अस्थायी शिक्षा घर फर्कनैपर्छ, आन्दोलनले केही हुँदैन : मन्त्री पोखरेल

girirajmani_pokhrel
लाेकपाटी न्यूज

सिमरा। शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अस्थायी शिक्षक अब घर फर्किनुको विकल्प नरहेको बताएका छन्। उनले अब फेरि दोस्रो परीक्षाको सम्भावना नरहेकाले उतीर्णसमेत हुन नसकेका शिक्षकहरुलाई सम्मानपूर्वक घर फर्काउने वातावरण बनाइने बताए।

बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै पोखरेलले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि परीक्षा प्रणालीद्वारा कम्तिमा ४० अंक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको बताए।

२०४९ सालदेखि अस्थायीरुपमा सेवामा रहेका शिक्षकहरुलाई स्थायी ब्यवस्थापनका लागि अघिल्लो वर्ष लिइएको परीक्षामा उतीर्ण हुनेहरुको धमाधम नियुक्ति प्रक्रिया अघि बढे पनि अनुतीर्णहरुलाई अर्को कुनै ब्यवस्था गर्न नसकिने उनले बताए।

अनुतीर्ण शिक्षकलाई सम्मानपूर्वक बिदाइका लागि ‘गोल्डेन हेन्डस चेक’ दिइने भनिए पनि समस्या रहेको उनको भनाइ छ। शिक्षकको अनुतीर्णको संख्या सोचेभन्दा बढी भएकाले सो रकम दिनसमेत नसकिएको उनको तर्क छ।

बिदाइका लागि ५ अर्व रकम छुट्याइएकोमा ९ अर्ब लाग्ने भएपछि सरकारले अनुतीर्ण भएका सबै शिक्षकलाई ‘गोल्डेन हेन्डस चेक’सहितको बिदाइ गर्नसमेत समस्या भइरहको मन्त्री पोखरेलले बताए।

यद्यपि, अर्थ मन्त्रालयमा छलफल चलिरहेकोले थप रकम ब्यवस्थापन गरेर भए पनि बिदाइ गर्ने तयारी भइरहेको उनको तर्क छ। ‘मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ, उहाँहरु घर फर्किनैपर्छ’ पोखरेलले भने।

यस्तै राहत शिक्षकहरुको समस्यामा भने आफू गम्भीर रहेको भन्दै उनीहरुलाई परीक्षामा सहभागी गराउँदा उमेर हद भने नतोकिने उनको भनाइ छ। उनीहरुलाई कसरी स्थायित्वको प्रक्रियामा लग्न सकिन्छ भन्नेबारे छलफल र बहस भइरहेको बताउँदै उनले राहत शिक्षकले शिक्षा क्षेत्रमा सकारात्मक योगदान दिएको बताए।