डा. अधिकारीको सामाजिक राजनीतिक यात्रा

DR bhojraj Adhikari
लोकपाटी न्यूज

चिन्तामणी पौडेल/प्रकाश ज्ञवाली/ चितवन, २८ असोज। चितवनको दुर्गम गाउँ तत्कालिन कुरिनटार गाउँ विकास समिति कमेरेको एउटा विपन्न परिवारमा जन्मिएर चिकित्सक जस्तो विशिष्टिकृत सेवा क्षेत्र हुँदै राजनीतिक आन्दोलनमा प्रवेश गरेका डाक्टर  भोजराज अधिकारी चितवनबासीका लागि नौलो नाम होइन। बिगत १७ वर्षदेखि चिकित्सा क्षेत्रमार्फत् जनताको सेवामा रहेका डा. अधिकारी यस पटक चितवनको निर्वाचन क्षेत्र नम्बर-३ बाट संयुक्त गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को गोलाकार भित्रको हसियाँ हथौडा चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको रुपमा राजनीतिक यात्रा तय गरेका छन्। बुबा एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीका कोखबाट छैटौं सन्तानका रुपमा २०३६ सालमा उनको जन्म भएको हो। गरिबीले आक्रान्त उनको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका-२२ मा बसाई सर्‍यो। परिवार बसाई सर्दै गर्दा अधिकारी केवल एक वर्षका थिए।

बाल्यकाल :

डा.अधिकारीको बाल्यकाल पनि पटिहानीमै वित्यो। उनको प्राथमिक शिक्षा पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट शुरु भयो। पाँच कक्षासम्म मात्र रहेको उक्त विद्यालय पछि पटिहानीकै अमर माविबाट डा. अधिकारीले २०५२ सालमा विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरे। पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन। विद्यालयकै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी अर्थात होल फष्ट थिए। कक्षा ५ र ८ को परीक्षामा उनले चितवन जिल्ला प्रथमनै भएका थिए। चञ्चले स्वभाव, तीक्ष्ण बुद्धि काम नगरी खाली बस्न नसक्ने उनको स्वभावका कारण एसएलसी दिएपछिको खाली समयमा पनि उनी खाली बसेनन्। स्थानीय ब्राइट स्टार बोडिङ स्कूलमा तीन महिना पढाए।

उच्च शिक्षा र स्वास्थ्य सेवा:

अमृत साइन्स क्याम्पस (अस्कल)बाट २०५४ सालमा प्रथम श्रेणीमा आइएससी गरेका डा. अधिकारीले शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्ति कोटामा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पतालबाट चिकित्सा विज्ञानमा स्नातक (एम.बी.बी.एस.) उर्तीण गरे। पोखराको पढाई पछि उनले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट शुरु गरे। २०६२ सालमा इन्टर्नसीप चिकित्सकको रुपमा अस्पतालमा काम गर्दा उनमा रहेको क्षमताको कारण सोही मेडिकल कलेजबाट निशुल्क काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन (फिजिसियन) मा एमडी गरे। एमडी अध्ययन गर्दागर्दे उनले लोकसेवामार्फत् सरकारी चिकित्सकको रुपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बने। त्यो उनको सरकारी सेवाको पहिलो प्रारम्भ थियो। मेडिकल कलेजको व्यस्तता र केही नयाँ सिकौं भन्ने मान्यता राख्ने डा. अधिकारीको सरकारी क्षेत्रबाट केही गरौं भन्ने भावना पूरा हुन नसक्ने देखेर त्यो जागीरमा त्यति रमाउन सकेनन्। त्यस पछि उनकोे विशिष्टिकृत सेवा पुरानो मेडिकल कलेजबाट शुरु भयो। एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उनकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलो पल्ट मृगौलाको डायलायसिस सेवा शुरु भएको थियो। त्यो सेवा सर्वसाधारण नागरिकको पहुँचमा पुर्‍याउने उनको ध्येय थियो। काम त्यहाँ गरिरहँदा पनि कसरी त्यो सेवा सरकारी अस्पतालमा दिन सकिन्छ भन्ने उनमा हुटहुटी भइरहन्थ्यो।

