Spread the love
  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

कोठीमा बेचिएर पनि अदालतमा मुद्दा हार्ने गरेका छन् : निर्देशक भट्टराई (अन्तर्वार्ता)

0

गोर्खा जिल्लामा जन्मिएका इन्द्रराज भट्टराई एक दशकदेखि मानव बेचबिखन र लैङ्गिक हिंसाको विरुद्धमा काम गर्दै आएका छन्। उनी विगत ४ वर्षदेखि आफन्त नेपाल (के.आई.एन नेपाल) को कार्यक्रम निर्देशक भएर काम गरिरहेका छन्। सन् २००८ मा स्थापित भएको आफन्त नेपाल स्थापना भएको १२ वर्ष पूरा भएको छ।

मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्य तथा नियन्त्रण गर्दै मानव बेचबिखन मुक्त समाज निर्माणको परिकल्पनासहित वि.सं २०६४ सालमा आफन्त नेपालको स्थापना भएको हो। भारतसँग सीमा नाका जोडिएका जिल्लाहरुमा निगरानी केन्द्रहरु राखी मानव बेचबिखन तथा ओसारपसार रोक्ने कार्यसँगै पुनस्र्थापना गृह, समुदाय परिचालन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विशेषतः उनले नेपाली समाजमा देखा परेको पहिला भनिने चेलीबेटी बेचबिखन र अहिलेको मानव बेचबिखन र सँगसँगै लैङ्गिक हिंसाका घटनाहरु, त्यसमा पनि विगतमा बढीजसो महिलाहरुमाथि हुने हिंसाका घटनाहरु उनले सानैदेखि गाउँघरमा सुन्ने र देख्ने गरेका थिए। थुप्रै नेपाली चेलिबेटीहरु भारतको मुब्बई र दिल्लीका कोठीहरुमा बेचिन पुगेका घटनाहरु सुन्दा, पढ्दा त्यसविरुद्ध काम गर्न मन लागेको उनी बताउँछन्। आफन्त नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्टराईसँग लोकपाटीका डेस्क प्रमूख मधुरीमा पाण्डेयले गरेको कुराकानी–सम्पादक।

आफन्त नेपाल कस्तो संस्था हो ? यसको बारेमा बताइदिनुस् न ?

के.आई.एन नेपाल, जसलाई हामी नेपालीमा आफन्त नेपालका नामले चिन्ने गर्छौं, यो संस्था विशुद्ध एउटा सामाजिक संस्था हो। यसको एक मात्र उद्देश्य मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्य गर्नु तथा बेचबिखन र हिंसामुक्त समाजको निमार्ण गर्नु हो। यो संस्था शुरुवातदेखि नै मानव बेचबिखन विरुद्ध निरन्तर काम गरिरहेको छ।

समुदायदेखि समुदायसम्म एउटा महिला अथवा किशोरी विशेषगरि महिला र किशोरीको विषयमा अलिकति बढी राख्न चाहन्छु। के.आई.एन नेपालले आफ्नो स्थापनादखि नै बेचबिखन प्रभावित र लैङ्गिक हिंसा प्रभावितको पक्षमा काम गर्दै गर्दाखेरी पनि पुनस्र्थापना गर्ने र उनीहरुको जीवनमा परिवर्तन ल्याई समाजमा पुनस्र्थापित गराउने कामहरु गर्दैगर्दा पुनस्र्थापना केन्द्रचाहिँ महिला र बालिकाहरुको लागि मात्र सञ्चालन गरेको हुनाले हामी त्यो काममा क्रियाशील भएका छौं।

