ने गढीमा पृथ्वी मल्लका सहयोगी सामन्त शासक देव वर्माले शैल दुर्ग बनाएका र बुटवलको सैनामैनामा खस शासनकालको बौद्ध मन्त्र ‘ओम मणि पद्मे हुँ’ कुँदिएको अभिलेख पाइएको छ। यसरी खसको अधीनस्त इलाका भएकाले नेपाली इतिहासमा तराई अभिन्न देखिएको हो।

कुमाउँ गढवालतर्फ खस ब्राह्मण क्षेत्री भनेर चिनिने २५० र २८० थर कुल भेटिएका र त्यताका कत्युरी आदि राजवंशसमेत खस नै भए पनि मष्टो परम्परा त्यति प्रचलित नभएको कुरा उल्लेखनीय छ। कारण गुँगे, पुराङ्तर्फ श्याङशुङको प्राकृतिक वोन धर्मको प्रभाव हटिनसकेकोले त्यता पसेका खसहरूले तिब्बती सभ्यतासँग घुलमिल हुनु अनिवार्य थियो। उनीहरू मंगोल समूहहरूका विरुद्ध स्थानीय वोन र बौद्धहरूलाई सहयोग गर्न भनेरै त्यता पसेका थिए।

खस क्षेत्री बाहुन मुगल आक्रमणबाट जोगिन नेपाल पसेका होइनन्, न त यिनको मूलथलो नै बनारस वा गंगाको मैदान हो। खस समुदाय गान्धार, वाल्हीक, काश्मिर, काश्गर, पश्चिम तिब्बतको गुँगे–पुराङ वा कैलाश मानसरोवर इलाका हुँदै पश्चिम–उत्तर कुनाबाट टारटार वा क्वार्लोक तुर्क–मंगोलसँग लड्दैभिड्दै र आवश्यकता अनुरूप सम्झौता समेत गर्दै भोट जातिसँग मिल्दै नेपाल पसेका हुन्। यसरी हेर्दा यो भू–खण्डमा खस समुदायको प्रवेश एक युगान्तकारी घटना थियो।

खसहरूको मातृभाषा खस नै हो, जुन हजारौ वर्षको अन्तरालमा विकसित, विस्तारित र परिमार्जित हुँदै हालको नेपाली भाषा बनेको हो। खस समुदायका मुख्य हाँगाहरुमा, बाहुन, क्षेत्री, ठकुरी, सन्यासी अर्थात् योगी (दशनामी), विश्वकर्मा, परियार, नेपाली, गन्धर्ब, बादी र राउटे रहेका छन्।

को हुन् खस जाति ?

मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरूको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐनाजस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाइ चर्चित छ, ‘जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन, त्यसले भविष्य जान्दैन।’ यसले मानव समुदायको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ। तर, इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलनभन्दा कठिन छ।

पृथ्वीमा मानवको उत्पत्ति भएपछि एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन्। आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव समुदाय छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। मानव समुदायको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। पुरात्वविद्ले मानव समुदायले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्, ती हुन् – पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिँदैन।

इतिहासको सबैभन्दा लामो युग नै आदिम युग थियो। पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्व नै ऋणी छ। मिश्र विश्वको सबैभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। यिनै मानव सभ्यताको विकास क्रमसँगै राज्य, साम्राज्य र समुदायहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र समुदायहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ।

कस वा कक्साइट खस समुदायकै प्राचीन नाम हुन्। पश्चिम एसियाको मानव समाजको विकासमा यो समुदाय लडाकु, बुद्धिमान र बिजेता समुदायको रूपमा परिचित भइसकेको थियो। लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला समुदायको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए। यो १००० वर्ष ई.पू.को कुरा हो। त्यतिबेलाको प्रचलित हम्बुरावी कानूनमा ‘जस्तालाई त्यस्तै खुनको बदला खुन’ भन्ने विधानमा आधारित न्यायप्रणाली थियो। यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए।

खसहरूको आक्रमण जारी रह्यो। सन् १७०० ई.पू.देखि ११५५ सम्म कसहरूले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए। ई.पू. १७०० देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे। यो समुदाय राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो समुदाय मानिन्छ। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान, कुशन आदि। भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पदचिन्ह दर्शाउँछन्।

खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्। यिनीहरु कौकसिअन वर्णको हुन्। यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा – बिशाल नेपाल प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। यो तथ्यले नेपालमा अहिले बाक्ला तथा अन्य समुदायहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य कौकसिअन खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) दुई शताब्दीमा मात्र नेपाल आएका समुदाय हुन्। यहाँका रैथाने समुदाय होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्।

बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए। पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो समुदायले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए।

पृथ्वी मल्लको वि.सं. १३९५–१४४५ को राज्यकालमा खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ। पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (१४३५–४६) पछि बिलायो। यसरी ई.पू. प्रथम शताब्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हुदै भारत वर्ष छिरेका र इसाको पाँचौं शताब्दीतिर कास्मिरबाट पहाडको कछाडै–कछाडै कुमाउँ, गढवाल हुँदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य बिलाए पनि नेपालमा हजारौं वर्ष पूरानो रैथाने अस्तित्व खस समुदायको पनि छ। खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट खस समुदायका थरहरू उत्पत्ति भएका छन्।

खस जातिका थर कसरी रहे ?

सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरूः अधिकारी – दराको हाकिम, कार्की – राजश्व अधिकृत, कठायत – काजी दर्जा, भट्ट – राज पुरोहित वा धर्माधिकारी, भण्डारी – राजकीय कोषको प्रमूख, लेखक – लेखक, महत – ग्राम प्रमूख, रोकाया – महतको सहयोगी, थापा – सैनिक दर्जा, खड्का – सैनिक दर्जा, राना – सैनिक दर्जा, बुढा (थर) – सैनिक दर्जा बस्नेत – सैनिक दर्जा।

कर्णालीका गाउँका नामबाट उत्पत्ति भएका थरहरूः (१) जुम्लाः धिता–धिताल, पाण्डुसेरा–पाण्डे, सिञ्जा–सिजापति, चैडिलागाउँ–चौलागाई, प्याकुरी–प्याकुरेल, सिम्खाडा–सिम्खडा। (२) अछामः तिमिल्सैन–तिमिल्सिना र तिम्सिना, घमिराउँ–घिमिरे, देवकोट–देवकोटा, ढुङ्ग्रानी–ढुङ्गाना, ढाँकु–ढकाल, बजगाउँ–बजगाईँ, रिमा–रिमाल र रसाइली, स्वाँरा–स्वार, घोडासैन–घोडासैनी, पुरासैन–पुडासैनी, धमाली–धमला, दर्ना–दर्नाल, कुइका–कुँइकेल, चाल्सा–चालिसे, बारला–बराल, लामिसाल–लम्साल।

(३) बझाङः रेगम–रेग्मी, सोत–सोती, खार–खरेल र खराल, सुवाडा–सुबेडा र सुवेदी, बयाना–बनियाँ र बानियाँ, पौडी–पौडेल। (४) बाजुराः जमकट्टी–जमरकट्टेल, छाती–छन्त्याल, कुँडी–कुड्याल, बेलकाटे–केलकाटिया, खातिवाडा–खाती। (५) बैतडीः गाजरी–गजुरेल। (६) डोटीः डोटेखेला–डोटेल, दिपायल्या–कठायत, निरौली–निरौला, ओझाना–ओझा। (७) मुगुः खनाया–खनाल, कालैगाउँ–कल्यान, खत्याड–खतिवडा।

(८) दैलेखः लामाछान्नी–लामिछाने, बाँस्कोट–बास्कोटा, बाँस्तोली–बास्तोला, सातला–सत्याल, लुयाटी–लुइँटेल, चापागाउँ–चापागाइँ, नेपा–नेपाल, रिजु–रिजाल, पोखर–पोखरेल, लम्सु–लम्साल, लम्जी–लम्जेल, दह–दाहाल, दहाल, गैह्रा–गैह्रे, गैरे भूर्ति–भूर्तेल, पराजुल–पराजुली, कोइराली–कोइराला, दवाडा–दवाडी, कट्टील–कट्टेल, भुषाकोट–भुषाल, सुइय–सुइयेल, बड–बडाल, मोडासैन–मरासैनी, मरासिनी, गुरगाउँ–गुरागाइँ। (९) कालिकोटः खिट्किसैन–खिर्सिने, भुतौ–भूर्तेल, राँचु–रूचाल, गेला–गेलाल, वञ्जाडा–बञ्जाडे, बाँझकोट–बाँँझकोटा। (१०) रुकुमः सर्पुकोट–सापकोटा। (११) दाङः रजौरा–रजौरिया।

मजगैयाँ आदि खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएकाले खसहरू आदिबासी र पूराना रैथाने भएको प्रमाणित हुन्छ। पुराणहरूमा नेपालाई जम्मुद्दिप भनिएको छ। नेपाल प्राचीनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रूपमा प्रचलित छ, यस आधारबाट हेर्दा त खस समुदाय यहाँको अनादीबासीजस्तो देखिन्छ। तर, किराँत राजाले कुरूक्षेत्रको लडाइँमा भाग लिएको भन्ने श्रुतिले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैन।

