काँग्रेस ९० सिटभन्दा तल झर्दैन : प्रधान

congress_leader
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले आगामी निर्वाचनको लागि आफ्नो दलले गठबन्धनमा ९० सिटभन्दा तल नलिने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता प्रधानले अहिले गठबन्धनभित्र सिटको बाँडफाँड टुंगो नलागेको पनि स्पष्ट पारे।

उनले भने, ‘हाम्रो गठबन्धन अहिले सिट बाँडफाँडमा निष्कर्षमा पुगेको छैन। यसबारेमा छलफल जारी छ। कार्यदलका संयोजक कृष्ण सिटौलाजी झापा जानुभएको छ। आज फर्किँदै हुनुहुन्छ। उहाँ फर्किएपछि छलफल हुन्छ।’ उनले आफ्नो दलको बटमलाइन १०० सिट भएको सुनाए।

उनले थपे, ‘हाम्रो बटमलाइन १०० सिट हो। हाम्रो महामन्त्री गगन थापाले पनि यही अडान राख्नुभएको छ। छलफल गरेर जाँदा सहमतिको लागि ८५ देखि ९० सिट राख्नुपर्छ भन्ने सुन्नमा आएको छ। तर, ८० सिटमा सहमति हुने सम्भावना न्यून देख्छु।’ उनले अहिलेको पाँच दलीय गठबन्धनको सरकार बाध्यात्मक अवस्थामा बनेको स्मरण गराए।

उनले तत्कालीन नेकपाका नेताहरू प्रचण्ड र माधव नेपालले आग्रह गरेर नै आफ्नो सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएको सुनाए। उनले भने,‘त्यति वेला संविधानमाथि प्रहार भएकोले नै हाम्रो पार्टी आन्दोलनमा जानुपर्छ भनेर गएको हो। त्यसकै उपज हो-यो गठबन्धन।’

उनले अहिलेको चुनावलाई गठबन्धन भर्सेस एमालेको रुपमा पनि चित्रण गरे। उनले भने, ‘गठबन्धनले जित्यो भन्यो, गठबन्धनका हिमायती प्रचण्ड, माधव नेपाल र देउवा सबैको जित हुन्छ, अहिलेको चुनाव भनेको त गठबन्धन भर्सेस एमाले नै हो। अहिले चुनावको कुरा गर्दा पहिलो बलियो दल काँग्रेस हो। दोस्रो बलियो भनेको एमाले नै हो। गठबन्धनको कुरा गर्दा अब सिट बाँडफाँडमा जुन-जुन ठाउँमा जुन दल बलियो छ, त्यही दललाई सिट छोड्नुपर्छ। मुख्यगरि यो चुनावमा काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने हो। अहिले फुटको संघारमा परेको एमाले कमजोर देखिएको छ।’

उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा बहुमत ल्याउनेगरि सिट बाँडफाँड गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘गठबन्धन हार्‍यो भने त प्रधानमन्त्रीको महत्वकांक्षा बोक्नेहरूलाई धक्का लाग्छ। गठबन्धन जित्यो भने प्रचण्ड, देउवा र माधव नेपालको शिर पनि ठाडो हुने हो। अहिले सिट बाँडफाँडबारे गठबन्धनमा निर्णय भैसकेको छैन। सबै वस्तुस्थिति हेरेर जानुपर्छ। नेताहरूले गठबन्धनको बहुमत आउनेगरि एक्सरसाइज गर्नुभएको छ।’

