सुशासन कायममा अनवरत लाग्छु : सांसद हरिजन

ramlakhan
लाेकपाटी न्यूज

काठमाडौं, ०३ वैशाख । राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले सुशासन स्थापनाका लागि अनवरत रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृह जिल्ला पश्चिम नवलपरासीको परासीमा आफ्नो जिल्ला सम्पर्क कार्यालय उद्घाटन गर्दै सांसद हरिजनले उक्त कुरा बताएका हुन्।

स्थानीय सरकार बनिसकेको अवस्थामा अहिले पनि विकासका योजनाहरु असारमै गएर सम्पन्न गर्ने र एकै महिनामा अर्बाैं रुपैँयाको भुक्तानी गर्ने प्रवृत्तिको अन्त्य नहुनुमा अनियमितता जोडिएको स्पष्ट हुने उनको भनाइ थियो। उनले आफ्नो कार्यकालमा जनताले महसुस गर्ने गरी भूमिका निभाउने पनि बताए।

नेकपाका नेतसमेत रहेका राष्ट्रिय सभा सांसद हरिजनले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई साकार पार्न सरकारले किसान, विपन्न समुदाय, यूवा तथा पिछडीएका समुदायलाई लक्षित गरी धेरै सहुलियतका कार्यक्रमहरु ल्याए पनि ती कार्यक्रमबारे अनविज्ञ हुँदा लक्षित समुदायको पहुँच नपुगेको बताए। अब आफूले त्यस्ता कार्यक्रममा लक्षित समुदायको पहुँच बढाउदैँ ती अधिकार उपभोग गर्ने वातावरण बनाउने उनले बताए।

सांसद हरिजनले सम्पर्क कार्यालयमार्फत जनताका गुनासो सुन्ने, सरकारका कार्यक्रमको प्रचार गर्ने, सरकार र सदनलाई ध्यानकर्षण गराउनुपर्ने कुराहरुको सुझाव लिने बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख शिवशंकर रायले स्थानीय तहहरुमा अझै पनि कर्मचारीहरुको अभाव हुँदा सहज सेवा पाउने अवस्था नभएको भन्दै त्यसतर्फ सरोकारवालालाई ध्यानाकर्षण गराए।

कार्यक्रममा नेकपाका नेता एवं पुस्तकालय तथा अभिलेख विभागका पूर्व केन्द्रीय सदस्य श्याम बस्याल, नेकपाका नेताहरु दिपेन्द्र यादव, घनश्याम गुप्ता, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, सांसद हरिजनका प्रेस सल्लाहकार बेचु गौड, नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन पौडेल, रामग्राम–७ का वडाअध्यक्ष शिवशंकर हरिजन लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।