Spread the love
  • 169
  •  
  •  
  •  
  •  
    169
    Shares

समानान्तर प्रलेसको कल्पना गर्न सकिँदैन : अध्यक्ष प्रा.डा. गिरी (अन्तर्वार्ता)

0

नेपालका वामपन्थी स्रष्टा र संस्कृतिकर्मीहरुको साझा थलो प्रगतिशील लेखक सङ्घको एघारौं राष्ट्रिय सम्मेलन चैत्र २१–२३ मा काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनले प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। सम्मेलनपछि बसेको सङ्घको बैठकले केही महत्वपूर्ण निर्णयसमेत गरेको छ। तर, देशमा वामपन्थीहरुको बाहुल्यता रहेकै परिस्थितिमा प्रलेसबाट एउटा समूह बाहिरिएको छ।

नेपालको कम्युनिष्ट आन्दोलनमा चल्ने वैचारिक बहसले प्रलेसलाई पनि प्रभावित पार्दै आएको छ। देशका सबै कम्युनिष्ट घटकहरुले समाजवादमा जाने सङ्कल्प गरे पनि समाजवादको मोडेल र सङ्घर्षको चरित्रबारे ठूलै अन्तर रहँदै आएको छ। यही अन्तरका कारण हिंसापूर्ण क्रान्तिका बलमा समाजवादको वकालत गर्ने स्रष्टाहरु प्रलेसबाट अलग्गिएका छन्।

प्रलेसको सम्मेलनले गरेका मूख्य निर्णयहरु के–के छन्, नेपालको प्रगतिवादी साहित्यिक, सांस्कृतिक आन्दोलनको कार्यदिशा कस्तो हुने, सांस्कृतिक रुपान्तरणको क्षेत्र किन चुनौतिपूर्ण बन्दैछ ? यसको पेरिफेरिमा रहेर प्रगतिशील लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसँग लोकपाटीका डेस्क प्रमूख मधुरीमा पाण्डेयले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं–सम्पादक।

प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौं राष्ट्रिय सम्मेलन भर्खरै सम्पन्न भएको छ। यहाँको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति पनि बनेको छ। अनुभूतिका दृष्टिले राष्ट्रिय सम्मेलन कस्तो रह्यो ? संक्षिप्तमा बताइदिनु हुन्छ कि ?

प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन भर्खरै सम्पन्न भयो। पत्रपत्रिकामा पनि यहाँहरुले देख्नुभएकै छ। त्यसमा देशका विभिन्न भागहरु तथा ५८ जिल्लाबाट प्रतिनिधित्व रह्यो। र, विभिन्न साँस्कृतिक संगठनसँग सम्वद्ध लेखकहरु त्यसमा प्रतिनिधिका रुपमा आउनुभयो। पर्यवेक्षकका रुपमा रहनुभयो। ललितपरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रलेसको सम्मेलन सम्पन्न भयो। अत्यन्त उत्साहजनक र भव्यतापूर्वक सम्मेलन सम्पन्न भयो भन्ने म ठान्दछु।

सम्मेलनले गरेका मूख्य निर्णयहरु के–के हुन् ? वैचारिक, नीतिगत र सङ्गठनात्मक दृष्टिले एघारौं सम्मेलनको समीक्षा कसरी गर्नुहुन्छ ?

वैचारिक कुराहरु त प्रलेसको विधानबाटै स्पष्ट छ। जस्तै सामन्तवाद, साम्राज्यवादको विरोध गर्दै आएको छ। यसले नेपाली समाजको रुपान्तरणका सन्दर्भमा महत्वपूर्ण उद्धेश्यहरु राखेको छ। ती चीजहरु छँदैछन्, त्यसका अतिरिक्त अहिले प्रादेशिक संगठनहरु निर्माण भएका छन्। जिल्ला शाखा त पहिलेदेखि नै थिए। प्रदेश स्तरमा पनि शाखा समितिहरु निर्माण भएका छन्। यो सम्मेलनले खासगरि वैचारिक प्रतिवद्धतामा विशेष जोड दिएको छ। सम्मेलनले विचारले प्रतिवद्ध लेखकहरुको रुपमा यो संगठन रहनुपर्छ भन्ने निष्कर्ष निकालेको छ।

