जस्तापाता उपहार पाएपछि स्थानीयमा छायाे खुशी

jastapata
लाेकपाटी न्यूज

पाल्पा, २९ चैत । पाल्पामा खरको छानो भएका घरलाई जस्तापाता प्रदान गरिएको छ । जस्तापाता उपहार पाएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी छाएको छ ।

तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । वडाले आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।

खरका छाना रहेका नागरिकलाई वर्षेनी छाउनुपर्ने समस्या हटेको छ । लामीचौतारीका कर्णबहादुर गुरुङ जस्तापाता पाएपछि वर्षेनी घर छाउनुपर्ने पिरलो हटेकामा खुशी छन् । खर, डाँडाभाटा, दक्ष कामदारको अभाव, खर्च बढी हुने, वर्षायाममा पानी चुहिने समस्या हट्ने हुँदा उनमा खुशी छाएको हो । खर डाँडाभाटाको समस्या, दैनिक ज्याला ६ सयभन्दा बढी र कामदारको अभावमा वर्षायाममा पानी छिरेर बस्न नसकिने बाध्यताबाट मुक्ति मिलेको छ ।

लामीचौतारीका कर्णबहादुर गुरुङ, कुसुमडाँडाका दलबहादुर घर्ती, जेदे सार्की, इन्दबहादुर सार्की, रणवीर सोमै, राधा न्यौपाने, धनबहादुर रोका, मनवीर छहरीलगायतका घरपरिवारलाई कर्कट जस्तापाता हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्रदेश नं ५ का प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, वडाध्यक्ष श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरे।

गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिकाभित्रका प्रत्येक वडाका ६ घरपरिवारका खरका छाना विस्थापित गरी कर्कटपाता लगाउने योजना रहेको बताए । चालू आर्थिक वर्षमा २० लाख लगानीमा ४२ खरका छाना रहेका घरमा जस्तापाता सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

गाउँपालिकाको वडा नं १ मा १ सय र २ मा ४० घरमा खरका छाना छन् । गाउँपालिका रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको छ । यो गाउँपालिकामा तीन हजार ९ सय ८८ घरधुरी छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्