पाँच वर्षीय बालिकामा रक्तक्यान्सर, उपचारमा सहयोग गर्न परिवारको आग्रह

usha kc cancer rogi
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । रक्तक्यान्सरबाट पीडित बालिका उर्वशी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भइसकेको र आफूहरुसँग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

हाल कान्ति बाल अस्पतालमा अंकोलोजी विभागमा उपचार गराइरहेकी बालिकाको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराइन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनुपर्ने भएका कारण आफूहरु खर्च धान्न नसक्ने अवस्थामा आइपुगेको आफन्तको पीँडा छ ।

पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाइ रहेको भन्दै उनकी आमाले दुःखेसो पोखिन् । ईमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै कारण पढाइ बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा बताइन्।

छोरीलाई बचाउने इच्छा हुँदाहुँदै पनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पूर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताइन् । अहिलेसम्म बालिकालाई दुईपटक किमो दिइसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाइन् । विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् । अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेपनि ६० हजार मात्र संकलन हुन सकेको परिवारको भनाइ छ ।

पीडित बालिकाको उपचारमा सहयोग गर्नको लागि उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर D807010001095 मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरिदिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाइल नम्बर 9866401358, 9851253216 मा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्नेपनि परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्