झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी विभागको वाटर एम्बुलेन्स सेवा

water ambulance 4.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । दूषित खानेपानीका कारण झाडापखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ ।

झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक जाँच गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ ।

स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ ।

केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताइएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ । ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाइ छ ।

पानीका कारण रोगव्याधी फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाइने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्