‘राजपा र फाेरमबीच एकता भए राजनीतिमा चमत्कार हुन्छ’

forum-rajapa
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण हुने चर्चा चल्न थालेको छ। तर चर्चा भएपनि त्यो सम्भावना निकै कम रहेको जानकारहरुले बताएका छन् ।

दुवै दलले आआफ्नो तर्फबाट एकीकरणका लागि वार्ता समिति गठन गरेका छन् । तर, हालसम्म कुनै औपचारिक वार्ता सुरु भएको छैन । यसले पनि दुई दलबीच एकीकरण हुनेमा आशङ्का जन्मिएको छ ।

यसैबीच मधेश मामिलाका जानकार तुलानारायण शाहले दुई दलबीच एकीकरण भए राजनीतिमा चमत्कार हुने बताएका छन्। उनले भनेका छन्, ‘यी दुई दलबीच एकीकरण भयो भने नेपाली राजनीतिमा चमत्कार नै हुन्छ ।’ मधेशको राजनीति भावनात्मक सोचबाट भइरहेको बताउँदै शाहले राजनीतिको व्यावहारिक पक्ष हेर्दा एकता हुने सम्भावना धेरै कम रहेको बताए ।

यी दुई दलको विगत १०–१२ वर्षको गतिविधि नियाल्दा सहकार्य र मोर्चाबन्दी हुनसक्छ । तर, एकीकरण नहुन नसक्ने उनको तर्क छ । एकीकरण हुने अहिले कुनै ‘सिजन’ छैन, भने, ‘एकीकरण हुनका लागि ती दलमाथि अहिले कुनै दबाब छैन, न चुनाव भइरहेको छ, न आन्दोलन अनि किन एकीकरण गरोेस् ।’

दुवै दलले आफूलाई राष्ट्रिय पार्टी भने पनि मधेशमा मात्र केन्द्रित छन् । दुवै दलको एजेन्डा, मुद्दा, विचार एउटै छन् । तर, एकीकरण सम्भव देखिएको छैन । यसअघि पनि प्रयास नएको होइन । दुई पार्टीबीच एकीकरणको प्रयास भएको यो तेस्रो पटक हो ।

यी दुबै दलमा व्यक्तिगत रुपले महत्वाकांक्षी नेताहरु भएकाले पनि एकीकरण हुन कठिन रहेको केही नेताहरु बताउँछन्। राजपा नेपालमा छ सदस्यीय अध्यक्षमण्डल छ । दुई वर्षअघि छवटा दल मिलेर राजपा नेपाल बनेको थियो । ती छवटै दलका अध्यक्षहरु रहने गरी अध्यक्षमण्डल बनाएको छ । महाधिवेशनपछि पनि अध्यक्षमण्डल राख्ने कि नराख्ने विषयमा पार्टीभित्र विवाद छ । अध्यक्षमण्डलका सदस्यहरुले अगामी महाधिवेशनपछि पनि अध्यक्षमण्डल रहनुपर्छ भनेर पहल गरिरहेका छन् भने अन्य नेताहरुले अध्यक्षमण्डल हटाउनुपर्ने दबाब दिइरहेका छन् ।

यसैबाट प्रष्ट हुन्छ, नेताहरुमा शीर्ष नेतृत्वमा बस्नका जे पनि गर्न तयार हुने प्रवृत्ति छ। फोरम नेपालमा पनि त्यही छ । विगतदेखि जहाँजहाँ पार्टी एकीकरणको कुरा उठ्छ त्यहाँ फोरम नेपालले आफ्नो नेतृत्व माग गर्छ । अशोक राई नेतृत्व सङ्घीय समाजवादी पार्टी नेपालसँग एकीकरण गर्दा सो पार्टीका अध्यक्ष अशोक राईलाई वरिष्ठ नेता बनाएर उपेन्द्र यादव अध्यक्ष भए । नयाँ शक्ति पार्टीसँग पनि एकीकरणको कुरा हुँदा त्यहाँ फोरम नेपालले आफ्नो नेतृत्वको दाबी गर्यो ।

राजपा नेपालसँग त शुरुदेखि नै फोरम नेपालले एकीकृत पार्टीको नेतृत्व गर्ने भन्दै आएको छ । त्यही भएर नेताहरुमा व्यक्तिगत महत्वकाङ्क्षाका कारण एकता नहुने सम्भावना धेरै रहेको विश्लेषकहरु बताउँछन् । फोरम नेपाल र राजपा नेपालबीच एकीकरण भयो भने अर्को महाधिवेशनका लागि राजपाको छ र फोरम नेपालको एकजना रहने गरी सात सदस्यीय अध्यक्षमण्डल बनाएर अगाडि बढ्ने राजपा नेपालको प्रस्ताव रहेको छ ।

अनौपचारिक छलफलमा फोरम नेपालले त्यसलाई अस्वीकार गरेको छ । फोरम नेपालले दुई पार्टीबीच एकीकरण भयो भने दुवै पार्टीबीच एक–एकजना अध्यक्ष राखेर अध्यक्षमण्डल बनाउने प्रस्ताव गरेको छ । यी कुरामा पनि दुई दलबीच विवाद देखिएको छ ।

दुई दलबीच तीन पटक पत्र अदान प्रदान भए पनि औपचारिक वार्ता भएको छैन । राजपा नेपालले फोरम नेपाललाई सरकारबाट बाहिरिनुपर्ने पहिलो सर्त राखेको छ भने फोरम नेपालले पार्टी एकीकरण पछि एकीकृत पार्टीको निर्णय बमोजिमबाट सरकारबाट बाहिरिने वा सरकारमै बस्ने निर्णय लिने पत्रमार्फत राजपा नेपाललाई जानकारी गराएको छ ।

वार्ता समितिका सदस्य एवं राजपा नेपालका महासचिव केशव झा भन्छन्, ‘एकीकरणकै लागि यत्रो प्रयास भइरहेको छ, एकीकरण हुनु आवश्यक छ, मधेशी जनताको माग हो, यी कुरालाई दुवै पार्टीले बुझ्नुपर्छ ।’ वार्ता समिति गठन भए पनि औपचारिक वार्ता नभएको भन्दै उनले अनौपचारिक रूपमा मात्र नेताहरुको बीचमा छलफल भइरहेको बताए ।

फोरमको तर्फबाट वार्ता समितिको संयोजक पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् भने राजपा नेपालको तर्फबाट वार्ता समितिको संयोजक पार्टी अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो रहेका छन् ।