खस समुदाय भनेका बाहुन, क्षेत्री, ठकुरी हुन्, जस्तै पाण्डे, शाही, कठायत, थापा, बस्नेत, विष्ट, कुँवर, महतृ१३े आदि सम्पूर्ण त्यसमा पर्दछन्। वर्तमान कुमाउँ मण्डल खसमा (कस्साइट) बताइने पश्चिम इसियाई पर्वतीय समुदायको विशाल लिला क्षेत्रको पूर्वी भाग थियो। अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ। जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ। यस्तै कस्स समुदायको उपनिवेश कस्सीर कलान्तरमा काश्मिर बन्न गयो। वैदिक साहित्यमा यसलाई कास भनिन्थ्यो।

असुरहरूसित रक्तमिश्रण भएपछि यो समुदायलाई ब्राम्य भन्न थालियो। रामायण, महाभारत लगायतका हिन्दू पुराणहरूमा यो समुदायलाई खस या खश भनिएको छ। मनुस्मृतिमा खस समुदायलाई धर्मच्यूत मानिएको छ। कुमाउँमा राजपुत कालमा आप्रवासी समुदायहरूले खसहरूको संसार र भाषा खस कुरालाई आत्मसाथ गरे। उन्नाइसौं शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधाभन्दा धेरै जनसङ्ख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे।

इतिहासमा एउटा प्रभावशाली समुदायका रूपमा रहेका खस समुदायको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख छैन। खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुँदै गएको छ। यसबाट खस जाति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा कट्टर भएको देखिँदैन। यो जातिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो। तर, त्यसलाई पनि अहिले क्रमशः छोड्दै गएको पाइन्छ।

यसको निवास्थान कहाँ हो ? यी आज कहाँका रैथाने मानिन्छन् त ? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्याअनुसार गढवालको उत्तर प्रदेशको निवासी नेपाल आदि देशमा रहनेवाला ब्राम्य समुदाय भन्ने उल्लेख छ। यसबाट कुमाउँ गढवाल र नेपालको विशेषतः पहाडी भाग, पर्वतहरूको काख खस समुदायको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ।

धर्म, सम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो समुदाय नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनसमुदायहरूको सस्कृतिसँग घुलमिल भई जनसमुदायका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन। नेपाली खस भारत वर्षमा प्रवेश गरेपछि वैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि वर्ण व्यवस्थातर्फ आकर्षित भए। प्राचीन खसहरू ब्राम्हाण बन्ने प्रक्रिया प्राचीन पौराणिक कालमा मात्र सीमित भयो। मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने। खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ। तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भनिन्छन्।

खसको आगमनपूर्व पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो। अहिलको सेती–महाकाली कुमाउँका शासकका अधिनमा थिए। मगराँतमा मगर मुखियाको शासन थियो। गण्डकी प्रदेशको उत्तरी भागमा गुरुङ समुदायका कविला राज्यहरू थिए। कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता खस साम्राज्यलाई नै नेपालभरि बिस्तार भयो।

जुम्लाको सिञ्जालाई राजधानी बनाई त्यहाँबाट फैलिएका जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हुंदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाई खस भन्ने प्रचलन अहिले पनि छ। प्रसाइँ, सिटौला, ओली, कठायत, कुमाई हुन्। भने रिजाल, भण्डारी, पण्डित, थापा, खड्का आदि जुम्ली हुन्। खसहरूको आगमनले कविला जनजातीय राज्य कब्जा गरी खस भाषा र खस संस्कृति स्थापित भयो।

खस र अन्य जातिहरू

खस र किराँतः किराँतहरूभित्र लासा गोत्रका लुम्मु (लेय आझ अर्थात् सौहिक मूलका लिम्बुका पूर्वज) ले प्रवेश गर्नुभन्दा पहिलो किराँतको काशी गोत्र थियो। मध्य एसियाको किङिगज किर (किराँत) र गिज (काशी) को साभा विभेद विन्दू हो। त्यहाँबाट विभक्त हुनुपूर्व ती दुवै एक थिए।

