हुरी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन : विभाग

hawahuri
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति एक्वा ट्याब दिएको छ ।

प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारामार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने एक्वा ट्याब दिएको हो । पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाइएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जानकारी दिए। उनले भने, ‘पानीको स्रोतमा त्यस्तो कुनै खराबी छैन। तर, ट्वाइलेटको भने मुख्य समस्या छ। जथाभावी दिशा–पिसाब गर्दा पानीमा समस्या आउन सक्छ। त्यसैले सबैजना सचेत हुनु जरुरी छ।’  विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडर समेत खानेपानी डिभिजन कार्यालय बारामा दिइएको बताए।

हावाहुरीले क्षति पुर्‍याएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशनअनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको थियो ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने वा नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्