त्यसका अतिरिक्त संगठनको जुन अब बिस्तार गर्ने कुरा छ, यसलाई बिस्तार गरेर ७७ जिल्लामा कसरी बढाएर लैजाने र संगठनका हिसाबले मजबुत बनाउने, त्यसपछि हाम्रो प्रगतिशील विचारधाराका विभिन्न कार्यक्रमलाई प्रदेश र स्थानीय स्तरमा सञ्चालन गरेर स्रष्टाहरुमा वैचारिक विकास गराउने भन्नेमा केन्द्रित रह्यो। त्यसका माध्यमबाट समाजलाई परिवर्तन गर्ने, मुलूकको समादवादउन्मूख नीतिलाई साहित्यका माध्यमबाट, लेखनका माध्यमबाट, वाङ्मयका विभिन्न क्षेत्रका लेखनका माध्यमबाट यसलाई अघि बढाउने भन्नेबारे महत्वपूर्ण छलफलहरु भएका छन्। अहिले ५८ जिल्लामा यसको संगठन छ। ५४ जिल्लामा जिल्ला शाखाहरु बनेका छन्, ४ जिल्लामा तदर्थ समिति छन्। अब हाम्रो कार्यकालमा सबै जिल्लामा पुग्ने प्रयत्न गरिरहेका छौँ।

सम्मेलनपछि केन्द्रीय समितिको बैठक पनि सम्पन्न भइसकेको छ, बैठकका निर्णयले प्रलेसलाई गति दिन सक्ला ?

सम्मेलन लगत्तै सम्मेलन भएकै दिन केन्द्रीय समितिसहितको राष्ट्रिय परिषदको बैठक हो त्यो। राष्ट्रिय परिषदको बैठकले सामान्य दुई निर्णय मात्र गर्‍यो । एउटा, सम्मेलनको सफलताका लागि सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन र अर्को आउने जेठ महिनामा केन्द्रीय समितिको बैठक बस्ने निर्णय।

केन्द्रीय समितिको बैठक आगामी जेठ ११ गते बस्दैछौं। बैठकले ठोस योजना बनाएर अघि बढ्ने निर्णय गर्नेछ। सचिवालयमा पनि प्रदेश स्तरबाट आउने प्रतिनीधिहरु समावेश गर्नेबारे छलफलको प्रक्रियामा छौं। त्यसका लागि कार्यालयको बैठक बस्ने तयारी गरिहेका छौं। हाम्रो सङ्घले योभन्दा अघि इतिहास लेखनको काम पनि गरेको छ। त्यसलाई प्रकाशन गर्नका लागि पनि अगाडि बढिरहेका छौं।

देशमा वामपन्थी सरकार छ। प्रलेस आफैमा वाम विचारप्रति प्रतिवद्ध स्रष्टा, सर्जकहरुको प्रगतिशील थलो हो। तर, वाम सरकार भएकै बेला प्रलेसमा विभाजन आयो। तपाईहरुलाई आफू चुकेजस्तो लाग्दैन ?

प्रलेसको जीवनमा विभिन्न उतारचढावहरु आउँछन् र आइरहेका पनि छन्। यो अहिले मात्र आएको होइन। विभिन्न विचार बोक्ने साँस्कृतिक संगठनहरुको यो साझा मोर्चा हो । विभिन्न विचारहरु बोकेका संगठनहरुको मोर्चा भएको हुनाले कहिलेकाहीँ यस्तो विचारमा अन्तर आउनु स्वाभाविक हो। तर, प्रलेस मूल रुपमै रहनेछ। केही केही प्रलेसमै योगदान गरेका साथीहरु बाहिरिनुभयो। छलफलमा कति कुराहरु नमिलेका पनि होलान्। उहाँहरुसँग आफ्नै किसिमको विचार पनि होलान् र बाहिरिनुभयो त्यो स्वभाविक नै हो।