मानव बेचविखनको आयाम पनि फेरिँदै गएको छ। विगतमा भारतमा मात्र हुने बेचबिखन अहिले संसारका विभिन्न मुलुकहरुसम्म फैलिन पुगेको छ। भारतको बाटो हुँदै अफ्रिका र कतिपय युरोपियन देशहरुमा समेत नेपाली महिलाहरुको बेचबिखन हुने गरेको र कतिपय नेपाली पुरुषहरु पनि विभिन्न बहानामा बेचबिखनमा पर्ने गरेको पाइन्छ।
हाम्रो संस्थाले विगत दुई वर्षदेखि भारतको नयाँदिल्लीमा नै सम्पर्क कार्यालय स्थापित गरेका छौं। सम्पर्क कार्यालयमार्फत् कोठीमै बेचबिखनमा परेका महिला वा बैदेशिक रोजगारीको नाममा भारतका विभिन्न ठाउँहरुमा लगेर बेवारिसे तथा बन्धक बनाइएका थुप्रै दिदीबहिनीहरुलाई त्यहाँबाट उद्धार गर्ने। उद्धार गरिसकेपछि उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर नेपाल फिर्ता त्याउने र ईच्छाअनुसार सीपमूलक तालिम दिएर व्यवसायिक बनाउने काममा संस्था लागिरहेको छ। विगत एक वर्षदेखि आफन्त नेपाल नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समितिको सदस्य पनि छ।

आफन्त नेपालका प्रमूख उपलब्धि कस्ता छन्, संक्षिप्तमा बताइदिनुस् न।

हामी समुदायदेखि समुदायसम्म काम गर्छौं। महिला र किशोरीको समुदायबाटै बेचबिखनको प्रक्रिया शुरु हुन्छ। कसैको लोभ लालचमा अथवा फकाइफुलाइमा परेर उनी बेचिन बाध्य हुन्छिन्। र, त्यस्ता महिला र किशोरीहरुको नेपालभित्र र नेपाल बाहिर पनि हामी उनको उद्धार गछौं। उद्धार गरिसकेपछि हामी नेपालबाहिर भए नेपाल फिर्ता ल्याउँछौं, नेपालभित्रै भएमा परिवारसँग सम्पर्कमा पुगेर परिवारलाई पनि हामीले परामर्श गर्छौं। चितवनको भरतपुरमा हाम्रो सुरक्षित आवास गृह छ, आवश्यकता हेरी हामी हामी पुनर्स्थापित गर्छौं।

पुनर्स्थापनापछि मनोसामाजिक विमर्श उपलब्ध गराउँछौं र स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ। स्कुल जाने उमेरका छोरीहरुका निम्ति स्कुलको व्यवस्था गछौं र १८ वर्षभन्दामाथि उमेर पुगेका दिदीबहिनीहरुका निम्ति हामी चाहिँ व्यवसायिक तथा सीपमूलक तालिमहरु दिन्छौं। तालिमपछि उहाँहरु जब व्यवसाय गर्न सक्षम बन्नुहुन्छ, उहाँहरुलाई सम्भव भएसम्म उहाँहरुकै समुदायमा पुनस्र्थापित गराउँछौं, समुदायमा पुनएकीकरण गराउँछौं। साथै समुदायमा पुगेर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सामाजिक संस्थासँग मिलेर आयआर्जनका लागि सीपमूलक तालिम दिने गर्दछौं।

अहिले हामीले ९ वटा स्थानीय तहहरुसँग मिलेर काम गरिरहेका छौं, ती स्थानीय तहहरु नेपाल सरकारका विभिन्न निकायबाट मानव बेचबिखन र लैङ्गिक हिंसाको जोखिममा रहेका ठाउँहरु हुन्। ती क्षेत्रहरुमा हामीसँग किशोरी र महिला समूहहरु छन्। ती समूहलाई एकीकृत गर्दै हरेक समुदायमा महिला मात्र सदस्य बन्ने र महिलाहरुले नै सञ्चालन गर्ने सहकारीहरुको निर्माण गर्नेगरी काम गरिएको छ। सहकारीमार्फत् आयआर्जनका कामहरु पनि अघि बढेका छन्। केही समुदायहरुमा महिला लक्षित विकास निर्माणका कामहरु पनि हामीले गरिरहेका छौं।

