Spread the love
  • 316
  •  
  •  
  •  
  •  
    316
    Shares

हल्लाले भीड बढ्ला, सिर्जना र ज्ञान बढ्न सक्दैन : भट्ट (साहित्य सम्वाद)

0

काठमाडौं। पछिल्लो समय साहित्यिक क्षेत्रमा उदाएका सर्जक लोकराज भट्ट कविता गजल तथा कथाजस्ता विधामा कलम चलाउँदै आएका छन्। स्थायी घर डोटी भई हाल उनी काठमाडौंमा पत्रकारिता क्षेत्रमा संलग्न छन्। सानैदेखि साहित्यमा रुचि राख्ने भट्ट स्कूले जीवनमा पनि थुप्रै कविताहरू रचना गरेका थिए ।

उनी सानैदेखि स्कूलका सांस्कृतिक, साहित्यिक र बाल क्लवहरुमा सक्रिय सहभागिता जनाउँथे। उनी गीत गायनमा पनि निकै रुचि राख्दछन्। विषेशगरि उनलाई डेउडा गीतले आकर्षित गर्दछ। उनले अहिलेसम्म ८० कविता, ७ कथा र सयभन्दा बढी गजल रचना गरिसकेका छन्। मन परेकी मास्टर्नी उनको चर्चित कथा हो। उनको ‘भूमरीमा देश’ भन्ने गजल संग्रह नै प्रकाशित छ।

२०६९ मा प्रकाशित ‘भूमरीमा देश’ गजल संग्रहमा ४४ गजल रहेका छन्। उनका ‘जीवनको बास्ना’, ‘पूरानो पाना’, ‘उनी रिसाएकी छिन्’ र ‘आमाको सम्झना’ भन्ने तीन ४ कविता युट्युबमा आइसकेका छन्। सुदुरपश्चिमबाट साहित्य क्षेत्रमा उदाएका एक सशक्त नवप्रतिभा भट्टसँग लोकपाटीका डेस्क प्रमूख मधुरीमा पाण्डेयले गरेको कुराकानी।

तपाईले कहिलेदेखि साहित्य क्षेत्रमा कलम चलाउन शुरु गर्नुभयो ?

सानैदेखि साहित्यप्रति निकै रुचि थियो। रेडियो, टेप रिकर्डमा बज्ने गीतहरु खुबै मन पर्थे। त्यसमा पनि डेउडा गीतले बढी आर्कषित गर्थ्यो। जब स्कूल पढ्दा किताबमा भएका कविता, कथाहरु पढ्न म निकै रुचि देखाउँथे। त्यसपछि मैले पनि जानी नजानी लेख्न थालेँ। बचपनमा लेखेका कुरा अहिले छैनन्। तर, अञ्जानमै लेख्न शुरु गरेको यात्रा रोकिएन ।

यस क्षेत्रमा लाग्न कसबाट प्रभावित हुनुभयो ? के कुराले लेख्ने बाध्य बनायो ?

म जुन समाजमा हुर्किएँ, जुन माहोलमा बाल्यकाल बित्यो, सायद त्यही परिवेशले मलाई बढी प्रभावित बनाएको हुनुपर्छ। थरिथरिका संस्कृति चालचलन र रितिरिवाजहरु धेरै सम्झिन लायक छन्। मेरो बुवा डेउडाका पारखी हुनुहुन्थ्यो। म सानो हुँदा बुवाले खेल्ने देउडा खेलमा सहभागी हुन्थे

गौरामा खेलिने खेलहरुमा पनि बुवाले नेतृत्व गर्नुहुन्थ्यो। बुवालाई कण्ठ थिए, सबै धमारी र अन्य घर गीतहरु, धार्मिक गीतहरु र घरमै महाभारत, रामायण लगाएतका धर्मग्रन्थहरुको वाचन हुन्थ्यो। यी सबै परिवेश पनि मलाई साहित्य क्षेत्रमा लाग्न प्रेरित गर्‍यो।

तपाई कुन विधामा कलम चलाउनुहुन्छ ? अहिलेसम्म कति कृति प्रकाशित छन् ?