उहाँहरुले प्रलेसभन्दा बाहिर रहेर पनि कुनै न कुनै विचारधारात्मक आन्दोलनलाई अगाडि बढाउनुहोला। त्यसले पनि हाम्रो यो समग्र आन्दोलनलाई सहयोग पुर्‍याउँछ। यो संगठनमा आवद्ध नभएका लेखकहरु पनि आफ्नै किसिमको आन्दोलनमा हुनुहुन्छ। उहाँहरुले व्यक्तिगत रुपमा पनि त लेखेर मद्दत पुर्‍याइरहनुभएको छ। तसर्थ, संगठनमा आबद्ध नहुँदैमा उसले सांस्कृतिक आन्दोलनमा योगदान नगर्ने भन्ने त हुँदैन नि ! संगठनभन्दा बाहिर रहेर पनि विभिन्न लेखकहरुले मार्क्सवादी विचार वा चिन्तनलाई अगाडि बढाइरहेका छन्। उहाँहरुले गरेको कामलाई हामी प्रलेसकै पूँजी ठान्छौं।

प्रलेसबाट विभाजित खेमा प्रसिद्ध लेखक, स्रष्टाहरु छन्। उनीहरुलाई फेरि एकतामै ल्याउन तपाईहरुले विशेष निर्णय र अपील गर्ने जनअपेक्षा थियो। तर, त्यसबारे कुनै ठोस निर्णय गरेको देखिएन, किन ?

मैले अघि पनि भने, हाम्रो केन्द्रीय समितिको बैठक बस्न बाँकी नै छ। यस बीचमा पनि हामीले कार्यालयमा छलफल गरिरहेका छौं। समितिको बैठक जेठ ११ गते बस्दैछ। त्यसका लागि हामीले सम्पर्क बढाइरहेका छौं। त्यसो भएर हामी अपील, वक्तव्य गर्नेभन्दा पनि व्यवहारिक किसिमले अगाडि बढिरहेका छौं। उहाँहरुले पनि बहस चलाउँ भनिरहनुभएको छ। त्यसकारण हामी सम्पर्कमै नभएको चाहिँ होइन, हामीले प्रयत्न गरिरहेका छौं।

वक्तव्यको भाषामा नगएको भन्ने गुनासो होला। तर, सम्पर्कमा नै नरहेको, नगरेको भन्ने चाहिँ होइन। अन्तर्वार्ता, रेडियोका माध्यमबाट त मैले अपील गरेको छु। हामी पदाधिकारी बसेर पनि आन्तरिक छलफल चलाइरहेका छौं। सबै जना एकत्रित भएर प्रगतिशील लेखक सङ्घलाई झन् मजबुत र सक्रिय बनाएर लैजाऊँ भन्ने कुरा भइरहेको छ। सबै कुराको छलफल त आउने बैठकमा चलाउने नै छौं।

प्रलेस आफैँमा क्रान्तिकारी र प्रगतिशील विचारका वाहक भए पनि तपाईहरु यथास्थितिवाद, संसदवाद र प्रतिक्रियावादको शिकार भएको आरोप छ नि ? के अहिलेका सत्तारुढ वामपन्थी दल र प्रलेसले बोकेको विचार समाजवाद र साम्यवादकै दिशामा लक्षित छ त ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो। वास्तवमा वामपन्थीहरु जाने बाटो भनेकै त्यही हो। भनेपछि प्रलेसले बोकेको विचार समाजवाद र साम्यवादको दिशातर्फ लक्षित नहुने त कुरै भएन नि ! अहिले हामी पूँजीवादी समाजको चरणमा छौं। सामन्ती सत्ता वा वादको एउटा ठूलो वृक्ष ढलेको छ। कहीँ कतै केही अवशेषहरु रहेका होलान्। हामी तिनलाई समाप्त गर्दै समाजवादको दिशामा अगाडि बढिरहेका छौं। पूँजीवादबाट समाजवादी बाटोमा जाने भन्ने सत्तारुढ वामपन्थी दलको विचार हो र त्यसलाई संविधानमा पनि उल्लेख गरिएको छ।

प्रगतिशील लेखक सङ्घ त ती पार्टीभन्दा माथि हो। किनभने पार्टीले त सरकारमा जाँदा विचार नमिल्ने कतिपयलाई पनि समेटेर अगाडि जानुपर्ने हुन्छ। तर, प्रलेस भनेको त विशुद्ध मार्क्सवादी, प्रगतिवादी चिन्तनलाई अगाडि बढाउने सङ्घ हो। त्यसकारण, यसले त अन्य सोच्ने कुरै हुँदैन। प्रलेसको बारेमा कसैले भ्रम छरेको पनि हुन सक्छ। तर, हामीले त्यस्ता भ्रमका पछि नलागी विचारमा प्रतिबद्ध भएर अगाडि जानुपर्छ।

प्रलेसले वामपन्थी पार्टीहरुलाई वैचारिक, राजनीतिक र सांस्कृतिक रुपले विचलित हुन नदिन खवरदारी गर्नुपर्ने हो, यहाँ त तपाईहरु नै सत्ता र सत्तारुढ पार्टीको रबर स्टाम्प बन्नुभयो। के नेपालको प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलन धर्मराएकै हो त ?