कतिपय ठाउँमा खानेपानीको अभावले गर्दा महिलाहरु विभिन्न हिंसामा परेका हुन्छन। कतिपय ठाउँमा आयआर्जनको कमीले गर्दा महिलाहरु हिंसामा परेका घटनाहरु छन्। आर्थिक रुपले कमजोर हुँदा आफ्नै परिवारमा पनि महिलाहरु हिंसामा पर्ने घटनाहरु जुन छन्, त्यसको निराकरणका निम्ति हामीले विभिन्न किसिमका तालिमहरु दिएका छौं, अहिले हामीले बेमौसमी तरकारी खेती, बाख्रापालन, कुखुरापालन, विभिन्न खालका गलैंचा बुन्ने तालीम, च्याउ खेती लगायतका तालिमहरु दिएर आफैं आर्थिक उपार्जन गर्नसक्ने र सँगै हिंसामा परेकाहरुलाई सहयोग गर्ने गरिरहेका छन्।

मानव बेचविखन र लैङ्गिक हिंसा भनेको के हो ?

मानव बेचविखन मूख्यतः कुनै पनि मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने विशेष गरी मान्छेलाई पैसाको लेनदेन गरेर किनबेच गर्ने कामलाई मानव बेचबिखन भनिन्छ। यसका विभिन्न कारण अथवा प्रयोजनहरु हुन सक्छन्, जस्तैः यौन व्यवसायको लागि हुने मानव बेचबिखन छ, त्यसपछि गएर बधुवा मजदुर बनाउने, मानव अंगहरु बेच्ने किसिमको बेचबिखन छ। त्यसैगरि वैदेशिक रोजगारीको नाममा एक ठाउँबाट अर्को ठाउँमा लैजाने, उनीहरुमाथि मानसिक र शारीरिक हिंसा गर्ने, व्यक्तिगत स्वतन्त्रतामा बाँच्न नदिने खालको अवस्था सिर्जना गर्ने हिंसा पर्दछन्।

नाबालकको हकमा चाहिँ १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जवरजस्ती कुनै पनि काममा लगाउने कुरालाई पनि मानव बेचबिखन भन्ने गरिन्छ। लैङ्गिक हिंसा भन्नेबित्तिकै कुनै पनि लिङ्ग पुरुष अथवा महिला तथा अन्य लिङ्गका मानिसहरुमाथि हुने हिंसा हो। हाम्रो समाजमा हिंसा बढिजसो महिलाहरुमाथि नै हुने गर्दछ।

तपाईलाई मानव बेचबिखन र लैङ्गिक हिंसाको विरुद्धमा काम गर्ने सोंच कसरी आयो ?

म गोर्खामा जन्मिएँ। त्यतिधेरै दुर्गम नभए पनि विभिन्न खालका कूप्रथा हामीले सानैदेखि सुन्ने र देख्ने गथ्र्यौं। एकल र गरीब महिलामाथि बोक्सीको आरोप लगाउने समाजमा अलिकति अपहेलित बनाउने खालका कामहरु देख्दा सानैदेखि त्यसप्रति वितृष्णा जागेर आयो। हाम्रा दिदीबहिनीहरु दिल्ली र मुम्बईका कोठीमा बेचिन्छन् भन्ने कुराले मनमा त्यस्ता व्यक्तिलाई सहयोग गर्ने भावना जागेर आउँथ्यो र हिंसामुक्त समाजका लागि काम गर्ने प्रेरणा मिल्थ्यो।

म स्कूले जीवनपछि सामाजिक विषयको अध्ययनमा लागें। पढ्दै जाने क्रममा समाजप्रति सकारात्मक सोचको विकास भयो। समाजका लागि केही गर्न पाए हुन्थ्यो भन्ने भावना जाग्यो। मेरा आफन्त र शुभेच्छुक पनि सामाजिक काममा अग्रसर थिए। त्यसबाट पनि मलाई प्रेरणा मिल्यो।

यस क्षेत्रमा काम गर्दाको अनुभव कस्तो छ, मानव बेचबिखनका प्रमूख कारण के रहेछन् ?

