नेकपाको एकता : आज शीर्ष नेताहरुबीच निर्णायक छलफल

लाेकपाटी न्यूज

काठमाडौं, ७ बैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन शीर्ष नेताबीच अन्तिम छलफल अघि बढेको छ।

लामो समयको अनिश्चय चिर्ने उद्देश्यका साथ शीर्ष नेता एकतालाई अन्तिम रूप दिने कसरतमा लागेका हुन्। सोही कसरतअनुसार शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र शीर्ष नेता माधवकुमार नेपालबीच एकता टुंगो लगाउन निर्णायक छलफल हुने नेकपाले जनाएको छ।

एकता टुंगो लगाउन शुक्रबार पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएको हो। छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्व टुंगो लगानुपर्ने सुझाव दिएका छन्।

ओली र नेपालबीच बिहीबारसमेत सोही विषयमा छलफल भएको थियो। यसअघि वरिष्ठ नेता झलनाथ खनालसहित सचिवालय सदस्यहरू वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव बिष्णु पौडेलबीचमा एकता टुंगो लगाउने विषयमा छलफल भएको थियो।

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने गरी छलफल भइरहेको नेकपाका नेताहरूले बताएका छन्। नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ। घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन्। ७७ जिल्ला कमिटिमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताबीच भए पनि नेतृत्वको विषय अझै टुंगो लाग्न सकेको छैन।

नेतृत्वको टुंगो लगाउने विधि, प्रक्रिया एवं मापदण्डमा केन्द्रित भई शीर्ष नेताबीच छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ। वरिष्ठ नेता नेपालले पार्टीमा जिम्मेवारी चयनमा एकलौटी गर्न खोजेको भन्दै निरन्तर असन्तुष्टि जनाउँदै आइरहेका छन्। उनले कमिटीको एकता कमिटी–कमिटीको हुनुपर्ने र त्यसका लागि निश्चित विधि बनाएर जानुपर्ने पक्षमा अडान राख्दै आइरहेका छन्।

तर, प्रधानमन्त्री ओली एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकाले विगत कमिटीमा रहेका मात्रै भनेर अल्झिन नहुने भन्दै सबै नेताले आआफ्ना अडान छोडनुपर्ने अडानमा छन्। ९ वैशाखभित्रै एकता प्रक्रिया टुंग्याउने तयारीसाथ नै अध्यक्षद्वयले साताव्यापी चीन भ्रमणमा रहेका महासचिव पौडेललाई पनि भ्रमण छोट्याई काठमाडौं फर्किन निर्देशन गरेका थिए । शनिबार मात्रै स्वदेश फर्किने कार्यतालिका रहेका पौडेल अध्यक्षद्वयको निर्देशनपछि बिहीबार नै स्वदेश फर्किएका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले सबै कमिटी टुंगो लाग्ने गरी शीर्ष नेता आन्तरिक छलफलमा जुटेको बताए। शीर्ष नेतृत्वबीच आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले अब ढिलोमा ९ वैशाखभित्र एकता टुंगो लाग्ने बताए। ‘ शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमै हुनुहुन्छ, अन्तिम चरणको छलफल चलिरहेको छ’ पौडेलले भने, ‘ढिलोमा ९ वैशाखभित्र टुंगो लगाएर घोषणा हुन्छ।’

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो। घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्र एकता टुंगो लगाउने उद्घोष गरेका थिए। तर ११ महिना पुग्दासमेत अहिलेसम्म एकताको टुंगो लाग्न सकेको छैन।