यो प्रश्न कसरी आयो, त्यो नै मलाई आश्चर्य लाग्यो। किनभने हामी कसैको रबर स्टाम्पमा हुने भन्ने कुरै हुँदैन। सत्ताको प्रतिपक्षमा लेखकहरु बस्नुपर्छ भन्ने एउटा चिन्तन आएको छ। त्यो चिन्तन पनि गलत किसिमले आएको छ भन्ने मलाई लाग्छ। लेखकले जनवादी सत्ताको पक्षपोषण गर्छ। सरकारले जनताको पक्षमा काम गरेको छ भने लेखकले त्यसको पक्षपोषण पनि गर्छ। यदि जनभावना विरुद्धका काम गरेको छ भने लेखकले त्यसलाई खबरदारी गर्छ। जस्तोः अस्ति भर्खर्र पनि साहित्यकारहरुको धरपकडका कुरा आउनासाथ हामीले तुरुन्तै वक्तव्य जारी गरेका थियौं। यसो हुँदा हामी सत्ताको रबर स्टाम्प भएको हो त त्यो ? त्यसकारण हामी सरकारका जनहितका कामको प्रशंसा गर्छौं र जनहित विपरित कामप्रति खबरदारी गर्छौं। हामी कसैको रबर स्टाम्प भएर चलेका छैनौं।

प्रलेसकै पदाधिकारीहरु नै कुनै जात विशेष, धर्म विशेष, समुदाय विशेषको पक्षमा उभिने काम भइरहेको छ। संस्कार र संस्कृतिमा भौतिकवादी अभ्यास छैन। जनै लगाउने, टुप्पी पाल्ने, बिहानबिहानै मन्दिरमा पूजाआजा गर्ने, शक्तिपीठमा धाउनेहरुबाट प्रगतिशील संस्कृति र रुपान्तरणको अपेक्षा गर्न सकिएला ? यसलाई बदल्न यहाँहरुसँग के छ कार्ययोजना ?

प्रगतिशील लेखकहरुले प्रगतिशील आचरण गर्नुपर्ने भन्ने हाम्रो आचारसंहिता नै छ। त्यसो भएर हाम्रो संगठनमा रहनुभएका प्रगतिशील कुनै पनि साथीहरुले त्यसो गर्नुभएको होलाजस्तो लाग्दैन। प्रलेस अलिकति खुकुलो संगठन हो। यसमा मार्क्सवादी चिन्तनलाई पूर्णतः अङ्गालेका साथीहरु मात्र छैनन्। हिजोको समाजलाई अलिकति परिवर्तन गरेर लैजाने, रुपान्तरण्को पक्षमा रहेको लेखकहरुको ठूलो समूह पनि छ यहाँ। सबैले मार्क्सवादलाई नै अगाडि राखेर त्यही अनुसार जीवनशैली अङ्गालेका छन् भन्न सकिन्न। तर, नेतृत्वमा भएका साथीहरु, जसले संगठनलाई नेतृत्व गरिरहनु भएको छ, उहाँहरुले मार्क्सवादी चिन्तनलाई अबलम्वन गर्नुभएको छ। उहाँहरुले रुढीवादलाई परास्त गर्ने विचार राख्नुहुन्छ भन्ने मलाई लाग्छ।

Jibendradev Giri-2

रुढीवादी सोच बोकेका पनि होलान् कतिपय त। त्यसका लागि हामीले प्रशिक्षणहरु चलाउने सोंच बनाएका छौं। हाम्रो समाज अहिले पनि कति अवैज्ञानिक छ ? पश्चिमतिर हेनुस् न बोक्सी प्रथा, छाउपडी प्रथा लगायतका कूप्रथाहरु प्रचलित छन्। तिनको रुपान्तरणका लागि लेखकहरुले प्रगतिवादी लेखनबाट सहयोग गर्नुपर्छ। अर्को कुरा अहिलेको समाजलाई साम्राज्यवादले पनि प्रभाव पारेको छ। यसले अहिलेका युवाहरुलाई कम्युनिष्ट होइन, कमाउनिष्टप्रति उन्मुख बनाइरहेको छ।