सरकारी जागीर छोडेपनि आम नागरिकको स्वास्थ्यप्रति उनी सधै चिन्तित हुन्थे। त्यसैले उनमा जागृत गरिब र निमुखा विरामीको सेवामा समर्पण गर्ने चाहनाले अस्पताल विकास समितिकै माध्यमबाट भरतपुर अस्पतालमा प्रवेश गरे। २०६७ साल देखिको निरन्तरता र सोही अस्पतालको अध्यक्ष जस्तो गरिमामय नियुक्ति पछि उनले चितवनको स्वास्थ्य क्षेत्रमा धेरै र उल्लेख्य काम गर्ने अवसर प्राप्त गरे। वितेको ३० महिना भरतपुर अस्पतालको अध्यक्षसमेत बने। यो अवसरमा उनले भरतपुर अस्पतालको भौतिक निर्माण, सेवाको गुणस्तरमा धेरै उल्लेख्य काम गरे। त्यसो त अस्पतालमा जनरल फिजिसयिनको रुपमा काम गर्दाको १० वर्षमा उनले नेपाल सरकारका विभिन्न निकायसंग समन्वय गरी स्वास्थ्य क्षेत्रका थुपै्र काममा अग्रसरता लिएका थिए। भरतपुरलाई मेडिकल सिटीका रुपमा बिकास गर्नुपर्छ भन्ने मान्यता राख्ने डा. अधिकारी राजनीतितर्फ पाइला अगाडि सार्दा पनि उक्त अभियानसंगै भरतपुर अस्पताललाई गरिब र जेहन्दार विद्यार्थीको रोजाई स्थलको रुपमा सरकारी मेडिकल कलेज बनाउन तल्लीन छन्।

सामाजिक सेवा:

२०७३ सालदेखि नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष समेतको भूमिका निर्वाह गरिसकेका डा. अधिकारी सरकारको स्वास्थ्यसंग सम्वन्धित नीति तर्जुमा निमार्णमा सामेल भए। डा.अधिकारीलाई २०७६ चैत १८ गते नेपाल सरकारले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको थियो। यो पद उनले निर्वाचनमा होमिदैगर्दा राजीनामा दिनुका हुन्। उनी अध्यक्ष हुँदा भरतपुर अस्पतालमा भौतिक निमार्ण, विशिष्टिकृत सेवा र विस्तारका थुप्रै काम भएका छन्। अस्पतालको आकस्मिक भवन निमार्ण र संचालन, अन्य बन्दै गरेका व्लकहरुको पूर्णता र संचालन, कर्मचारीको दरबन्दी वृृद्धि र व्यवस्थापन, बिमा, विपन्न सेवालगायतका कामको प्रभावकारिता भएका छन्। आइसियू बेडको वृृद्धि आदि लगायतका उल्लेखनीय कामहरु भएका छन् भने अहिले पनि भौतिक पूर्वाधारका कामहरु जारी छन्। अस्पतालको अध्यक्ष भए पनि डा. अधिकारीले विरामी हेर्ने काम कहिल्यै छोडेनन्। भरतपुरमै रहेको पुष्पान्जली अस्पतालमा उनी अझै पनि दैनिक दर्जनौं बिरामीलाई सहज सेवा दिइरहेका छन्।

डा.अधिकारीमा आफ्नो चिकित्सकिय सेवासंगै देशविदेशका धेरै अनुभव छन्। उनले ३९ देश भ्रमण गरि त्यहाँको स्वास्थ्य क्षेत्रको बारेमा केही बुझ्ने र सोही अनुसार नेपालमा प्रयोग गर्ने दृढ इच्छा राखेका छन्। कोरोना महामारी र यसबाट बचाउने विषयमा पनि उनको उल्लेख्य योगदान रह्यो। नेपालमै पहिलो पल्ट उनकै अगुवाईमा चितवनमा कोभिड भ्याक्सिनको अनुसन्धान भइरहेको छ। हकी स्वभावका डा. अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी विचारको थिए। २०५२ सालमा नेकपा (मशाल)को सदस्यता लिएका डा. अधिकारी हाल नेकपा (माओवादी केन्द्र) निकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रिय सचिव हुन्। जहाँ काम त्यहाँ सधै अव्वल नै नतिजा दिनुपर्छ भन्ने मान्यता राख्ने डा. अधिकारी आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट पाँच दलीय गठबन्धनको साझा उमेद्वारका रुपमा चितवन क्षेत्र नं ३ मा मैदानमा छन्।संयुक्त परिवारमा रहेका डा. अधिकारीका बुबा, आमा, श्रीमती, एक छोरी र एक छोरा छन्।