सम्पादक शाहमाथि सांघातिक हमला हुनुको रहस्य

ujwal jung shah
लाेकपाटी न्यूज

काठमाडाैं, ९ वैशाख । कर्पोरेट मासिक पत्रिकाका अध्यक्ष एवम् सम्पादक तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंका सल्लाहकार उज्वलजङ्ग शाह र द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महरामाथि गत बैशाख तीन गते फिल्मी शैलीमा भएको हमला गर्ने उपर कारवाही नभएको पीडित पक्षले गुनासो गरेका छन् ।

काठमाडौं मलमा भएको घोटलाको विषय उठाउँदा नाटकीय रुपमा सांघातिक आक्रमण भएको उनीहरुको दाबी छ । काठमाडौं मलका व्यवसायी प्रकाश कुमार श्रेष्ठसहितको जत्थाले आफूहरुमाथि आक्रमण गरेको फेसियल हाउसकी सञ्चालकसमेत रहेकी सुष्मा महराले बताएकी छन्।

वि.सं २०७६ वैशाख ३ गते मंगलबार बेलुकी ८ बजे उज्वलजङ्ग शाह सिटिसी मलबाट नियमित व्यायाम गरी काठमाडौं मलमा रहेका श्रीमती सुष्मा महरा र छोरालाई घर लैजानका लागि मल पुगेका थिए। फेसियल हाउस बन्द गरी ८ः३०मा काठमाडौं मलको चौथो तलाबाट झर्दै गर्दाको अवस्थामा आफूहरुमाथि योजनाबद्ध रुपमा आक्रमण भएको उनीहरुको दाबी छ ।

काठमाडौं मलमा नै व्यवसाय संचालन गर्ने प्रकाश कुमार श्रेष्ठ, रश्मिला श्रेष्ठ लगायतको ग्याङले उनीहरुमाथि हमला गरेको महराले बताइन् । आरोपितहरुले त्यस दिन मलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै बसेको महराले बताएकी छन् ।

के छ हमलाको भित्री रहस्य ?
ब्राण्ड विवाददेखि आर्थिक अपचलनसम्म, लहरो तान्दा पहरो जाने संकेत द काठमाडौं मल व्यापार संघका अध्यक्ष सुष्मा महराले आक्रमण हुनुका मुख्य दुई कारणका बारेमा खुलासा गरेकी छन् । पहिलो उनले सञ्चालन गरिरहेको फेसियल हाउस र रश्मिलाले सञ्चालनमा ल्याएको रश्मिला फेसियल हाउसको ब्राण्ड विवाद हो ।

प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ रश्मिला फेसियल हाउसका सञ्चालक हुन् । उनीहरु विरुद्ध प्रहरीमा उजुरी गरेकी सुष्मा महराले अब फेरि यस्तो काम नगर्ने सर्तमा कागज गराई प्रहरीले छाडेका थिए । तर, अहिले पनि रश्मिला फेसियल हाउसले सुष्मा महराको फेसियल हाउस यही हो भन्दै ग्राहक ढाट्ने गरेको र धेरै ठाउँमा ओरिजिनल ‘फेसियल हाउस’को सञ्चालक आफू भएको भन्ने गरेकी थिइन् ।

आक्रमण हुनुको अर्को मुख्य कारण काठमाडौं मलको सञ्चालन जिम्मा संचयकोषले लिएपछि काठमाडौं मलका बाहिरी टहरा खाली गर्न तथा मल भित्रका व्यापारीलाई हटाई कर्पोरेट अफिसहरु राख्ने योजना बनाएपछि सुष्मा महराको नेतृत्वमा तदर्थ समिति गठन भयो । द काठमाडौं मल व्यापार संघ अध्यक्ष सुष्मा महराले १५ वर्षको टेन्डर पारी आएका काठमाडौं मलका व्यवसायीलाई बिना क्षतिपूर्ति हटाउन नमिल्ने भन्दै सञ्चय कोषमा समेत धर्ना दिएकी थिइन् । उनले काठमाडौं मलका व्यवसायीको हितमा आन्दोलन गर्दै गर्दा काठमाडौं मलका पुराना ठेकेदार प्रविर शमशेरले द काठमाडौं व्यापार संघमार्फत साढे १२ करोडभन्दा बढी रकम पाउनु पर्ने अदालतको निर्णयसहितको पत्र लिएर आएपछि काठमाडौं मलमा भूकम्प गएको थियो ।

