नौबुँदे मागसहित राजपाले गर्याे आन्दोलनकाे घोषणा

rajapa
लाेकपाटी न्यूज

जनकपुरधाम, २७ चैत । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ९ सूत्रीय मागसहित आन्दोलनको घोषणा गरेको छ ।

राजपाले आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला समितिहरुमा पत्राचारसमेत गरेको छ । संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीलगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्व नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्नुपर्ने, लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक तथा लोकतन्त्रविरोधी गतिविधि बन्द हुनुपर्ने राजपाको माग रहेको छ ।

राजपा अध्यक्ष मण्डलीका संयोजक शरदसिंह भण्डारीले जिल्लाहरुमा गरेको पत्रमा चैत २९ गते प्रदर्शन गर्न भनिएको छ । प्रदर्शनका दिन प्रदर्शन र कोणसभा किन ? भन्ने शीर्षकमा मागहरु लेखी पर्चा छपाएर बितरण गर्न समेत निर्देशन दिइएको छ ।