उनले यो निर्वाचनमा गठबन्धनभित्र काँग्रेसले बढी सिट पाउने भयो भने निर्वाचनपछि गठबन्धनको सरकार बन्ने दाबी गरे। उनले भने, ‘काँग्रेसले बढी सिट पाउने अवस्था आयो भने गठबन्धनको सरकार बन्छ। तर, नजित्ने ठाउँमा पनि भाग मात्रै खोजियो भने त, एमालेलाई परास्त गर्न गाह्रो हुन्छ। हाम्रो बटमलाइन नै ९० हो। १०० सिट लिने महामन्त्री कसरी ८० मा झर्छ होला त ? यो सम्भव छैन। ठाउँ र पार्टीको जनाधारको अवस्था हेरेर सिट बाँडफाँडमा लाग्नुपर्छ। एकीकृत समाजवादीको कुरा गर्दा काठमाडौंमा जीवनराम बलियो छ। जीवनरामजी त हिजो आन्दोलनमा काम गरेको व्यक्तित्व हो। गठबन्धन हार्‍यो भने को हार्छ त ? देउवा हार्ने हो, माधव नेपाल र कमरेड प्रचण्ड हार्ने हो। गठबन्धनले कसरी बहुमत ल्याउँछ भन्ने रणनीति बनाउनुपर्छ। यसरी जान सकियो भने भोलिको सरकार गठबन्धनको बन्छ। हामी ८० सिटमा त झर्नै सक्दैनौं। अहिलेको प्रतिस्पर्धा भनेको नै एमाले र काँग्रेसबिच नै हो।’

उनले विवादमा मुछिएका व्यक्तिहरूलाई पार्टीले चुनावमा उम्मेदवार नबनाउने स्पष्ट पारे। अफ्ताब आलम र विजयकुमार गच्छदारको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘नेपालको निर्वाचन कानूनमा आरोपितलाई उम्मेदवार बनाउन कानूनी अड्चन छ। आफ्नो ठाउँबाट आउन सक्छ। तर, त्यसको असर पार्टीको लागि त अर्को क्षेत्रमा पर्न सक्छ। यो कुरा नेतृत्वले हेक्का राख्नुपर्छ। उहाँहरू उम्मेदवार नबन्दा नै राम्रो हो।’

नेता प्रधानले महामन्त्री गगन थापा काठमाडौं-४ बाटै चुनाव लड्ने विश्वास व्यक्त गरे। उनले भने, ‘उहाँ पपुलर फेस हो, उहाँको नाम धेरै ठाउँबाट सिफारिस भएको होला, यहाँबाट नउठिकन अब अन्त गयो भने, गगन थापा यहाँबाट भाग्यो भन्ने मेसेज जान्छ। चुनावमा हार/जित हुन्छ नि, काँग्रेसका थुप्रै सिनियर लिडरले ०७४ मा हार्नुभयो। गगन थापा त भोलि पार्टीको सभापति बन्ने क्षमता बोकेको व्यक्ति हो।’

उनले आगामी निर्वाचनपछि पार्टीबाट भावी प्रधानमन्त्री सभापति शेरबहादुर देउवा नै भएको स्पष्ट पारे। उनले भने, ‘देउवाजी अहिले दलको नेता हो। पार्टीको सभापति पनि हो। उहाँकै नेतृत्वमा चुनाव हुँदै छ। केपी ओली त कति बिरामी भयो, भयो। प्रचण्डले पनि आलोपालो पनि त्याग्नुभयो। अहिलेसम्म देउवा अस्पताल भर्ना भएको थाहा छ ? उहाँ स्वस्थ हुनुहुन्छ। जिन नै राम्रो हो। उहाँको बुवा पनि ९६ वर्ष बाँच्नुभयो। गिरिजाबाबु कति बिरामी हुनुभयो, रामचन्द्रजी पनि बिरामी हुनुभयो, तर देउवा बिरामी भएको सुन्नुभएको छ ? हाम्रो पार्टीमा प्रधानमन्त्रीको लागि देउवाको विकल्प छैन। आलोपालोमा त्यसपछि प्रचण्ड होला।’

उनले आफ्नो सभापतिले कहिल्यै पनि नराम्रो काम नगरेको दाबी गरे। उनले भने, ‘देउवाले समयमै स्थानीय तहको निर्वाचन गराउनुभयो, अब संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्दै हुनुहुन्छ। सिस्टमअनुसार उहाँ नै हो प्रधानमन्त्री हो। पहिलो चरणमा काँग्रेसले सरकारको नेतृत्व गर्छ। हाम्रो गठबन्धनको साझा एजेण्डा भनेको नै सरकारमा जाने हो। संविधान बचाउने हो।’