२०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र प्रविर शमशेर राणाबीच सम्झौता भई मलको भाडा द काठमाडौं मल व्यापार संघले कर्मचारी संचय कोषलाई बुझाउने सहमति भएको थियो भने उक्त सहमतिलाई संचय कोषले समेत स्वीकार गरेको थियो । तर, व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाउने सहमति भए पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैयाँ कर्मचारी संचय कोषले रकम नपाएको भनी राणाबिरुद्ध पाटन अदालत मुद्दा परेको थियो । उक्त मुद्धाको फैसला भई राणाले संचय कोषलाई रकम तिर्नुपर्ने भएपछि २०७१ मंसीर ५ देखि २०७२ असोज १२ सम्म द काठमाडौं मल व्यापार संघले बाहल बापत उठाएको तर संचय कोषलाई नदिएको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणाले सुष्मा महराको नाममा पत्र काटेका थिए ।

मलका व्यापारीको समस्या समाधान गर्ने संघको नेतृत्व लिएकी सुष्मा महरालाई प्रविर शमशेरको पत्रले अप्ठारोमा पार्यो र उनले कुनै पनि हालतमा संघको पुरानो हिसाब पारदर्शी हुनुपर्ने अडान कायम गरेपछि संघको तदर्थ समितिमा भएका ९ जनाले सामुहिक राजिनामा दिए । महराले तत्कालीन संघका कोषाध्यक्ष प्रकाश थापाको नेतृत्वमा छानविन समिति बनाएकी थिइन् । थापाले कुनै रिपोर्ट दिएनन् र पुरानो हिसाबको कुरा उठाउन नहुने बताएपछि विवाद बढ्दै जाँदा पुराना समितिका सबैले राजिनामा दिएका थिए ।

अध्यक्ष महराले पुरानो हिसाब नदेखाएसम्म राजिनामा पास नगर्ने अडान राख्दै आइन् । उनले उक्त विवाद जिल्ला प्रशासन कार्यालय, अख्तियार लगायतका सरकारी निकायलाई पनि जानकारी गराएकी थिइन् । यही कारणले आफूहरुमाथि योजनाबद्ध आक्रमण भएको उज्वलजंग शाह र सुष्मा महराले बताएका छन् ।

प्रहरीले घटना दबाउन खोजेको आरोप
जनधनको सुरक्षको जिम्मा लिएको प्रहरीले घटनालाई दबाउन हरदम प्रयास गरेको सुष्मा महराको आरोप छ । सुष्मा महराले भनिन् ‘आक्रमण भएपछि प्रहरीलाई फोन गरी काठमाडौं मलमा बोलाए । प्रहरीले प्रकाश कुमार श्रेष्ठ, रश्मीला श्रेष्ठ लगायतलाई नियन्त्रणमा लियो भने केहीलाई त्यसै छाड्यो । आक्रमणकारीहरुले मादक पद्धार्थ सेवन गरेको भन्दै चेक गर्न डिएसपी वासुदेव खतिवडालाई म्यासेज पठाए । तर, प्रहरीले मापसे चेक त गरेन नै उल्टो प्रकाश कुमार श्रेष्ठ लगायतको संघातिक आक्रमणमा परी घाइते भएका मेरा श्रीमान् उज्वल जंग शाहलाई फरार भन्न भ्याए । उज्वलजंग शाहको घाँटीमा आक्रमण गरी उनले सुनको सिक्री समेत लगेका छन् । तर, सुनको सिक्री लैजाने मान्छे यो हो भन्दा पनि प्रहरीले नसमाएर नेपाल प्रहरीको इज्जत नै फालेको महशुस भैरहेको छ । फलानाले आक्रमण गर्यो भन्दै भिडियो देखाउँदा समेत प्रहरीले उनीहरुलाई नसमाति उल्टो घटना दबाउन खोजेको छ, यो सुनियोजित घटना हो ।’

महराका अनुसार आक्रमण परी उपचार गराइरहेका उज्वलजंग शाहलाई चौकी लैजाने र उक्त घटना मिलाउन प्रहरीले ठूलो प्रयास गर्यो तर सकेन ।

त्यस्तै उपचाररत उज्वलजंग शाहले घटनालाई नाटकियरुपमा प्रस्तुत गर्नको लागि घटना भएको करिब छ घण्टापछि मात्रै प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठलाई किन हस्पिटल भर्ना गरियो भन्दै उनीहरुले प्रहरी गतिविधिमाथि नै शंका व्यक्त गरेका छन् । प्रकाश कुमार श्रेष्ठहरुसंग मिली प्रहरीले नै योजनाबद्ध रुपले घटनालाई दवाउन खोजेको आरोप उनीहरुको छ ।

महराका अनुसार ज्यानै लिने गरी भएको घटनाका आरोपितलाई समाउनुको साटो प्रहरीले उल्टो सामान्यकरण गर्न लागेको छ । उनी भन्छिनु प्रहरी परिसर टेकुमा ज्यान मार्ने उधोग अन्तर्गत जायरी दिन लाग्दा परिसर प्रमुख बसन्त लामाले मानहानीको मुद्धाका लागि जायरी दिन सुझाएको बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्