खस र लाङ्घालीः खस जातिको प्राचीन इतिहासलाई हेर्दा खस र लाङ्घालीहरू (मगर आदि) को सम्बन्ध पनि अनादिकालिन बन्धकका रूपमा देखिन्छ। अहिले हस्तिहरूको उत्थानको युगमा अनेकौं काशी (खस) हरू गज (नाग) मा परिणत भएका थिए। आदित्य मित्तानी युगमा खस (गज) हरू पृथ्वीका सबै दिशामा दिग्गजका रूपमा तैनाथ भएका थिए। पछि नेपालका कैयौं लाङ्घाली जाति खस जातिमा प्रवेश गरेका थिए।

नेपालका खसको विहेमा मगर नास्ती र मगरको विहेमा खस नास्ती भन्ने प्रचलन छ। यो प्रचलन असाध्यै पूरानो प्रचलन हो। तर, यसले खस र लाङ्घालीका बीचमा असाध्यै लामो सामाजिक सम्बन्ध भएको देखाउँछ। पराक्रमको आधारमा कतिपय लाङघालीहरू खसमा रूपान्तरण भएको र कतिपय खसहरू लाङघालीमा रूपान्तरण भएका प्रशस्त ऐतिहासिक तथ्यहरू पाइन्छ। अहिले हामीले नेपाली समाजमा खस बाहुन र लाङघालीहरूका थरमा पनि समानता पाउँछौं। जस्तै बराल, थापा, खड्का, लामिछाने, बुढाथोकी, भण्डारी आदि लाङघाली र खस दुवै जातिका थर हुन्।

जनश्रुतिलाई मान्ने हो भने त बुढाथोकी मगरहरूले अझै पनि कहींकहीं आफूलाई खसको सन्तान भन्दछन्। बालकृष्ण पोखरेलका अनुसार मगर र खसको नाता धेरै सन्निकट छ। आज कोही खसहरूलाई पावई अर्थात् मलवाली क्षेत्रका रूपमा पाउँदा र उहिले केही मगरहरूलाई राजसी (ब्रामण, नरेस) का रूपमा पाउँदा सन्निकटताको यो पक्ष प्रष्टिएर आउँछ।

खस र तामागणः स्थुल रूपमा तामाङ अथवा अश्वगणभित्र नेवार, तामाङ, थारू, गुरुङ र थकालीलाई पाउँछौं। उहिले केही काशी खसहरूले पनि अश्वगणभित्र प्रवेश गरेका थिए भन्ने देखाउँछ। केही खसहरू (चन, थकाली, अधिकांश नेवार देउभाजु आदि) ले तङ्गण समाजमा प्रवेश गरेका थिए। अर्थात् तङगण समूहका नेपाली र खसहरूका बीचमा पनि रगतको दोहोरो सम्बन्ध देखिन्छ। यसबाट आर्यरूपी खस जाति र मंगोलियनका बीचमा रक्त सम्बन्ध मात्र होइन, जातीय समागम भएको पनि देखिन्छ। केही किराँतहरूले अहिले पनि आफूलाई तागाधारी वा जनै लगाउने जातिका रूपमा दावी गर्दैछन्।

कस्ताे छ खस भाषाको इतिहास ?

बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देवदेवीका नाम जानकारीमा आएको बताइएको छ। कस अर्थात् खसहरू बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध थियो। ख्यातीप्राप्त भाषाशास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन्।पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाइसे र अधिकांश चौबीसे राज्यको भाषा नेपाली हुन गयो।

खस भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषाभित्र पर्दछ। यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ। आज हामीले नेपाली भाषाका रूपमा बोलिने खस भाषा यही अवस्थामा थिएन। साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हुँदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटै फैलिंदै आसाम र बर्मा तथा भूटानसम्म फैलिएको छ। विकास भएको र सजिलो भाषा हुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएकाले पनि यो भाषालाई अन्य भाषाभाषीहरूले ग्रहण गरेका र बिस्तार भएको देखिन्छ। नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रूपमा स्थपित भएको छ।

नेपाली या खस भाषा बिस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका कारण हो। यसका लागि पञ्चायती शासनसम्म पञ्चवर्षीय योजनामा अरु भाषाको प्रयोग रोक्न सरकारी कोष नै प्रयोग हुन्थ्यो। प्रजातन्त्र स्थापना भइसक्दा पनि नेपालको कुनै पनि सरकारी कामकाजमा नेपालीबाहेक अरु भाषा प्रयोग गर्न गैह्र कानूनी हुने सर्वोच्च अदालतले फैसला गरेको थियो, त्यसलाई अन्य भाषीहरूले ‘कालो दिन’ भनेका थिए। लोकतान्त्रिक नेपालमा पनि सरकारी कामकाजमा खस भाषा नै प्रचलित छ।

