शुक्रबारदेखि देशभरका ओपिडी सेवा बन्द

doctors_dSX8s10jsE
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजन सूची सरकारी चिकित्सक संघको सहमति विपरित भएको भन्दै आगामी शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने भएका छन् ।

कर्मचारी समायोजन अध्यादेश–२०७५ मा आफूहरुलाई संघअन्तगर्त राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकारसँग भएको सहमतिअनुसार नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सरकारी चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकार र संघबीच भएको सहमति विपरित निर्णय भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघको आज भएको बृहत छलफलबाट चैत्र २२ देखि देशभरका ओपिडी सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए । संघले देशभरको चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने भन्दै गत पुष २२ देखि आन्दोलन सुरु गरेको थियो । सरकारसँग पटक–पटक भएको वार्तामा चिकित्सकको भनाइअनुसार समायोजन हुने आश्वासन दिइएको भएपनि अहिले समायोजन सूची भने सहमतिअनुसार नभएको भन्दै चिकित्सकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।

आगामी शुक्रबारदेखि माग सम्बोधन नभएसम्म देशभरको सरकारी स्वास्थ्य संस्थाको ओपिडी सेवा बन्द गर्ने संघले निर्णय गरेको छ । उनीहरुको सबै चिकित्सकलाई संघअन्तर्गत राखेर देशभर सेवामा खटाउनुपर्ने माग रहेको छ ।

यस्तै कर्णाली र सूदुरपश्चिम प्रदेशमा १२ देखि १५ मात्रै चिकित्सकलाई संघअन्तर्गत राखेको र प्रदेश २ र ३ नम्बरमा संघअन्तर्गत सयभन्दा धेरै चिकित्सक परेकोले असमान समायोजन भएको भन्दै चिकित्सकहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्