यो क्षेत्रमा धेरै नै अनुभव बटुलेको छु। चाहे नेपालभित्र हुने मानव बेचबिखन अथवा हिंसाका घटना हुन्, अथवा नेपाल बाहिरका, मैले सबै किसिमका घटनाहरुलाई मैले नियाल्न पाएको छु। घरबाटै सुरु हुने हिंसा र त्यो हिंसाका कारण हुने बेचबिखन सँगसँगै नेपालका विभिन्न सहरहरुमा मनोरञ्जन क्षेत्रका नाममा हुने गरेको मानव बेचबिखन अत्यन्तै भयावह छ। काठमाडौं, पोखरा, बुटवल, चितवन लगायतका जति पनि ठूला–ठूला शहर छन्, ती सहरमा गेष्ट हाउस सञ्चालन गर्ने नाममा, डान्स बार तथा रेस्टुरेन्ट सञ्चालन गर्ने नाममा अथवा अन्य मनोरञ्जनका क्षेत्रको नाममा विशेष गरी भर्खरका युवतीहरुलाई यौन व्यवसायमा लगाउने र सँगसँगै बालबालिकालाई जबर्जस्ती विभिन्न काममा लगाउने जस्ता कुराहरु हामीले सुन्दै र देख्ने गरेका छौं।

Indraraj Bhattarai-2

नेपाल सरकारकै प्रतिनिधिहरुसित काठमाडौंका थुप्रै डान्स बारहरु, क्याबिन रेस्टुरेन्टहरुमा गएर अनुगमन पनि गरेका छौं। र त्यहाँ जाँदा भर्खर १५/१६ वर्षका छोरीहरु यो क्षेत्रमा लागिरहेको र बिस्तारै तिनीहरु कुलतमा फसेको र उनीहरुको पछिल्लो गन्तव्य विदेश बन्ने र विदेशी दलालहरुको चंगुलमा पर्ने र बेचिनेजस्ता घटनाहरु पनि मैले सुनेको देखेको छु। अस्ति भर्खरको कुरा यहाँहरुलाई पनि थाहा होला, केन्यामा १२ जना नेपाली महिलाहरु एउटा डान्स बारमा समातिएको घटना, जसले गर्दा नेपाली चेलीहरु विदेश जाने ईच्छाले आन्तरिक बेचबिखनबाट विदेशी दलालसम्म पुग्ने गरेको देखिन्छ।

अर्को मैले अनुभव गरेको कुरा, दिल्ली र मुम्वईका कतिपय कोठीहरुमा आफैंले प्रत्यक्ष रुपमा अवलोकन गर्ने मौका पाएको छु। थुप्रै नेपाली दिदीबहिनीलाई मैले त्यहाँ भेटेको छु। उहाँहरु त्यस्तै विशेष परिस्थितिको कारण, कसैको ललाइफकाइमा परेर वा विभिन्न कारणले गर्दा त्यहाँ पुगिसकेपछि फर्कन सक्नुभएको छैन। त्यसकारण आफ्नो जीवन त्यहीं व्यतित गर्नुपर्ने परिस्थितिमा पुग्नुभएको छ। त्यस्ता ठाउँमा पुगेका महिलाहरुको उद्धार गर्ने अनुभव पनि हासिल गरेको छु।

गत वर्ष मात्रै हामीले दिल्लीबाट १६ जना दिदीबहिनीको उद्धार गर्ने क्रममा संलग्न भएको अनुभव पनि मसँग छ। त्यति मात्र नभएर विदेशमा मानव बेचबिखनलाई कसरी हेर्ने गरिन्छ, पीडितलाई न्याय कसरी दिन सकिन्छ, त्यसका मेकानिज्महरु के हुन्छन् भन्ने विषयमा पनि मैले अध्ययन अनुसन्धान गर्ने मौका पाएको छु। र, अर्को कुरा चाहिँ यस्ता संस्थाहरुले यो क्षेत्रमा कसरी काम गरिरहेका छन् भन्ने बारेमा पनि एक किसिमको अनुभव बटुलेको छु।

