उत्पादनको संरचना आयातमूखी छ : अर्थमन्त्री

Yubraj Khatiwada
लाेकपाटी न्यूज

काठमाडौ, २० चैत। अर्थमन्त्री डा.युवराज खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हाँसिल गर्ने आधार स्पष्ट हुनुपर्ने बताएका छन्।

काठमाडौंमा बुधबारदेखि शुरु भएको विकास परिषदको बैठकमा उनले भने, ‘दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार के हो ? यसबारे छलफल हुनुपर्छ।’ समाजवाद उन्मुख र समृद्धि नेपालको परिकल्पना गरिरहँदा आर्थिक वृद्धिदरको आधार पनि प्रष्ट हुनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय योजना आयोगले तयार पारेको समुन्नत नेपालको परिकल्पना गरिएको १५औं आवधिक योजनाबारे छलफल गर्न बसेको परिषद बैठकमा उनले छिमेकी बजार नखोज्ने भए आन्तरिक बजारले माग पूर्ति गर्न सक्ने नसक्नेबारे पनि छलफल चलाउन आवश्यक रहेको बताए।

‘विद्युत, पानी भण्डारणको क्षमता कसरी बढाउन सकिन्छ भन्नेबार पनि घनिभूत छलफल होस्’, उनले भने। प्रविधिले विस्थापित हुन सक्ने श्रमबारे पनि बहस आवश्यक रहेको उनको भनाइ छ। वैदेशिक रोजगारीमा गएकालाई स्वदेशमै रोजगारी दिलाउन अवसर रहेका श्रमका क्षेत्र पहिल्याउनुपर्ने अर्थमन्त्री खतिवडाले बताए। त्यो श्रमलाई कसरी उपयोग गर्न सकिन्छ छलफल होस्’, उनले भने।

उत्पादनको संरचना आयातमूखी रहेको भन्दै उनले आयात नघटाउँदासम्म व्यापारघाटाको मारबाट उम्किन नसकिने बताए। आयात प्रतिस्थापन कसरी गर्ने र सार्वजनिक स्रोतको लाभ कसरी लिने भन्नेबारे पनि परिषद बैठकमा छलफल आवश्यक रहेको उनले बताए।१५औं योजना वर्तमान सरकारको आगामी कार्यकालको पनि योजना भएको उनले बताए। छोटो अवधिमा अवधारणा पत्र तयार गरिएको भन्दै उनले यो प्रशंसनीय भएको बताए। 

‘१४औं योजना तयार पार्दा भर्खर संविधान बनेको थियो, निर्वाचन भएको थिएन, अहिले तिनै तहका सरकार बनेको छ, १४औं योजना समग्रमा सफल भयो’, उनले भने। १४औं योजनामा आर्थिक वृद्धि ७ प्रतिशत राखिएकोमा अहिले त्यसको नजिक पुग्न लागिएको उनले बताए। वित्तीय संघीयताको कार्यान्वयनमा केहि चुनौती देखिए आगामी बजेट तयार गर्दा छलफल हुने उनले बताए।