इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

लोकपाटी न्यूज

काठमाडौं। इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निजी निवास खुमलटारमा आज बिहान चौधरीसहित नेकपा एमालेका नेता-कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरे।

सोही अवसरमा अध्यक्ष प्रचण्डले एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले विशेष राष्ट्रिय अर्थ राख्ने पनि बताए। उनले भने, ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ। चुनावको विशेष मौका प्रतिगमनले पटक पटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ। तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पुरै पार्टीको सहयोग हुन्छ।’

माओवादी केन्द्रले मात्र अब नेपालमा परिवर्तनको रक्षा गर्न सक्ने देखेपछि चौधरी माओवादीमा आएको उनको दाबी छ। ‘त्यस्तो व्यक्तित्व एउटा क्रान्तिकारी पार्टीको खोजी गर्दै अब नेपालमा माओवादी केन्द्रले मात्र परिवर्तनको रक्षा पनि गर्न सक्छ, जनताको हितको पनि प्रतिनिधित्व गर्न सक्छ भनेर आज माओवादीमा प्रवेश गर्नुभएको छ। यसको राष्ट्रिय अर्थ छ जस्तो मलाई लाग्छ,’ प्रचण्डले भने, ‘म द्वारिकजीलाई विशेष धन्यवाद पनि भन्न चाहन्छु।’

इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए। २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए। त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्