नेपालको विविधतामा खस–आर्य

नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। नेपाली समाजका विविध अंगहरू छन्। जस्तै मधेशी, थारु, कोचे, लिम्बु, याखा राई, हायु र सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झ्र, लाङघालीहरू, नेवार, तामाङ, गुरुङ रथारू झैहरू केही हिमाली, राव, तराइलीहरू। यी अनेकौं अंगहरूमध्ये खस नामक अंगले पनि नेपाली हुनुमा गौरव मान्दै आएको छ। नेपालको एकीकरण एवं अङ्ग्रेज साम्राज्यवादका विरूद्धको सङ्घर्षमा खस जातिले बलिदानीपूर्ण सङ्घर्ष गरेको छ।

नेपालको इतिहासमा राणा शासन स्थापना, कोत पर्व, भण्डारखाल पर्व, पञ्चायती व्यवस्था, साथै नेपालको वर्गीय मुक्ति र सामाजिक मुक्ति आन्दोलनमा पनि खस जातिको भूमिकामा रहेका देखिन्छ। वर्गीय समाजमा इतिहासको शासक यो जाति मात्रै हो। साथै, शासित र उत्पीडित रैतीका रूपमा, भाषिक शोषणबाहेक अन्य उत्पीडनमा अन्य जातिहरूझैं यो जाति रहेको छ।

सामाजिक इतिहासमा खस के हो ?

खसहरू आर्य हुन्। तर, बैदिक आर्य होइनन्। एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो। राजा भारदार र सामान्य प्रजासमेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे। तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए, कुमाउँ र गढवालका हिन्दूहरूका अगाडि खसहरूले आफूलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ।

कुनै पनि धार्मिक वा साम्प्रदायिक जडता नभएको र संस्कारमा समेत उदार हुनाले कर्नालिको जातिले नेपालमा प्रचलित रहेका मंगोलियनलाई दशैं पर्व मान्न सिकायो, मंगोलियनले कुनै उत्सवमा निधारभरि चामलका अक्षता लगाउने प्रचलनलाई दशैंमा टिकाका रूपमा अनुशरण गरे।

प्रागऐतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो। नेपालका आर्य खस, मधेसी आर्य र मंगोल सबै बाहिरबाट आएर बसेका जाति हुन्। मंगोलियन जातिको नेपाल प्रवेश मुख्यतः उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ, खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए, मधेशी दक्षिणबाट। यी दुई जातिमध्ये पुराणलाई छोड्दा खसहरु नै पहिले प्रवेश गरेको देखिन्छ।

यहाँका आदिबासी, आर्य र मंगोलियनका बीचमा ठूलो मात्रामा जातीय सङ्घर्ष भएन। दुवै जातिले प्रारम्भकालदेखि नै एक–अर्काको अस्तित्व स्वीकारेको देखिन्छ। यी जाति र अन्य जातिहरूबीच पनि सांस्कृतिक आदानप्रदान, लेनदेन र सद्भाव रहँदै आएको छ। नेपालको सामाजिक इतिहासमा यो सांस्कृतिक संगमलाई नेपाली सामाजिक सभ्यताका रूपमा लिन सकिन्छ।

आजको समयमा पनि केही खस संस्कारहरू जीवितै छन्। पूर्ण रूपले हिन्दूकृत भएका खसहरूले हिन्दू धर्मसँगै खस संस्कारहरू पालना गर्छन्। खसको मूलभूत चिन्हमध्ये मष्टो पूजा वा देवाली एक हो। आज पनि बाहुन र क्षेत्री समुदायहरू १२ मष्टो देवताका पूजा गर्छन्। अन्य हिन्दू जातिहरूसँग भिन्न रहने मष्टो पूजा प्राचीन खस संस्कार हो। पर्वते हिन्दू समुदायको अर्को चिनारी खस भाषा (नेपाली भाषा) हो। यो एक इण्डो–आर्यन भाषा परिवारको सदस्य, जो भारोपेली भाषा परिवारको एक शाखा हो।

(यो सामग्री हामीले विकिपिडियाबाट लिएका हौं। खस–आर्यको इतिहासबारे अहिले पनि कैयौं बहस र मतभिन्नता छन्। यहाँहरुका सकारात्मक सुझावलाई ग्रहण गर्दै भविष्यमा थप परिस्कृत सामग्री प्रकाशित गर्नेछौं–सम्पादक।)

Spread the love
  • 78.3K
  •  
  •  
  •  
  •  
    78.3K
    Shares
You might also like
Comments
Loading...