जनताको जलविद्युत आयोजना निर्माणको कामले पायो तीब्रता

jalabidhut aayojana
लाेकपाटी न्यूज

काठमाडौं,  ११ वैशाख। जनताको जलविद्युतमा परेका आयोजना निर्माणको कामले तिब्रता लिएको छ। आयोजनामा परेका २१ वटा आयोजनामध्ये तीनवटा आयोजनाको ५० प्रतिशत कार्य सम्पादन गरेर सेयर निष्कासन भइसकेको छ।

सेयर निष्कासन भएका कम्पनीमा माथिल्लो त्रिशूली ३ बी रसुवागढी र सान्जेनको सेयर रहेका छन्। सेयर जारी भइसकेका कम्पनीको प्रगति पनि सन्तोषजनक रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

‘प्रधानमन्त्रीको अध्यक्षतामा जनताको जलविद्युत कार्यक्रममा कसरी अगाडि बढ्ने भनेर समिति पनि गठन गरेकाछौं।
सो समितिले कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ। हामीले छनोट गरेका सम्पूर्ण आयोजना जनताको जलविद्युतमा समायोजन हुन्छन् भन्ने छैन।

छनोट भएका आयोजनालाई हामीले विभिन्न मध्यबाट अध्ययन गरिरहेकाछौं। ती आयोजनामा पनि थप घट हुन सक्छन्।’ ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालले बताए। रसुवागढी हाइड्रोपावरको कार्य सम्पादन हालसम्म ७० प्रतिशत सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ।

कार्य सम्पादनका लागि कम्पनीमा हालसम्म ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ लगानी भइसकेको ऊर्जा मन्त्रालयको तथ्यांमा उल्लेख छ। रसुवागढीको विद्युत उत्पादन आगामी फागुन महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ। सान्जेन माथिल्लो जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य पनि समग्रमा ७७ प्रतिशत सम्पन्न भइसकेको छ।

त्यस्तै, सान्जेन जलविद्युत आयोजनाको सिभिल निर्माण ७१ प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ। सान्जेनको विद्युत उत्पादनको लक्ष्य आगामी डेढ वर्षभित्र पूरा गर्ने योजना रहेको छ।

सान्जेन जलविद्युत कम्पनीमा समग्रमा हालसम्म ७५ प्रतिशत २ अर्ब ७२ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी संकलन भइसकेको र अहिले ५४ करोड ७५ लाख रुपैयाँको सेयरसमेत सर्वसाधारणका लागि खुला भई कम्पनी सञ्चालनमा लगानी हुँदैछ। दुवै आयोजनाको अनुमानित लागत भने ७ अर्ब २४ करोड रहेको छ।

आगामी १५ पुस २०७६ भित्र एक युनिटबाट विद्युत उत्पादनको लक्ष्यसहितको तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको जनाइएको छ। तामाकोसीको सेयर पनि चाँडै निष्कासन हुने गरी पाइपलाइनमा रहेको छ।

यस्तै भेरी बबई ४८ मेगावाटको आयोजनामा पनि विस्तृत अध्ययन जारी रहेको र चाँडै नै सेयर जारी गर्ने प्रक्रिया अपनाउने मन्त्रालयले जनाएको छ। कार्यक्रममा समेटिएका आयोजनामा किमाथांका अरुण ४ सय ८२ मेगावाट, अपर अरुण ७२५ मेगावाट, इखुवा ३० मेगावाट, अरुण ३७२ मेगावाट, धुन्सा खोला ७२ मेगावाट, सिम्बुवा खोला ७० मेगावाट, तामाकोसी ९९६ मेगावाट, त्रिशूली ३ बी ३७ मेगावाट, भेरी बबई डाइभर्सन ४८ मेगावाट, फुकोट कर्णाली ४९२ मेगावाट, जगदुल्ला ९२ मेगावाट, गदुल्ला ६५ मेगावाट, चैनपुर सेती २१० मेगावाट, सेती नदी १६३ मेगावाट, अपर सेती ५० मेगावाटका आयोजना समावेश भएका छन्।

साथै हालै मात्र रसुवागढी हाइड्रोपावर १ सय ११ मेगावाट, सान्जेन माथिल्लो १४ दशमलव ८ मेगावाट, सान्जेन जलविद्युत ४२ दशमलव ५ मेगावाटका आयोजना थप गरिएका हुन्। यी आयोजनामा सेयर जारी गर्दा ५० प्रतिशत काम सम्पन्न भएपछि मात्रै १०० प्रतिशत रकम लिन पाउने व्यवस्था सरकारले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्