यसले जसरी हुन्छ कमाउ भन्छ। राम्रो काम गर या नराम्रो तर कमाउ भन्ने एउटा सोचबाट हाम्रा युवालाई यसले रसातालमा पुर्‍याउन लागेको छ। मान्छेलाई यसले निरास, टिठलाग्दो र चिन्तनहीन बनाइरहेको छ। यसका विरुद्ध हामीले अभियान चलाएका छौं। हाम्रो अभियानले त्यस्ता निरीह मानिसहरुमा प्राण भर्छ। प्रविधिका विभिन्न सञ्चार माध्यमहरुले पनि हाम्रा युवाहरुलाई दिग्भ्रमित बनाइराखेको स्थिति छ। त्यसलाई चिर्न पनि हामीले सचेतनामूलक अभियान चलाइरहेका छौं।

कम्युनिष्टहरुमा मार्क्सवादी स्कूलिङ छैन, सांस्कृतिक मूल्य–मान्यतामा ह्रास आइरहेको छ, चाडपर्व र संस्कृतिका पुरातन पक्षको आलोचना भए पनि विकल्प दिन सकेको देखिँदैन। यस्तो अवस्थामा नयाँ पुस्ताले यहाँहरुबाट के सिक्छ ?

तपाईंले ठीक भन्नुभयो। स्कुलिङ हामीले जसरी व्यापक रुपले लैजानुपर्ने हो, त्यसरी लैजान सकेका छैनौं। यस्तो नहुनुमा केही प्राविधिक पक्ष र साधन स्रोतका कुरा पनि छन्। विगतको इतिहासलाई हेर्‍यो भने पनि प्रलेसले विभिन्न ठाउँमा विभिन्न वैचारिक बहस तथा कार्यक्रम गरेको छ। अहिले पनि गरिरहेकै छ। केही नगरेको भन्ने चाहिँ म मान्दिनँ। तर, जति गर्नुपर्ने हो त्यति गर्न नसकेको साँचो हो।

अहिले प्रदेश र स्थानीय तहमा पनि हाम्रो धेरै संगठनहरु भएको हुनाले अब चाहिँ यस्ता वैचारिक कार्यक्रमहरु अगाडि बढाउन सकिने स्थिति छ। खास गरी हामी साहित्यकार भएकाले हामीले ठाडो रुपले भन्दा पनि लेखनको माध्यमबाट मानिसको दिमागलाई कसरी रुपान्तरित गर्ने भन्ने हुन्छ। जस्तो हामीबाट एउटा गतिलो कविता आयो भने त्यसले एकछिनमै मान्छेको सोंच बदल्न सक्छ।

अब संस्कारका बारेमा पनि नवीन चिन्तन अगाडि बढिराखेको छ। जस्तो मृत्यु संस्कारमा पाँच दिन मात्र बार्ने भन्ने कुरा अगाडि बढिराखेको छ। तर, संस्कृति भन्ने कुरा एकाएक बदलिने कुरा होइन, यो बिस्तारै परिवर्तन हुन्छ। त्यसैले यस्ता संस्कृतिका नराम्रा पक्ष समाजलाई बुझाउन बिस्तारै चेतनामूलक अभियानहरु चलाउनुपर्‍यो। त्यस्ता अभियान प्रलेसले पनि चलाउँदै आएको छ। तर, प्रलेसले मात्र रुपान्तरण ल्याउन सक्दैन, यो त भुसको आगोजस्तो सल्किरहेको छ। यसका लागि सबै सचेत वर्गहरुले नै अभियान चलाउनुपर्छ। मार्क्सवादले पनि भनेको छ, पहिला मात्रात्मक परिवर्तन हुन्छ र बिस्तारै गुणात्मक परिवर्तन हुँदै जान्छ। यसर्थ यो पनि एकैपटक परिवर्तन नहोला। तर, बिस्तारै परिवर्तन चाहिँ हुन्छ।

नेपालको कम्युनिष्ट आन्दोलन सुधारवादी धारातिर अग्रसर भएको वामपन्थी बुद्धिजीवीहरुको गुनासो छ। संसदवादनै समाएर समाजवादको यात्रा तय गर्न सकिएला ? नेपालको वामपन्थी आन्दोलनको अबको कार्यदिशा कस्तो हुनुपर्ला ?