म विषेशगरि गद्यशैलीका कविता रचना गर्दछु। कविताका साथसाथै कथा र गजल पनि लेख्ने गर्दछु। मेरो भूमरीमा देश भन्ने गजल संग्रह र मन परेकी मास्टर्नी कथा प्रकाशित भइसकेका छन्। हाल उपन्यास लेख्ने तयारीमा छु। कैलाली बहुमूखी क्याम्पस पढ्दा २०६९ सालमा मैले रहरले गजल संग्रह प्रकाशन गरेको थिएँ।

त्यसपछि निरन्तर लेखनीमा छु। तर, कृति प्रकाशन गरेको छैन। प्रकाशनको तयारीमा थुप्रै कविता छन्। दुई कविता संग्रह नै बन्थे होला, किताबकै स्वरुप दिए त। तर, विविध कारणले प्रकाशन गर्न सकेको छैन। मैले हालसम्म ८० कविता रचना गरिसकेको छु ,जसमध्ये ४ कविता युट्युबमा उपलब्ध छन्।

तपाईको सबैभन्दा बढी रुचाइएको कविता कुन हो ?

मलाई मेरा सबै कविता राम्रै लाग्छन्। चित्त नबुझेको कविता पटकपटक लेख्छु। पछिल्लो समयमा कवितालाई हेर्न मिल्ने बनाउन किन सकिँदैन भनेर केही कविताको भिडियो पनि तयार पारेको छु। प्रयास सफल भएको ठानेको छु। केही अप्रकाशित कविता पनि मन परेका छन्। ‘जिन्दगी र कागज’ शीर्षक दिइएको कविता अलि बढी मनपर्छ। कुनै बेला शीर्षक बदल्नुपर्छ भन्ने झोंक पनि चल्छ।

नेपाली साहित्य क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ ?

म बिलकुल सिकारु हुँ। म आफूलाई कवि तथा साहित्यकार भन्न रुचाउँदिनँ। म साहित्य जगतमा नव प्रतिभा मात्र हुँ। नेपाली साहित्य क्षेत्र अहिले निकै विकसित भइसकेको छ। अनेक संस्कृति, चालचलन, रितिरिवाज, जातीय र भौगोलिक विविधिता, त्यसभित्रको सम्भावना, सुन्दरता लगायत धेरै कुराले नेपाली साहित्य उर्वर छ। नेपाली साहित्यको क्षेत्र धेरै फराकिलो छ।

तपाईको विचारमा कस्ता साहित्यिक कृतिहरुले बजार ओगटेका छन् ?

सबैको इच्छा र चाहना फरक हुन्छन्। तर, अहिले पश्चिमी सभ्यताबाट प्रभावित कृतिहरुले बजार ओगटेको पाइन्छ। पश्चिमी सभ्यताप्रतिको मोह पनि बढ्दै गएको पाइन्छ। अर्को कुरा समाजको यथार्थ पृष्ठभूमिमा आधारित कृतिहरु पनि रुचाउँछन् धेरैले। किनभने यस्ता कृतिहरुले समाजको यथार्थ चित्रण गरेको हुन्छ। बजारको कुरा गर्दा नेपालको अलि भिन्न छ। पहिलो कुरा त कृति बजारमा ल्याउनु युद्ध जित्नुसरह भइदिन्छ।

लेखकले जुन दृष्टिले लेख्छ, प्रकाशकहरु त्यसलाई सहजै स्वीकार्न मान्दैनन्। त्यो एउटा पाटो हो। अर्को कुरा प्रकाशकसम्म पुगेर कृति प्रकाशन भइहाले पनि बजारमा पुस्तक पुगेपछि आलोचक, समालोचकहरु आफ्नो पक्षको हो वा होइन, त्यसको खोजीनीतिमा लाग्छन्। होइन भने कृति कस्तो छ, हेर्नै चाहँदैनन्। लेखनी कस्तो छ, सोच्न चाहँदैनन्। धेरै कम मान्छे छन्, लेखकलाई छोडेर लेखकको सिर्जनालाई महत्व दिने।

साहित्य क्षेत्रमा युवाहरुको त्यति आकर्षण देखिँदैन, आकर्षण बढाउन के गर्नुपर्छ ?

विश्वका धेरै भाषा साहित्य हाम्रो भाषा साहित्यभन्दा विकसित र उन्नत छन्। हामी विकासका हरेका सूचाङ्कमा अरूभन्दा धेरै पछि परेकाले कला साहित्यमा पनि धेरै पछि छौं। त्यसकरण पनि युवाहरुको यसमा आकर्षण पाइँदैन। सामाजिक, आर्थिक र सांस्कृतिक विकासका साथसाथै नेपाली साहित्यको विकासका लागि हामी सबैले लाग्नुपर्दछ। यसका लागि पहिले त सांस्कृतिक नीति, भाषिक नीति र दीर्घकालीन योजना बनाउन जरुरी छ। लेखक र साहित्यकारलाई राज्यबाट प्रोत्साहन र सहयोग हुन पनि जरुरी छ।