नेपाली समाजमा मानव बेचबिखन हुनुको मूख्य कारण गरीबी र अशिक्षा हो। यति मात्र कारणले बेचबिखन हुने त होइन, त्यसको सामाजिक अवस्था पनि हेर्नुपर्छ। अहिलेको मुख्य कारण भनेको हाम्रा छोराछोरीहरुले किशोरावस्थामा कस्तो संस्कार पाएका छन्, कुन संस्कारमा उनीहरु हुर्किए पाएका छन्, घरपरिवारको अवस्था कस्तो छ ? भन्नेमा भर पर्छ।

अहिले पनि त्यसरी बेचिनेमा सबैभन्दा बढी संख्या २० वर्षमुनिका किशोरीहरुको छ। बालबालिकाको संख्या बढी छ। त्यस्लाई अध्ययन गर्दा के देखिन्छ भने धेरैजसो बालबालिका वा किशोरीहरु ब्रोकन फ्याम्लीको रहेको पाइन्छ। पारिवारिक मेलमिलाप नभएको, आमा बाबुको राम्रो माया नपाएको त्यस्ता परिवारका किशोरीहरु। बढीजसो यस्ता हिंसा र बेचबिखनमा परेको हामीले देखेका छौं। अहिले देखासिकीको जीवनशैली जिउने मानसिकता पनि छ। यस्तो मानसिकता र बेरोजगारी पनि यसका कारण हुन्।

यो क्षेत्रमा काम गर्दाका के–कस्ता चुनौतीको सामना गर्नुपर्छ ?

यो अत्यन्तै जटिल काम हो। हामीले यस क्षेत्रमा काम गर्ने क्रममा थुप्रै चुनौतीहरुको सामना गरेका छौं। हामी देशका विभिन्न सीमा नाकाहरु, पूर्वको झापाको काँकडभित्तादेखि कञ्चनपुरको महेन्द्रनगरमा काम गर्छौं। प्रदेशका हिसाबले कर्णली बाहेक छ वटै प्रदेशमा काम गरिरहेका छौं।

चुनौतीको कुरा गर्दा हामीले बेलाबेला यस क्षेत्रमा काम गर्दा मानव तस्करहरु वा दलालहरुसँगको चुनौती बेहोर्नुपर्ने हुन्छ। कतिपय सवालमा हाम्रा साथीहरुले विभिन्न किसिमका धम्कीहरु भोग्नुपरेको छ। अर्को चुनौती, अनुसन्धान र अभियोजन प्रक्रिया जुन छ, विशेषगरि एउटा पीडित प्रभावितले न्याय कसरी पाउँछ भन्ने कुरा चाहिँ हाम्रो मुख्य चुनौती हुन्छ। यही वर्ष माात्र हाम्रो संस्थाको पहलमा मानव बेचविखन, जबर्जस्ती करणी, हिंसा लगायतका ३२ वटा मुद्दाहरु दर्ता गराउन सफल भएका छौं। हामीसँग यस्ता केही घटना पनि छन्, जुन घटनाहरुका भारतका कोठीहरुमा वर्षौंसम्म बेचिएका र उद्धार गरेर ल्याइएको चेलीहरुले चाहिँ मद्दा हार्नुपरेको अवस्था पनि छ। त्यो पनि एउटा ठूलो चुनौती हो।

भारतबाट गत वर्ष मात्र हामीले १०४ जना महिलाहरुलाई उद्धार गरेर ल्याएका छौं। त्यसरी उद्धार गरेर ल्याइएकालाई हामीले विभिन्न सीप पनि सिकाउने गरेका छौं। तर, कतिपय दिदीबहिनीहरु त्यसमा अनिच्छुक देखिनु भएको छ, उहाँहरुमा छिटोभन्दा छिटो पैसा कमाउने मानसिकताले प्रलोभनमा परेर फस्नुभएका चुनौती पनि हामीले बेहोरेका छौं। र, अर्को चुनौती भनेको नेपाल भारतको खुला सीमाना पनि हो। खुला सीमानाकै कारण मानव बेचबिखन अन्त्यको जुन परिकल्पना गरेका छौं, त्यो परिकल्पनालाई छिटै पूरा गर्न सकिने स्थिति छैन।

मानव बेचविखन तथा लैङ्गिक हिंसामा पहिले र अहिलेमा के अन्तर छ ?

