गाजामा भएको कारबाहीलाई लिएर राष्ट्रसङ्घका महासचिवको इजरायलद्वारा राजीनामा माग

तस्विरः एएनआई
लोकपाटी न्यूज

न्यु योर्क (अमेरिका), (रासस/एएनआई) । हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा माग गरेको छ ।

राष्ट्रसङ्घमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका छन् ।

“बालबालिका, महिला र वृद्ध-वृद्धाहरूको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उनलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजरायली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन”, सामाजिक सञ्जाल एक्समा उनले भने ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजरायलको उक्त भनाइ आएको हो ।

“हमासले गरेको हमला शून्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्त्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ । उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ”, महासभामा महासचिव गुटेरेसले भने, “प्यालेस्टिनी जनताको गुनासोहरूले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्तैन, ती भयानक हमलाले प्यालेस्टिनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्तैन ।”