हरेक देशका राजनीतिका आ–आफ्नै पाटा छन्। जस्तो रुसमा जुन किसिमको क्रान्ति भयो, चीनमा त्यही किसिमको भएन, भियतनाम, कम्बोडियामा त्यस्तै भएन। त्यसो भएर सबै देशका भिन्नाभिन्नै विशिष्ट विशेषता हुन्छन्। नेपालको पनि आफ्नै विशेषता छ। नेपालमा त्यसरी राजतन्त्र जाला, कसैले सोचेकै थिएन। तर, राजतन्त्र फालेर लोकतन्त्र आयो। कम्युनिष्टहरु पनि यति धेरै मात्रामा सत्तामा पुग्छन् भन्ने थियो त ? तर, पुगे। यसले के देखाउँछ भने कम्युनिष्टहरुले बोकेको विचारधारा सही छ।

यसले दिएका योगदानले समाज अगाडि बढाउन सहयोग गरिरहेको अवस्थामा यसलाई उपलब्धि मान्ने कि नमान्ने ? यी त ठूलो रक्तपातबाट प्राप्त उपलब्धि हुन्। अब यी उपलब्धिलाई संस्थागत गर्ने दिशामा जानुपर्‍यो, अनि प्राप्त गर्न बाँकी उपलब्धि प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्‍यो। वामपन्थी सत्तारुढ दलले मार्क्सवाद नै छोडेका त छैनन्। उनीहरु समाजवादमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् भने त्यसलाई संशोधनवादी धारमा गए भन्न मिल्दैन।

मार्क्सवादी सौन्दर्यशास्त्रबारे पर्याप्त बहस हुन सकेको देखिँदैन। हामीले प्रयोग गर्ने विम्ब, अलङ्कार, उखान, टुक्कामा पनि हिन्दूत्व, पुरुषत्व र शासकत्व झल्किन्छन्। अर्कोतिर, वामपन्थी नेताहरु नै खुलेआम सुन्दरी प्रतियोगिताको पक्षमा उभिन थालेका छन्, यसका विरुद्ध यहाँहरुको सङ्घर्ष कस्तो हुन्छ, समाधान के हुन सक्छ ?

सौन्दर्यशास्त्रका बारेमा हामीले अझै बहस गर्नुपर्छ। मार्क्सवादमा पनि आफ्नै किसिमको सौन्दर्यशास्त्र छ। एकातर्फ कला कलाको लागि हो भन्ने विचार छ, अर्कोतर्फ कला जनताका लागि हो भन्ने चिन्तन छ। हाम्रो चिन्तन भनेको चाहिँ लेखन आम जनताका हितमा हुनुपर्छ भन्ने हो। हामीले मान्छेको गुण र क्षमताका आधारमा सौन्दर्यलाई हेर्छौं भने एकथरि मान्छेहरु त्यस्ता पनि छन्, जसले सौन्दर्य भनेको सुन्दर अनुहार मात्र बुझ्छन्। त्यसको हामी विरोध गर्छौं।
सुन्दरी प्रतियोगिताको प्रसङ्गमा समयक्रममा वाम आन्दोलनमै लागेका केही केही मान्छेहरुले सहयोग गरेका पनि छन्। क्षमताका आधारमा प्रतियोगिता गरिनु त राम्रो कुरा हो, त्यसलाई हामी पनि सपोर्ट गर्छौं। तर, अनुहारकै आधारमा मूल्याङ्कन गरिनु चाहिँ गलत हो भन्ने हाम्रो मान्यता हो।