पहिला चेलीबेटी बेचबिखन भनिन्थ्यो, अहिले त्यसैलाई मानव बेचबिखन भन्न थालिएको छ। पहिला काठमाडौं वरिपरिका जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर लगायतका ठाउँबाट विशेष समुदायका दिदीबहिनी मात्र बेचबिखनमा पर्छन् भन्ने दृष्टिकोण थियो, त्यो अहिले परिवर्तन भएर नेपालका ७७ जिल्लाकै दिदीबहिनीहरु बेचबिखनमा पर्छन् भन्ने भएको छ। त्यस्तै पहिला दिल्ली र मुम्बईका कोठीहरुका बेचिन्थे, अहिले संसारका कुनै पनि मुलूकमा बेचिन्छन्। पहिले देह व्यापारका लागि मात्र बेचबिखन हुन्छ भन्ने थियो। तर, अहिले विभिन्न प्रयोजनका लागि बेचबिखन हुन थालेको छ।

अहिले बेचबिखनबाट प्रभावितबाट हुने मुद्दाको संख्या बढेको स्थिति छ। वर्षेनी दशौं हजार बेचबिखनमा पर्छन्। अहिले पनि हामीले हेर्‍यौं भने वार्षिक ३ सयको हाराहारीमा मुद्दा दर्ता हुने गरेको छ। यसको अर्थसमस्या बढेको हो वा अहिलेको सचेतनाले मान्छेहरु बाहिर आएर आफ्नो समस्या राख्न सकेका हुन्। यो कुरा पनि हामीले विचार गर्नुपर्ने हुन्छ। अहिले विभिन्न सञ्चार माध्यम तथा यस्ता संस्थाहरुको पहलमा धेरै घटनाहरु बाहिर आएर पनि बेचबिखन बढेको हामीलाई महशुस हुन सक्छ।

नेपाल सरकार, हामीजस्ता संस्थाहरु, नेपाल प्रहरी सबैको सहकार्यले गर्दा धेरै घटनाहरु प्रकाशमा आएका छन्। त्यसले बेचबिखन बढेजस्तो देखिएको होला। तर, यथार्थमा चाहिँ घटिरहेको छ। मैले गत वर्ष भारतको एउटा कोठीमा अवलोकन गर्ने क्रममा त्यहाँ रहेको नेपाली दिदीबहिनीका अनुसार त्यहाँ प्रवेश गर्ने नयाँ नेपाली दिदीबहिनीको संख्या चाहिँ निकै घटेको पाइन्छ।

एकातिर बेचबिखन तथा हिंसामा परेकाहरु आफैं पनि खुल्न चाहँदैनन्, अर्कोतिर समाजले पनि सहजै स्वीकारेका पाइँदैन। सम्मानित रुपले बाँच्न पाउने अधिकारको कुरा गरिरहँदा उनीहरुले सामान्य मानिससरह सम्मानित जीवन बिताउन पाएका छन् त ?

यो एकदमै गम्भीर विषय हो। हामीले सकेसम्म कोशिस चाहिँ गरेका छौं। कतिपय सवालमा समाजमा पुनस्र्थापना गराइएका दिदीबहिनीहरु सक्षम पनि बनेका छन्, कतिपय सवालमा सामाजिक सोचाइले गर्दा म अन्यायमा परेको भनेर समाजमा अथवा परिवारमै पनि व्यक्त गर्न नसक्ने अवस्थामा छन्। बेचबिखनमा पर्नु उसको कुनै दोष होइन। र, सबै बेचबिखनमा परेकाहरु यौन व्यवसायमा संलग्न भएका होइनन् भन्ने बुझ्नुपर्छ । यदि भएकै रहेछन् भने पनि त्यो एउटा बाध्यता वा परिवेशले त्यहाँ पुगेको व्यक्तिले फेरि नयाँ जीवन पाउन सक्नुपर्छ भन्ने हिसाबले हामीले समाजलाई सचेत गराउँदै अगाडि बढ्नु जरुरी छ। त्यसका निम्ति नेपाल सरकार, हामीजस्ता संघसंस्थाहरु, पढेलेखेका बुद्धिजीवीहरु, समाजका हरेक पक्ष र वर्ग त्यो अभियानमा लाग्न जरुरी छ।