अर्को कुरा नेपाली साहित्यमा अध्ययन र साधनाको कमी, लगनशीलता र प्रतिवद्धताको कमी देखिन्छ। कविताका पाठक घट्दै जानु र कविता लेखनबाट वितृष्णा फैलनु आम अहिलेको समस्या हो जस्तो लाग्छ। तर, पनि कविता भनेको क्लिष्ट भाषा र शब्दै शब्दको थुप्रो हो भन्ने मानसिकतामा परिवर्तन ल्याएर समाजमा चल्ने वर्गसङ्घर्षको दौरान सिर्जना भएका पात्र र विम्बलाई टिप्दै प्रतिवद्ध र साधनारत भएमा अवश्य पनि साहित्यप्रति युवाको आर्कषण बढ्ने छ।

अर्को कुरा साहित्य दुईवटा कुराले धेरै प्रभावित बनाइरहेको छ। एउटा हो लेख्ने पक्ष, जो चुपचाप लेख्छ। अर्को एक गुणा लेखेर सयौं गुणा गुट उपगुटको नकारात्मक पाटो समातेर साहित्यको बजार आफ्नो कब्जामा पार्न खोज्छ। आफूलाई मात्रै ब्राण्ड बनाउन चाहन्छ। र, गुट र उपगुटमा विभाजित हुन्छ।

तपाईलाई मन पर्ने साहित्यकार को हुन् ?

नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटा र राष्ट्रकवि माधव घिमिरे मलाई मनपर्ने साहित्यकार हुन्। महाकवि देवकोटाका कविता, आख्यान नाटक र निबन्ध मलाई एकदमै मन पर्छन्। मलाई जीवन र जगतका जीवन्त अनुभूति र सुन्दर भविष्यको सपना बोकेर लेखिएका सबैजसो कविका रचनाहरु मन पर्छन्।

त्यसमा पनि मेरो लेखनीलाई नजिकबाट नियालेर तिमी ठीक लेख्दै छौं भाइ भनेर बोलाएरै सम्झाउने एक जना कवि हेमन्त विवश दाइको त्यो व्यवहारले केही हौसला थपेको थियो। अचेल भने धेरै भयो, भेट हुन सकेको छैन। मैले विद्यालयमा पढ्दै गर्दा प्राप्त साहित्य पढेर प्रेरणा पाएका साहित्यकारहरूमध्ये भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र पारिजात हुन्। उहाँहरु पनि मलाइ एकदमै मन पर्नुहुन्छ।

साहित्य क्षेत्रमा लागेका नवप्रतिभाहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?

हल्लाले केही समय परिचित बनाउला, मान्छेहरुसँग चिनजान होला। तर, साँच्चै आफ्नो कलम र लेखनीबाट आफै सन्तुष्ट हुनुछ भने पहिला पढांै। अग्रज साहित्यकारहरुका कृति पढ्ने बानी बसालौं र आफ्ना रचनाको मूल्याङ्कन गरौं। नेपाली साहित्यलाई माया गरौं।

अन्त्यमा तपाई आफ्ना पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

शुरुमा त मेरा रचना मन पराइदिने र मेरा रचनाको प्रतिक्षामा बस्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु। जतिले मेरा रचनाहरु पढ्नुभएको छ उहाँहरुबाट मैले सकारात्मक प्रतिक्रियाका साथै हौसला पाएको छु। सायद त्यही हौसलाले मैले लेख्ने कुरालाई निरन्तरता दिइरहेको छु। मलाई लेखनीमा कुनै संगठन, कुनै गुट, कुनै ब्राण्डले हौसला दिएको होइन। मलाई जिम्मेवार बन्नुपछर्, लेख्न छोड्नु हुन्न भनेर सामाजिक सञ्जालमा भेटिने परिचित, अपरिचत पाठकहरु नै हुन् र केही साथीहरु पनि छन् ।

कविता मन पराइदिने जमात थोरै मात्रामा बढिरहे पनि सकारात्मक टिप्पणीले निकै उत्साहित बनाउँछ। मेरा श्रव्यदृष्य कविता हेरेर धेरैबाट निरन्तरता दिनुपर्छ भन्ने दवाव आइरहेको छ। त्यसैले म कुनै गुट, कुनै संगठन, कुनै ब्राण्डलाई मनाउनका लागि भन्दा पनि पाठकहरुले दिएको हौसलालाई आत्मसाथ गरेर अगाडि बढिरहेको छु।

Spread the love
  • 316
  •  
  •  
  •  
  •  
    316
    Shares
You might also like
Comments
Loading...