गाईको पनि शौचालय

cow
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत। हाम्रो देशमा अझै पनि कतिपय मानिसहरु शौचालयको पहुँचबाट टाढा छन्। तर युरोपेली देश नेदरल्याण्डमा मानिसले मात्र होइन,अब गाईले पनि शौचालयमा मात्र दिसा पिसाब गर्नेवाला छन्।

एकजना डच वैज्ञानिक हेंक हेन्सक्याम्पले गाईका लागि पिसाब फेर्ने शौचालय डिभाइस बनाएका छन्। हो, सुन्दा अचम्म र अपत्यारिलो लाग्दछ। तर, नेदरल्याण्डमा गाईका लागि शौचालय बनाइँदैछ। जथाभावी खुल्ला स्थानमा गाईले दिसा पिसाब गर्नाले वातावरणमा अमोेनिया ग्यास फैलिएर प्रदूषण बढेको भन्दै अब गाईलाई पनि शौचालयमै पिसाब गराउने टुंगोमा पुगिएको हो।

कृषिको मामिलामा नेदरल्याण्ड विश्वमै अग्रणी स्थानमा छ। हेंकको कृषि फार्ममा उक्त पशु शौचालयको सहयोगले दिनहुँ १५ देखि २० लिटर सम्म गोमूत्र संकलन गर्ने गरिएको छ। वैज्ञानिकका अनुसार गाईको पिसाबबाट निस्किने अमोनिया ग्यासले पर्यावरणलाई निकै हानी पुर्याउँछ। गाईलाई खुल्ला स्थानमा पिसाब गराउँदा भन्दा यो ट्वाइलेट डिभाइसमा पिसाब गराउँदा अमोनिया ग्यासको वातावरणमा उत्सर्जनमा आधाले कमी आउँदछ। पर्याप्त मात्रामा यी शौचालयको प्रयोग गर्न सकिएमा गोमूत्रबाट हुने प्रदूषणमा उल्लेखनीय रुपमा कमी आउने दाबी उनको छ।

उनका अनुसार पशु शौचालय बनाएर मात्र हुँदैन। गाईलाई शौचालयमै पिसाब गर्ने बानी पनि बसाउनु पर्दछ। यदि गाईलाई सिकाउन सकिएमा गाईले शौचालयमा गएरै पिसाब फेर्दछ। गाईलाई शौचालयको बानी लगाउनु भनेको दुध दुहुने मेसिनमा बानी पारेजस्तै हो। अहिले यी शौचालयको परीक्षण पूर्वीडच सहर डोटिनिचेममा भइरहेको छ। त्यहाँका ५८ मध्ये ७ गाईले ट्वाइलेटमा मात्र पिसाब फेर्न सिकिसकेका छन्। सन् २०२० सम्ममा यो पशु शौचालय बजारमा ल्याउने योजना हेन्कको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्