अर्को कुरा त्यस्तै हिंसामा परेका कतिपय दिदीबहिनीहरुले चाहिँ उद्धारपश्चात आफू सक्षम भएर यस्तै क्षेत्रमा काम गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई उभ्याउन सकेका उदाहरणहरु पनि हामीसँग प्रशस्तै छन्। यसर्थ हामी सबै मिल्यो भने त्यस्ता अन्यायमा परेका पीडितलाई न्याय दिन र सम्मानपूर्वक समाजमा बाँच्न पाउने वातावरण बनाउन सक्छौं।

बेचबिखन र हिंसाविरुद्ध नागरिकहरु कत्तिको सचेत देख्नुहुन्छ, तपाईहरुको भूमिकाको सामाजिक प्रभाव कस्तो छ ?

हरेक घरमा मानव बेचबिखन र हिंसाका विरुद्धको अभियान सञ्चालन हुन जरुरी छ। हाम्रो संस्थाले अहिले नेपालभित्र १२ ठाउँमा हाम्रा शाखा कार्यालयमार्फत काम गरिरहेको छ। त,र उद्धार, पुनस्र्थापित गरिएका दिदीबहिनीलाई हेर्ने हो भने उहाँहरु धेरै जिल्लाका हुनुहुन्छ। हाम्रो कामको क्षेत्र नेपालको पूर्वदेखि पश्चिम छ। भारतको दिल्ली र पश्चिम बंगालको सिलिगुढीमा पनि हाम्रा सम्पर्क कार्यालयहरु राखेर पनि उद्धारका कामहरु गरिरहेका छौं। र हरेक व्यक्तिलाई यसप्रति सचेत गराउनका लागि हामीले विभिन्न छलफल अन्तरक्रिया, विचार विमर्श गर्ने गरेका छौं। विभिन्न

जानकारीमूलक प्रकाशनहरु गर्ने गरेका छौं र ती प्रकाशन सामग्रीलाई लिएर समुदायमा जाने गरेका छौं।
अहिले हामीले स्थानीय तह अनुसार उच्च जोखिममा रहेका महिलाहरु भएको समुदायका बीचमा त्यस्ता कार्यक्रमहरु लिएर जाने गर्छौं। त्यस्तै विभिन्न रेडियो जिंगल तथा कार्यक्रमहरु प्रसारण गर्ने गरेका छौं । त्यस्तै विभिन्न रुटमा चल्ने सवारीहरुमा सचेतनामूलक पोस्टरहरु राखेर सचेतना दिने काम पनि गरिरहेका छौं। र, सँगसँगै नेपाल सरकारको राष्ट्रिय समितिमा हुनुका नाताले समसामयिक परिस्थितिमा हाम्रा ऐन तथा नियमावलीहरु कति अपुग छन्, त्यसलाई आवश्यक परेमा संशोधन गरेर अगाडि बढ्नेतर्फ लागेका छौं।

यसरी हामीले नियमित रुपमा स्कुल सचेतना कार्यक्रम गर्ने विभिन्न दिवस तथा समारोह, लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान, महिला दिवस लगायतका सन्दर्भ पारेर र अन्य समयमा पनि सीमा नाका क्षेत्रमा विभिन्न अन्तरक्रियात्मक तथा सचेतनामूलक कार्यक्रम गरिरहेका छौं। हाम्रो अभियानमा ५ हजारभन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा जोडिएर हामीलाई साथ दिइरहनुभएको अवस्था छ।

कुनै पनि व्यक्तिले ममाथि हिंसा भएको छ भनेर कसरी थाहा पाउन सक्छ, त्यसका कसरी आवाज उठाउन सक्छ ?

