कांग्रेस रुँदैमा समृद्धि रोकिँदैन : नेता अधिकारी

khagaraj-adhikari
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्नेहरु समृद्धिविरोधी भएको बताएका छन्।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अधिकारीले नीति कार्यक्रम मुलुकको यथार्थबोध गरी समृद्धिको यात्रातर्फ अघि बढाएको र मुलुकको सपना पूरा गर्नेतर्फ उन्मुख रहेको बताए।

‘गरीबी, अशिक्षा र बेरोजगारी समस्या समाधान गर्न सरकार अघि बढेको छ। सबैलाई समान अधिकारको योजना ल्याएको छ। कोही भोकै हुने छैन भन्ने सरकारको योजनाबाट प्रतिपक्षी डराएको हो ?’ अधिकारीले भने। उनले बिपक्षीले केही नपाएर दुनियाँभर स्थापित अभ्यासको बिरोध गर्दै पब्लिक कञ्जम्सनका लागि नीति कार्यक्रमको बिरोध गर्नु उचित नभएको बताए।

उनले भ्रष्टाचार नियन्त्रण र तस्करी नियन्त्रणका लागि बर्तमान सरकारले सही कदम चालेको उल्लेख गर्दै कसको पालामा तस्करी मौलाएको हो भन्ने तथ्य प्रमाणित भइसकेको बताए। ‘३३ किलो सुन यो सरकार आएपछि भएको हो ? यो सरकार आएपछि त सुन काण्ड बाहिर आएको हो। तस्करलाई थुनेको हो, तस्करहरुको भागाभाग भएको हो,’ अधिकारीले भने। उनले सरकारले संघीयता कार्यान्वयन गर्दै मुलुकलाई संविधानले तय गरेको बटोतर्फ अघि बढाएको तथ्य पनि राखे।

‘संघीयतालाई कार्यान्वयन यो सरकारले गरेको छ। सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ। विरोधका लागि विरोध गरेर पब्लिक कञ्जम्सनका लागि मात्रै विरोध गरेर हुन्छ ? पब्लिक कञ्जम्सनका लागि ल्याइएको संशोधन फिर्ता लिऊ, संशोधनको औचित्य छैन,’ अधिकारीको भनाइ थियो।

नेता अधिकारीले संबिधान संशोधनको बिषयमा सरकार लचिलो भएको र औचित्यको आधारमा मात्रै संशोधन गर्ने प्रष्ट पारिसकेको अवस्थामा अनावश्यक रोइलो जरुरी नभएको बताए। ‘सरकारले औचित्यको आधारमा संविधान संशोधन गर्ने भनिसकेको छ, संविधान संशोधनको औचित्य पुष्टि गरेर देखाउनोस, बिखण्डनकारीलाई मुलधारमा ल्याउँदा किन टाउको दुखाई ? के बिखण्डन सधै भइरहोस् भन्ने हो ?’ अधिकारीले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्