Spread the love
  • 86K
  •  
  •  
  •  
  •  
    86K
    Shares

तलव भीख होइन, बौद्धिक श्रमको मूल्य हो (तलव बढाउनैपर्ने १६ कारण)

0

काठमाडौं, वैशाख। सरकारले नयाँ बजेटको तयारी थालिरहेको अवस्थामा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्ययले कर्मचारीको तलब बढाउनुपर्ने मतसहित १६ तर्क प्रस्तुत गरेका छन्।

उनले लेखेका छन्, ‘त्यत्रो समय र लगानी खर्च गरेर देश विदेशमा वर्षौं लगाएर घुँडा धसेर १६/१६ वर्ष पढेर, तालिम लिएर, गाउँगाउँ कुना कन्दरामा बसेर, घर परिवार त्यागेर, अध्ययन सकिएपछि लोकसेवा लड्दै पास गरेर सुरु गरेको सरकारी जागिरमा के छन् त सुबिधाहरु ?’

बस्नलाई राम्रो डेरा छैन। बालबच्चा पढाउन राम्रो स्कूल छैन। खेल्ने मनोरञ्जन गर्ने कुनै साधन छैन। कुनै पुस्तकालय छैन, पत्रिका छैन। टेलिफोन इन्टरनेट, टिभी छैन। मोटरचल्ने सडक छै। न गाडी छ, न अस्पताल डाक्टर छ। इमर्जेन्सी परेर रोगले च्याप्यो भने राम भरोसे हुनुपर्छ। कर्मचारीले पनि यस्तैयस्तै समस्या भोगेका छन्।

मैले इन्जिनियरको जागिर ०४३ सालमा सुरू गर्दा एक हजार तीनसय रुपैंया मेरो तलब थियो त्यतिबेला, करिव यो एकसय डलर बराबर हुन्थ्यो त्यो पैसाले आधा तोला सुन आउँथ्यो। झण्डै तीस वर्षपछि विशिष्ट श्रेणीको सचिव भएर जागिर छोड्दा रू ५१ हजार तलब बुझें, यो ५०० डलर बराबर र १२ आना सुन किन्नसम्म पुग्छ। जागिर सुरू गर्दा एक्लो थिए, जागिरको अन्तिमतिर हुर्केका परिवार चार जनाको भयो।

नेपालको विकट भूगोल र असुविधामा न्युन तलबको सरकारी जागिर खानु दुस्साहससरह नै लाग्छ। मलाई अहिले सम्झदा, जाजरकोट, डोटी, बैतडी, गुल्मी त्यो बेलाको, तर अचम्म लाग्छ, म कसरी टिकेछु जागिरमा, यही मुलुकमा, आजसम्म पनि कसरी टिक्न सकें ? फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ घरिघरी। अलिकति नयाँ पुस्ताको नजरबाट नेपाल सरकारको तलवलाई हेर्ने हो भने नयाँ पुस्ताले गर्ने साधारण पकेट खर्चजस्तो देखिन्छ यहॉको सरकारी तलव।

मेरा दौंतरी ब्रिलियन्ट साथीहरू अधिकांश विदेश पलायन भए, मलाई पनि उकास्थे विदेश आउन तर के भयो के, गइएन। यही लडन्त भीडन्त गरियो। के गरियो, गर्न सकियो वा सकिएन वा गरिएन, अहिले मतलब पनि छैन। सन्तुष्ट नै छु आजका दिनमा। मेरो नजरमा जे कुरा राष्ट्रसेवा थियो त्यो मैले गरें। देश सेवालाई पारिश्रमिकसँग तुलना गरिएन अथवा थोरै पारिश्रमिकमा पनि कर्तव्यबोधको कारणले गर्दा चित्त बुझाइयो अथवा यस्तै केही भयो।

तर दुख लाग्छ, आफ्नै बालबच्चा नेपाल बस्न योग्य हुन छाडेको छ, नयाँ पुस्ता सरकारी जागिरमा आकर्षण देख्दैनन्। विदेशमा मनग्यै अवसर देख्छन् किनभने नेपाल बस्नु पेशा होइन, त्याग मानिन्छ। जीवनभरि इमान्दार बनेर अन्तिममा भीखमंगा सरह हुनुपर्छ, न आफ्नो न परिवारको भरणपोषण गर्न सकिन्छ, न अवकाशपछिको जिन्दगीलाई सुरक्षित नै पार्न सकिन्छ। जागिरे भनेको कुनै सामाजिक इज्जत नभएको सन्यासी र जोगीजस्ता निरीह देखिदै गइरहेका छन् नयाँ पुस्ताका नजरमा।

तर अहिलेका पुस्ताको सोच छ, त्याग गर्न नपरेसम्म किन त्याग गर्ने ? के कालागि गर्ने ? भन्ने भनाइ पनि सही नै हो। नयाँ सोचले नयाँ पुस्ताको जीवनस्तर पनि नयाँखाले नै बनाएको । उनीहरु छातीमा ठूलो देशप्रेम बोकेर बिदेशिएका छन्। देशको सम्झना गर्दै स्तरीय कमाई गरेका छन्। केही युवाहरु पछुताएका पनि होलान्, देशभित्रै केही गर्न सकिएन भनेर तर जति पलायन भएका छन्, ती व्यक्तिहरु प्राय सन्तुष्ट छन्।

युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ?

१. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले।

२. नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले।

३. बजारभाउ वार्षिक ६ प्रतशितले बढेको छ भने मुद्रा अवमुल्यन १० प्रतिशत भइरहेको छ।

४. आगामी ५ वर्षमा जीडीपी दुगुना गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष्य छ।

५. बौद्धिक वर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुँदा विदेश पलायन हुने भय रहन्छ।

६. तलब कम हुँदा प्रतिभावान र शहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिँदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ।

७. न्युन तलबले अनियमित आम्दानी गर्न उक्साइरहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाव थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाइरहेको छ।

८. पर्याप्त जीविकोपार्जन गर्ने तलब दिन सक्दा मात्र इमान्दार र सक्षम कर्मचारीले गलत तत्वसँग भिडेर सरकारी संयन्त्रलाई सफा राख्ने ऑट देखाउन सक्ने हुन्छ। अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रिरपोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ। साथै कर्मचारीहरू मन्त्री नेताहरूसँग राष्ट्रहितमा ऑखा जुधाएर काम गर्न सक्नेछन्।

९. पर्याप्त तलब भएमा मुलुकभित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बुढाबुढीहरूको हेरचाह र आफू बुढाबुढी हुँदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउँदा समाजमा खुशी शान्त र सुखी आदर्श महसुस गर्नेछ।

१०. तलवमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबीच करिब ५ देखि १० गुणा हुनुपर्छ। करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो। कर्मचारी हुँ भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलवमानले आत्मसम्मान दिँदैन।

११. तलब भीख होइन, बौद्धिक परिश्रमको मूल्य हो। थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउँछ।

१२. विदेशीको अगाडि नेपालीको बुद्धि नै हुँदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउँछ। शीर उच्च राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ।

१३. जागिर पेशा हो र जुनकुनै पेशाले पनि जीवन परिपूर्ण पार्नसक्ने हुनैपर्छ। बलिदान, त्याग, जीवनभरि पिलन्धरे रूवाई, पद्दलित, टीठलाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाइएन भने राज्य सञ्चालनको केन्द्रविन्दू चालक रहने कर्मचारीबिना मुलुक उँभो लाग्दैन। दूध खान मन हुनेले गाईलाई हरियो घाँस र दानापानी पर्याप्त दिनुपर्छ। नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापेजस्तो हुनेछ।

१४. पुग्ने तलब दिइयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सरकारले सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ। कर्मचारीलाई गलत काम गरेकोमा गालीमात्र गर्ने होइन, सही काम गर्ने पूर्वाधार पनि बनाइदिएकै हुनुपर्छ।

१५. सरकार तलबबारे यसमा केही गर्न असमर्थ छौं, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष्य पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन।

१६. चालकरूपी कर्मचारीलाई भोकभोकै राखेर हाइवेमा तीब्र गतिमा गाडी हाक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिशुलीमा जाक्नुसरह हो, त्यही गर भनेसरह हो।

निजामति सेवा ऐनमा प्रत्येक २ वर्षमा मूल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने लेखिएको हो। तलब आयोगहरूले पनि यसै बमोजिम तलब पुनरावलोकन गर्नुपर्ने सिफारिस गरेका हुन्। तर, सरकारले कहिल्यै ऐन र तलब आयोगहरुका सिफारिस अनुसार तलब वृद्धि गरेको छैन।

नेपालमा कर्मचारीको तलब निर्धारणमा यथेष्ठ बेथिथिहरु छन्। तल्लो र माथिल्लो पदका कर्मचारीहरुको तलबमा खासै फरक छैन। तल्लो तहको कर्मचारी र माथिल्लो तहका बीचमा करिब २.५ देखि ३ गुणा मात्रै तलब स्केल बढी छ। औषतमा मुद्रास्फिति १० प्रतिशतको हाराहारीमा हुने गरेको छ। त्यस हिसाबले हेर्ने हो भने ३ वर्षमा कर्मचारीको तलब ३० प्रतिशतले बढाउनु न्यायसंगत हुन्छ।

भारतमा सचिवको तलब २ लाख ७० हजार भारू छ। कार्यालय सहयोगीका तलब करिब २५ हजार छ। तर नेपालमा सचिवको तलब जम्मा ५१ हजार छ र कार्यालय सहयोगीका १८ हजार रुपैंयाँ छ। यसले त कर्मचारीलाई क्षमता अनुसार पेट पाल्न पुग्ने भत्ता मात्रै भयो। तलब बृद्धि गर्दा तलब आयोगका सिफारिस लागू गर्नुपर्छ। तलबलाई निर्वाह भत्ताका रुपमा होइन, बौद्धिक पारिश्रमिकका रुपमा लिइनुपर्छ।

Spread the love
  • 86K
  •  
  •  
  •  
  •  
    86K
    Shares
You might also like
Comments
Loading...