अब कतिपय सवालमा मान्छेहरुले यसलाई नबुझ्दा गलत अर्थमा हिंसा प्रयोग भएको पनि पाइन्छ। हिंसा कसरी भएको थाहा पाउनुपूर्व हिंसा के हो भन्ने जान्न जरुरी छ। कुनै पनि एउटा व्यक्तिमाथि हुने हिंसा शारीरिक, मानसिक, मनोवैज्ञानिक हुनसक्छ। विशेष गरी सार्वजनिक जीवनयापनमा हामीले जुन किसिमका अमानवीय व्यवहारहरु देख्ने वा भोग्ने गर्छौं, त्यस्लाई हिंसा भनेर बुझ्नुपर्छ जस्तो लाग्छ।

पितृसत्तात्मक समाजमा त्यस्ता हिंसाबाट बढीजसो महिलाहरु शिकार हुनु परेको छ। चाहे त्यो सार्वजनिक यातायात वा कार्यस्थल जहाँसुकै होस्, कुनै पनि ठाउँमा यस्ता घटनाहरु हुने गरेका छन्। त्यस्ता घटना हुने बित्तिकै व्यक्तिले आफैं सचेत भएर त्यसका विरुद्ध आवाज उठाउन सक्नुपर्छ, प्रतिकार गर्छ। हामीले म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र म हिंसाको प्रतिकार गर्छु भन्ने एउटा अभियान नै चलाएको छौं। यी तीन वटा कुरालाई मनन गरेर दिमागमा राखेर हामी अगाडि बढ्न सक्यौं भने हामी आफू हिंसामा पनि पर्दैनौं र हिंसामा परेका व्यक्तिहरुलाई पनि जोगाउन सक्छौं।

मानव बेचबिखन र हिंसामुक्त समाजको निर्माणमा एउटा शिक्षित नागरिकको भूमिका कस्तो हुनुपर्छ ?

समाजमा हरेक व्यक्ति, परिवार, समुदाय यस विषयमा चिन्तनशील र इमान्दार बन्यौं भने हामी हिंसामुक्त समाज निर्माण गर्न सक्छौं। संघ–संस्थाहरुले सचेतनामूलक कार्यक्रम अघि बढाउने, पीडितहरुलाई सहयोग गर्नेजस्ता आफ्नो दायित्व पूरा गर्ने, त्यस्तै अनुसन्धानमा खटिने व्यक्तिले अनुसन्धानलाई निष्पक्ष ढंगले अनुसन्धान गर्ने जस्ता कामहरु गर्न सक्यौं रबालकलाई सानैदेखि यसप्रति सचेत गराउन सक्यौं भने हिंसामुक्त समाज निर्माण गर्न सक्छौं। हिंसामुक्त समाज निर्माणमा शिक्षित व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ। शिक्षित व्यक्तिले अशिक्षित वर्गलाई पनि सचेत गराउने काम गरेमा हिंसामुक्त समाज निर्माणमा सहयोग पुग्छ।

अन्त्यमा, हाम्रो मीडियाका माध्यमबाट के सन्देश दिन चाहनुहुन्छ ?

वास्तवमा लोकपाटी मीडिया अनलाइन मीडियामा निकै अगाडि बढ्दै गरेको लोकप्रिय मीडिया हो। यसमार्फत् म के भन्न चाहन्छु भने सबै व्यक्ति वा हरेक नागरिकले यो विषयमा सोच्न जरुरी छ। विभिन्न किसिमका हिंसा र बेचबिखनका घटनाबाट जोगाउनका निम्ति सबैको समान दायित्व हुन आउँछ। यसर्थ हामी आफैं यसप्रति सचेत हुनुपर्छ, आफूले जानेको कुरा अरुलाई सिकाउने गर्नुपर्छ। र, हामी कोही पनि कुनै पनि बेला यस्ता घटनामा पर्न सक्छौं भन्दै म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र म हिंसाको प्रतिकार गर्छु भन्ने मूलमन्त्रलाई आत्मसाथ गरेर सबैले नेपाललाई मानव बेचबिखन र हिंसामुक्त मुलूक बनाउनका लागि अग्रसर बनौं भन्ने सन्देश दिन चाहन्छु।

Spread the love
  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares
You might also like
Comments
Loading...