विम्ब, प्रतीकहरुको प्रयोग गर्दा लेखक तथा साहित्यकारहरु बढी सचेत हुनुपर्छ। किनभने समय परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुन्छ। हिजोका दिनमा जसरी विम्ब, प्रतीकहरु पुरुषत्व र शाषकत्व केन्द्रित हुन्थे, आजको दिनमा त्यसरी नै प्रयोग गर्न नमिल्ने अवस्थाहरु सिर्जना भएको छ। त्यसमा साहित्यकारहरु सचेत हुनुपर्छ। हिजोका चिन्तनहरु, जसले व्यक्तिमा विद्वेष फैलाउने काम गर्छ, हामीले त्यता ध्यान दिनुभन्दा त्यसबाट प्रगतिवादी स्वर खोज्नतिर र नयाँ बिम्वहरु खोज्नतिर लाग्नुपर्छ।

कम्युनिष्ट आन्दोलन र नेता–कार्यकर्तामा पठन र लेखन संस्कृति हराइसकेको छ, अध्ययन र लेखन संस्कृतिको विकास कसरी गर्न सकिएला ?

ठीक भन्नुभयो। वास्तवमा लेखन, पठन संस्कृति घटेर गएको छ। अध्ययन नगरी कुनै पनि कुरा जानिँदैन। प्रगतिशील साथीहरुले पनि मार्क्सवादको मात्र अध्ययन गरेर पुग्दैन, हिजोका पुराना ग्रन्थहरु वेद, उपनिषदको अध्ययन पनि गर्न जरुरी छ। किनभने कुनै कुरा खराब हो भन्न त त्यसको अध्ययन गरेको हुनुपर्छ। जस्तो मस्टो खराब हो भन्न त त्यस्लाई गहिरिएर अध्ययन गरेको हुनुपर्छ नि ! हामीमा गहिरिएर अध्ययन गर्ने बानी हट्दै गएको छ। आजकल पुस्तकहरु स्टोरमै थन्किन थालेको स्थिति पनि छ। यसलाई हटाउन त पठन संस्कृतिको विकास गर्नुपर्‍यो।

पठन संस्कृतिको विकासका लागि लेखकहरुले पनि समाजको जल्दोबल्दो समस्यालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्‍यो। समाजको आवश्यकता र पाठकको रुचिअनुसारको उत्पादन गर्न सक्नुपर्‍यो। अहिले युवादेखि प्रौढसम्मको पुस्ताले फेसबुकजस्ता सामाजिक सञ्जालमा समय खर्चिएको हामी पाउँछौं। त्यसकारण प्रविधिसँगै पठन संस्कृतिलाई कसरी बढाउन सकिन्छ भनेर चिन्तन गर्नुपर्ने बेला आएको छ। अर्को कुरा, हाम्रो नेतृत्वमा पनि त्यस्ता किसिमका चिन्तनहरु आउनुपर्‍यो। मार्क्स, लेनिनकै कुरा गरौं, उहाँहरुले आन्दोलनसँगै त्यत्रा ठेलीका ठेली पुस्तकहरु दिन सक्नुभएको छ। त्यसरी नै हाम्रो नेतृत्वले पनि गरिरहनु भएको छ। तर, अझ बढाउन पर्छ कि जस्तो लाग्छ।

तपाईहरुबाट अलग्गिएर गएका स्रष्टाहरुले समानान्तर प्रलेस बनाउने सम्भावना छ ? सम्वादको प्रक्रिया थाल्नुभएको छ कि, के छ यसबारे पछिल्लो प्रगति ?

समानान्तर प्रलेस त कुनै हालतमा हुँदैन। तर, वैचारिक बहसका लागि कुनै त्यस्ता फोरमहरु, संस्थाहरु हुन सक्छन्। तिनीहरुले पनि मार्क्सवादी चिन्तनलाई नै अगाडि बढाउने काम गरे भने हामीलाई त त्यसले के हानी हुन्छ र ? सकेसम्म हामी सँगै रहने प्रयास गछौं। यही अन्तर्वार्ताबाट पनि उहाँहरुलाई यो अपील गर्छु। तर, पनि बेग्लै तरिकाबाट मार्क्सवादी चिन्तन बोकेर हिँड्नुभयो भने पनि राम्रै हुन्छ। हामीलाई त्यसले कुनै हानी नोक्सानी गर्दैन। सम्वादको प्रक्रियाको कुरा गर्दा हामीले छलफल गरिरहेका छौं। बहस चलाउने कुरा भइरहेको छ।

