भारतमा भोलिदेखि मतदान : माेदीले जित्ने सम्भावना कति ?

india election
लाेकपाटी न्यूज

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुने भएको छ । निर्वाचनको परिणामका विषयमा अनेक अनुमान र चर्चा जारी पनि भइरहेको छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले अहिले सञ्चार माध्यममा समेत निकै चर्चा भएको छ ।

यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामहरुको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचाहरु के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोपहरु के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन्। उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन्।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले सरकार निर्माण गर्नेगरी सुविधाजनक बहुमत आउँछ कि आउँदैन ? त्यस दलको मात्र बहुमत प्राप्त हुन नसके पनि भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्छ या सक्दैन ? यो दुवै अवस्था रहेमा सत्ता समीकरण कस्तो होला ? यिनै प्रश्नको वरिपरि जारी बहसमा चर्चाको केन्द्रमा भाजपा छ। अनि त्यस केन्द्रको पनि भित्री भागमा छन् प्रधानमन्त्री मोदी। अनि कतिपयले भाजपा एक्लैले बहुमत प्राप्त गरेमा या राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले बहुमत प्राप्त गरेमा प्रधानमन्त्रीमा मोदी नै पक्का भनेका छन् भने केहीले यसप्रति केही संशय पनि राखेका छन्।

तर विपक्षी कङ्ग्रेस पनि अरु विपक्षी दलहरुको एकीकृत प्रगतिशील गठबन्धन (युपिए) का साथ निर्वाचनमा होमिएको छ। उसले सरकार निर्माण गर्ने अवस्था आएमा प्रधानमन्त्रीका उम्मेदवार को हुन् भन्ने खोजी पनि व्यापकै छ। उक्त विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सारिएका तीनजना नेतामा राहुल गान्धी, ममता बनर्जी र मायावती रहेका छन्। तीमध्ये एकजनामा को भन्ने चाहिँ यकिन भएको छैन।

तर, पहिलेको तुलनामा अहिले कङ्ग्रेसको गठबन्धन भने निर्वाचनको मुखमा आएर बलियो भएको महसुस गर्न थालिएको छ। कतिपय राष्ट्रिय स्तरका कलाकारहरु कङ्ग्रेसबाट निर्वाचन उठेका र छुवाछुत, जातीयता र हिन्दू कट्टरतासम्बन्धी प्रधानमन्त्री मोदी र भाजपाका कतिपय विवादास्पद अभिव्यक्तिहरुका कारण पनि कङ्ग्रेसका पक्षमा यो माहौल बन्न पुगेको जस्तो देखिएको छ। तर पनि अहिलेको निर्वाचन दलका आफ्ना मूल एजेण्डाहरु भन्दा पनि दलगत र व्यक्तिगत गालीगलौजमा ओर्लिएको देखिएको छ।

भारतीय संसदको तल्लो सभा, लोकसभाका ५४५ मध्ये ५४३ सांसदका लागि हुने यस निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार यस पटकमात्र यहाँ करिब डेढ करोड नयाँ मतदाता थपिएका छन्। नेपाली मिति अनुसार भारतमा यही चैत २८ गतेदेखि शुरु हुने यस निर्वाचनको जेठ ५ गतेसम्म मतदान नै जारी रहन्छ। यो निर्वाचन सात चरणमा हुन लागेको छ ।

आगामी जेठ ९ गते ९मे २३० मा निर्वाचनको परिणाम घोषणा हुने कार्यक्रम छ । सात चरणमा सम्पन्न हुन लागेको यस निर्वाचनको करिब ६ हप्ताको कार्यतालिका निर्वाचन आयोगले पहिल्यै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्