उहाँहरुसँग भएका नयाँ विचारहरु, जसले प्रगतिवादी विचारधारालाई सहयोग पुग्छ भने सँगै सहकार्य गरेर पनि जान सकिने वातावरण छ। त्यसो भएर सम्मेलनमा केही साथीहरुले भाग लिनु भएन भन्दैमा समानान्तर प्रलेसको कुरा गर्न मिल्दैन। अघि पनि मैले भने २००९ सालदेखि यहाँसम्म आइपुग्दा प्रलेसले लामो जीवन बिताइसकेको छ। यो बीचमा धेरै उतारचढावहरु आएका छन्। साँस्कृतिक संगठनहरु जोडिएका छन्। त्यसकारण कहिलेकाहीं यस्तो हुनु स्वाभाविक पनि हो।

यहाँको कार्यकालका प्रमूख प्राथमिकताबारे केही उल्लेख गरिदिनु हुन्छ कि ?

मेरो पहिलो काम भनेको संगठनमो सुदृढीकरण नै हो। कुनै पनि काम गर्नका लागि संगठन बलियो हुनुपर्छ। अर्को कुरा संगठन बनाएर मात्र हुँदैन, त्यसलाई चलायमान राख्नुपर्छ। त्यसकारण संगठनलाई चलायमान राख्ने काम गर्छु। जिल्ला, प्रदेश र केन्द्रमा नै संगठनका गतिविधिहरुलाई बढाएर लैजान प्रयत्न गर्नेछौं। त्यसका लागि वैचारिक गोष्ठीहरु, सिर्जनशील गोष्ठी, कार्यशाला तथा विचार विमर्शहरु गर्नेछौं। अहिले प्रगतिशील विचारका विरुद्ध खनिने किसिमका विचारहरु पनि आइरहेका छन्। उत्तरआधुनिकतावाद, भूमण्डलीकरणका नाममा नयाँ–नयाँ रुप लिएर यो आन्दोलनलाई निस्तेज पार्ने किसिमका विचारहरु आइरहेका छन्।

अब यसका विरुद्ध कसरी जानुपर्ने हुन्छ, हाम्रा बौद्धिकहरुको क्षमतालाई त्यसका विरुद्ध कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा हामी विचार विमर्श गर्नेछौं। सकेसम्म हामी नेपाली भाषामा मात्र नभएर अन्य भाषामा पनि हाम्रो आन्दोलनमा कसरी लैजाने भन्ने सम्बन्धमा चिन्तन गर्नेछौं। जस्तो थारु भाषामा प्रगतिशील कथा, कविता कसरी लैजाने ? तामाङमा कसरी लैजाने ? भोजपुरीमा कसरी लैजाने भन्ने बारेमा हामीले प्रयत्न गर्नेछौं र ती भाषाका प्रगतिवादी साहित्यलाई कसरी नेपाली भाषामा ल्याएर समग्र रुपमा आन्दोलन बढाउन सकिन्छ भनेर नै हामीले अघिल्लो कार्यकालमा इतिहास लेखनको काम थालेका हौं। अब त्यसलाई पूर्णता दिन प्रयत्न गर्छौं।

अन्त्यमा, हाम्रो लोकपाटी अनलाइनमार्फत् सम्पूर्ण प्रगतिशील स्रष्टा, पाठक र आम जनसमुदायलाई के भन्न चाहनुहुन्छ ?

तपाईहरुकाे लोकप्रिय अनलाइन लोकपाटीका माध्यमबाट म के भन्न चाहन्छु भने, प्रगतिशील लेखक सङ्घ यहाँहरुकै संगठन हो। मुलूककै रुपान्तरणमा विभिन्न हाम्रा अग्रज साहित्यकारदेखि अहिलेका जल्दाबल्दा लेखक, साहित्यकारले सङ्घलाई यहाँसम्म पुर्‍याउनुभएको छ। यो संगठनले यहाँहरुको सदैव न्यानो स्नेह पाइराख्नेछ। हामीले थरिथरिका विचार राख्नेभन्दा पनि प्रगतिशील चिन्तनलाई आत्मसाथ गरेर अगाडि बढौं र मुलूकको रुपान्तरणको लागि योगदान गरौं भन्न चाहन्छु।

Spread the love
  • 169
  •  
  •  
  •  
  •  
    169
    Shares
You might also like
Comments
Loading...